Comments Add Comment

संसदमा राष्ट्रवाद र लम्पसारवादको बहसः सत्तारुढ र विपक्षी सांसदबीच आरोप प्रत्यारोप

रावलको प्रश्नः कांग्रेस र पेट्रोल बम हान्नेबीच साँठगाँठ त छैन ?


७ चैत, काठमाडौं । व्यवस्थापिका संसदमा राष्ट्रवादको बहसले प्रवेश पाएको छ । संसदको सोमबारको बैठकमा विशेष समयमा बोल्ने सत्तापक्ष र विपक्षका सांसदबीच यस विषयमा आरोप प्रत्यारोप चलेको हो ।

कांग्रेस सांसद रामहरी खतिवडाले एमालेले आफूमात्रै राष्ट्रवादी भनेर अरु दलको अस्तित्व स्वीकार गर्न नचाहेको आरोप लगाए । उनले एमालेेले मेची-महाकाली अभियानका नाममा अराजकता मच्चाएको आरोप समेत लगाएपछि एमाले सांसद भीम रावलले प्रतिवाद गरे ।

रावलले कांग्रेसलाई गोहीका आँशु चुहाउन छाडेर साँच्चिकै गोही हो भने दारा निकालेर आए हुन्छ भन्ने चुनौती दिए ।

रावलले एउटाले एमालेको अभियानलाई अराजक देख्ने र अर्कोले पेट्रोल बम हान्ने अचम्मको दृष्य देखिएको बताए । उनले भने, ‘कुनै राजनीतिक दलको शान्तिपूर्ण कार्यक्रमलाई अराजकता देख्ने दलको सिद्धान्तमाथि जनताले प्रश्न उठाएका छन् । आफू पनि जनतामा नजाने र जानेलाई अराजक भन्नेहरुको पेट्रोल बम बोकेर शान्तिपूर्ण सभामा आक्रमण गर्नेसँग सम्बन्ध त छैन ?’

सरकार लम्पसारवादबाट मुक्त हुन नसकेको आरोप

रावलले आफू भर्खरै कञ्चनपुरको आनन्दबजार पुगेर शहीद गोविन्द गौतमका परिवारलाई पार्टीको तर्फबाट ५ लाख प्रदान गरेर फर्किएको भन्दै सिमा व्यवस्थापनको कार्ययोजना आवश्यक रहेको बताए ।

उनले नेपाल भारत प्रवुद्ध समूहको बैठक स्थगन तथा कञ्चनपुर घटनामा सरकारको लाचारीले यो सरकार लम्पसारवादबाट मुक्त हुन नसकेको आरोप लगाए ।

रावलको आरोपको सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रका सांसद अमनलाल मोदीले प्रतिवाद गरे । विशेष समयमै बोल्दै मोदीले भने, ‘अहिलेको सरकार लम्पसारवादी हो भने इतिहासमा सन्धी सम्झौता गर्ने शासकहरु पनि लम्पसारवादी हुन् । कुनै पनि थारु मधेसीले सन्धी सम्झौता गरेका छैनन् ।’

मोदीले अहिले तराई मधेस बिनाको राष्ट्रियता र पहाड बिनाको राष्ट्रियताको बहस भइरहेको भन्दै यी दुवै अतिवादबाट मुक्त हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment