Comments Add Comment

वायुसेवा निगमको बोइङ लिलामीमा जाँदै, न्यूनतम मूल्य १७ लाख डलर


७ चैत, काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो ‘९एन एसीए’ कलसाइनको बोइङ ७५७ बिक्रीको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । यो बोइङ झण्डै ९ महिनादेखि ग्राउडेड छ ।

यसको मर्मत खर्च ठूलो भएको निगमले मर्मत नगरी यसलाई पार्किङमा राखेको छ । बोइङ लिलाम गर्ने प्रस्ताव निगमको सञ्चालक समितिले पनि स्वीकृत गरेको छ ।

बोइङको न्युनतम् मूल्य १७ लाख डलरमा तोकिएको निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

निगमले यसैसाता बोइङ लिलामीका लागि टेण्डर आह्वान गर्ने तयारी गरेको छ । केही समयभित्रै निगमसँग रहेका २ वटै बाइङ हटाउन निगमले योजना बनाएको छ । बोइङ हटाए अब एयरबस मात्रै खरिद गर्ने घोषणा निगमले गरिसकेको छ ।

३० वर्षभन्दा बढी समय चलेपछि बोइङलाई निगमले हटाउन लागेको हो । अब वायुसेवा निगमले एयरबसबाट मात्रै सेवा दिने तयारी गरेको छ ।

लिलाम हुने बोइङ अमेरिकासम्म उडाएर नै लैजान सकिने स्थितिमा छन् । पुरानो भएकाले बोइङले निगमको खर्च मात्रै बढाएको भन्दै यसलाई हटाउन लागिएको श्रेष्ठले जानकारी दिए ।

एयरबस भन्दा ठूलो परिमाणमा तेल खपत गर्ने भएकाले पनि यसलाई हटाउन आवश्यक भएको श्रेष्ठले बताए । एयरबसभन्दा दोब्बर तेल खपत गर्ने भएकाले पनि यसलाई हटाउन लागिएको निगमले जनाएको छ ।

‘र्पाटपूर्जा त पाइन्छ । तर, निकै महंगो पर्छन् । पुरानो पनि भइसकेकाले मर्मत खर्च धेरै आयो’ प्रवक्ता श्रेष्ठले भने,’त्यसैकारण बोइङ लिमाली गर्न लागका हौं ।’ एक सय ९० सिट क्षमताको अर्को बोइङले भने अहिले पनि सेवा दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment