Comments Add Comment

रेसेपीः यसरी तयार गरौं स्वादिलो भेज बिरयानी

बिरयानी एक स्वादिष्ट भारतिय परिकार हो । बिरयानी भेज तथा ननभेज दुबैखाले बनाउन सकिन्छ । हामीले घरमै पनि बिरयानी बनाएर खान सक्छौ । हुन त यसका लागि अलि धेरै मरमसला आवश्यक हुन्छ, तर बनाउने विधी भने त्यती जटिल छैन ।

यहाँ दुई जनालाई पुग्ने भेज बिरयानीको रेसेपी दिइएको छ ।

आवश्यक सामग्री

–    ३ कप बासमती चामल (लामो दाना भएको)

–    २ सुकुमेल

–    २ ल्वांग

–    दालचिनीको सानो टुक्रा

–    १ सानो तेजपत्ता

–    नुन स्वाद अनुसार

ग्रेभीको लागि

–    काटेको एउटा सानो आलु

–    एक चौथाई कप फूलगोभी

–    एक चौथाई कप गाजर

–    एक चौथाई कप सिमी

–    एक चौथाई कप हरियो मटरको दाना

–    १ वटा प्याज, लामो काटेको

–    २ वटा हरियो खुर्सानी, बियाँ निकालेको

–    १ चिया चम्चा लसुन र अदुवाको पेस्ट

–    चार, पाँच वटा मरिच

–    आधा चिया चम्चा जिरा

–    आधा चिया चम्चा रातो खुर्सानीको धुलो

–    आधा चम्चा बेसार

–    एक चिया चम्चा जीरा र धनियाको धुलो

–    आधा चम्चा गरम मसला

–    आधा कप दही

–    दुई चम्चा जति धनिया

–    ३ चम्चा तेल

–    नुन स्वाद अनुसार

बिरयानीको दम पकाउनका लागि

–    एक चौथाई कप तारेका प्याज

–    १ ठूलो चम्चा घिउ

–    १ ठूलो चम्चा तातो दुधमा भिजाएको केसर

–    केही पत्ता पदिना

कसरी तयार गर्ने ?

१. सबैभन्दा पहिला चामललाई पानीमा भिजाउनु पर्छ

२. त्यसपछि ग्रेभी तयार गर्ने

३. जब ग्रेभी आधा पाक्छ, तब चामल पकाउन सुरु गर्ने

४. चामल र ग्रेभीलाई एकसाथ कुनै भाँडामा पकाउने

बनाउने विधी

–    सबै सब्जीलाई समान आकारमा काट्ने । प्याज र खुर्सानीलाई लाम्चो अकारमा काट्ने ।

–    एक प्यानमा मध्यम आँचमा तीन ठूलो चम्चा तेल तताउने । त्यसमा प्याज, खोर्सानी, अदुवा लसुनको पेस्ट, मरिच, सुकुमेल र थोरै जिरा हाल्ने । जबसम्म प्याज हल्का सुनौलो रंगको हुँदैन, त्यसबेलासम्म भुट्ने ।

–    त्यसमा आलु, फूलगोभी, गाजर हाल्ने र तीन-चार मिनेट भुट्ने ।

–    त्यसमाथि सिमी, हरियो मटर र नुन हाल्ने । यसलाई राम्ररी चलाएर छोपिदिने । सब्जीलाई धेरै गल्न नदिने । हल्का पकाउने, जसका लागि बढीमा ७ मिनेट लाग्न सक्छ ।

–    त्यसरी पकाएको सब्जीमा रातो खुर्सानीको धुलो, बेसार, जिरा धनियाको धुलो, गरम मसला हाल्ने र चलाउने । अब १ मिनेट पाक्न दिने ।

–    त्यसपछि दही र हरियो धनियाँ हाल्ने ।

–    त्यसलाई राम्ररी घोल्ने र १ मिनेट पकाउने । त्यसपछि आगो बन्द गरिदिने । जबसम्म चामल पाक्दैन, तबसम्म छोपेर राख्ने ।

चामल पकाउने विधी

–    १५ मिनेट जति पानीमा भिजाएको चामलाई गहिरो प्यानमा मध्यम आँचमा पकाउने । जब चामलको पानी उम्लन थाल्छ, त्यसमा दुई सुकुमेल, ल्वाङ, दालचिनी, तेजपत्ता र नुन हाल्ने । जब चामल ८५ प्रतिशतजति पाक्छ, तब त्यसलाई ७ मिनेटजति उमाल्ने ।

–    चामललाई पुरै नपकाउने । चामललाई निकालेर त्यसको पानी छान्ने ।

बिरयानीको विधी

–    तयार गरेको आधा जति ग्रेभीलाई अलि ठूलो भाडामा फैलाएर राख्ने । त्यसमाथि चामललाई फैलाउने । उक्त चामलमाथि दुधमा भिजाएको केसर छर्कने ।

–    समान रुपले काटेर तारेको प्याज, हरियो धनिया र केहि पदिना त्यसमाथि राख्ने ।

–    त्यसमाथिबाट बाँकी रहेको ग्रेभी समान रुपले फैलाइदिने ।

–    त्यसमाथि एक ठूलो चम्चा घिउ हाल्ने । र, फिटिङ ढक्कनले छोपिदिने । त्यसलाई मध्यम आँचमा एकछिन पकाउने ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment