Comments Add Comment

हेटौंडाको चुनावी गेमः फ्रन्टमा एमाले-राप्रपा ! काउन्टरमा कांग्रेस-माओवादी

फुटबल खेलाडी गणेश थापादेखि राजनीतिक खेलाडी डोरमणिसम्म


२२ चैत, हेटौंडा । हेटौंडाको मुख्य सीमाचोकैमा छ, जेठा दाइको चिया पसल । यहाँ सर्वसाधारणदेखि विभिन्न पेशा ब्यवसाय र दलका नेता कार्यकर्ता चियाको चुस्कीसँगै आ-आफ्ना बिचारको भारी बिसाउँदै गफिन्छन् । उनीहरु हेटौंडासहित थाहा नगरपालिकामा मेयर को हुने ? भन्नेमा बढी केन्दि्रत हुन थालेका छन् ।

ऐतिहासिक महत्वको हेटौंडा उपमहानगरपालिका अन्य शहरलाई जस्तै १७ वर्षपछि चुनावी रौनकले छोएको छ । हेटौंडा उसै पनि राजनीतिक र आर्थिक रुपले मध्य क्षेत्रको प्रमुख नगर हो । त्यसमाथि पहिलो मधेस आन्दोलनपछि जनकपुर लगायत मधेसबाट बिस्थापित भएका पहाडेहरुको बसाइ सराईसँगै हेटौंडाको महत्व पनि बढेको छ ।

हेटौंडा उपमहानगरपालिकाको नेतृत्व कसले लिने भन्नेमा अहिले प्रमुख पार्टीहरुभित्रै तीब्र प्रतिस्पर्धा छ । हेटौंडा नगरपालिकामा ०४६ सालको बहुदलीय व्यवस्थापछि भएका दुवै निर्वाचनमा एमालेले जितेको थियो । २०४९ र २०५४ का दुवै चुनावमा डोरमणि पौडेल मेयर भएका थिए । जो अहिले पनि नगरपालिका संघको अध्यक्ष छन् । र, उनी अझै मेयरको कुर्सी ताक्दैछन् ।

हेटौंडामा यसअघिका जनमतको आधारमा नेकपा एमाले, राप्रपा, नेपाली कांग्रेस, माओवादी केन्द्र प्रमुख प्रतिस्पर्धी हुन् । नयाँ शक्ति र नेकपा मालेको समेत यहाँ उपस्थिति छ । संघीय समाजवादी फोरमका नेता वीरवहादुर लामाले नै पार्टी छाडेपछि यहाँ फोरमको उपस्थिति केही कमजोर छ, तर उसको पनि उपस्थिति छ ।

एमालेमा पुरानाकै दाबी

जिल्लाको पहिलो पार्टीको रुपमा रहेको नेकपा एमालेमा पनि मेयरको उम्मेदवार तय गर्न सजिलो छैन । जिल्लामा केपी ओली र माधव नेपाल गुटको पनि तीब्र प्रतिस्पर्धा छ । जिल्लाको नेतृत्वमा माधव नेपाल गुटले जित्दा तल्लो तहमा ओली गुट बलियो छ ।

पहिलो संविधानसभाको चुनावमा ४ वटै निर्वाचन क्षेत्रमा माओवादीसँग हारेको एमालले दोस्रो संविधानसभाको चुनावमा ३ वटा क्षत्रेमा जित्दा एउटा क्षेत्रमा भने कांग्रेसले मकवानपुरको इतिहासमै पहिलो पटक खाता खोलेको राम्रो सम्झना छ । त्यसैले एमाले स्थानीय तहको चुनावमा पुरानो रेकर्डहरु तोड्न नदिने रणनीतिमा छ ।

एमालेभित्र मेयरका लागि पूर्वमेयर डोरमणि पौडेल, पूर्व उपमेयर हरिबोल महत र जिल्ला अध्यक्ष मुनु सिग्देलको नाम चर्चामा छ । सबै आकांक्षीहरु आ-आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् । आ-आफ्ना पक्षका नेता कार्यकर्तासँगको आन्तरिक भेटघाट र पार्टी कार्यक्रममा सबै आकांक्षीहरु लागि परेका छन् ।

नगरपालिका संघका अध्यक्ष समेत रहेका एमालेका पूर्व मेयर डोरमणि पौडेल स्थानीय तहको पुनर्संरचना आयोगमा सदस्य थिए । उनी  स्थानीय तहका विज्ञमा रुपमा परिचित छन्

एमालेभित्र हेटौंडा सिमेन्ट उद्योगका श्रीधर पोखरेल, युवा संघका केन्द्रीय कोषाध्यष हिदम लामा लगायत अन्य केही नेताले आकांक्षा राखेका छन् । त्यसो त पूर्वमेयर पौडेल पनि मेयरमा उठ्ने चर्चा छ । यसपालि उनी मेयर भए भने त्यो हृयाटि्रक हुने छ । यसपटक उम्मेद्वार भएकाले अर्को चुनावमा लड्न नपाउने एमालेले नयाँ नियम ल्याइरहेकै बेला पौडेल भने ह्याट्रिकको योजनामा छन् ।

नगरपालिका संघका अध्यक्ष समेत रहेका पौडेलले स्थानीय निकायको पुनर्संरचना आयोगमा सदस्यका रुपमा समेत काम गरेका थिए । उनी स्थानीय तहका विज्ञमा रुपमा परिचित छन् ।

पौडेलले टिकटमा बल नगरेको खण्डमा उनकै पालाका पूर्व उपमेयर हरिबोल महत र जिल्ला अध्यक्ष मुनु सिग्देलमध्ये एकले पाउने अवस्था छ । सिग्देल देशभरमै एमालेको एकमात्र महिला जिल्ला अध्यक्ष हुन् । ठूला नगरमा मेयरका लागि उनको उचाइका अरु महिला नेता नभएकाले पनि उनको सम्भावना बलियो छ ।

राप्रपाका प्रभावशाली दाबेदार

जिल्लामा दोस्रो शक्तिका रुपमा रहेको राप्रपाका नजरमा हेटौंडा स्थानीय तहको निर्वाचनमा केही सहज रुपमा जित्न सक्ने सबैभन्दा सम्भाव्य नगरका रुपमा छ । पार्टी अध्यक्ष कमल थापाको गृहनगर भएका कारण राप्रपालाई हेटौंडामा आफ्नो साख जोगाउन पनि जित्ने उम्मेदवार उठाउन दबाव छ ।

राप्रपा अध्यक्ष कमल थापाका भाइ गणेश थापा अहिले हेटौंडामा राजनीतिक गतिविधिमा सक्रिय छन् । राप्रपामा हेटौंडाको मेयरका लागि गणेश थापा र दीपकबहादुर सिंहको चर्चा छ

राप्रपामा हेटौंडाको मेयरका लागि सांसद एवं कमल थापाका भाइ गणेश थापा र संविधानसभा निर्वाचनका प्रत्यासी दीपकबहादुर सिंहको चर्चा छ । दुबै नेताले आ-आफ्नो ढंगले आन्तरिक छलफल चलाइरहेका छन् । थापा र सिंहले हाल नगरमा भइरहेको कार्यक्रममा बाक्लो उपस्थिति जनाइरहेका छन् ।

एन्फाबाट निलम्बनमा परेपछि थापाले आफ्नो गृहनगर हेटौंडामा राजनीतिको जग बसालिरहेका छन् । उनको चर्चामा रहे पनि मुखै भने खोलिसकेका छैनन् । थापाले राजनीतिक नजिक भएरपनि मकवानपुरको विकास नभएको भन्दै हेटौंडा नगरमा राप्रपाले जितेमात्र विकासको लहर आउने बताइरहेका छन् ।

सिंह भने हेटौंडाका पुराना धनाढ्य तथा चर्चित नेता हुन् । उनी आफ्ना कार्यकर्तामाझ प्रिय पनि छन् । सधैं कमल थापालाई साथ दिएका सिंह संविधानसभा निर्वाचनमा एमालेका अनन्त पौडेलबाट करीव ३ हजार मतान्तरमा पराजित भएका थिए ।

कांग्रेसमा को को ?

नेपाली कांग्रेसभित्र मेयरका लागि अहिलेसम्म आनन्दराम पराजुली र अशोक शाक्यको नाम चर्चामा छ । पार्टी सभापति तथा गृहराज्यमन्त्री इन्द्र बानियाँले काम गर्नेलाई उम्मेदवार बनाउने उद्घोष गरेसँगै पछिल्लो समय पार्टीको अभियानमा आकांक्षी नेताहरुको दौडधुप देखिन थालेको बताइन्छ ।

मेयरको चर्चामा रहेका आनन्दराम पराजुली कांग्रेसको वर्तमान नगर सभापति तथा निर्माण व्यवसायी संघ मकवानपुुरका अध्यक्षसमेत हुन् ।

पार्टीले जिम्मेवारी दिए आफू उपमहानगरपालिका प्रमुख भई भूमिका निर्वाह गर्न इच्छुक रहेको पराजुलीले बताउँदै आएका छन् । पार्टीको जिल्ला निर्वाचनको समयमा सभापतिमा बानियाँलाई सहयोग गरेको र बजारको माहौल आफ्नो पक्षमा रहेको भन्दै शाक्यले आफूले टिकट पाउनुपर्ने बताइरहेका छन् ।

कुन दलको अवस्था कस्तो ?

हेटौंडा उपमहानगरपालिको चुनाव यसपटक बिगतको भन्दा फरक ढंगले हुदैछ । यसअघि हेटौंडा नगरपालिका ३ नम्बर निर्वाचन क्षेत्रमा मात्र सिमित थियो । यसपटक १ नम्बर क्षेत्रका पनि दुई गाविस र ३ नम्बरकै थप ३ गाविस गाभिएका छन् ।

साबिक हेटौंडा नगरपालिकालाई उपमहानगरपालिका बनाउने क्रममा केही गाविसहरु गथाभिएका छन् । १ नम्बर निर्वाचन क्षेत्रका हर्नामाडी र हटिया हेटौंडामा थपिएका छन् । त्यस्तै पदमपोखरी,चुरियामाई र बसामाडी पनि थपिएका छन् । यी तीनै गाविस साबिक ३ नम्बर क्षेत्रमै थिए ।

राप्रपाले दोस्रो संविधानसभामा नगर क्षेत्रमा समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएको थियो, त्यसैले हेटौंडामा एमालेका लागि  राप्रपा मुख्य चुनौति हो । कांग्रेस र माओवादीले हेटौंडामा यसअघि पाएको मत लगभग उस्तै देखिन्छ

१ नम्बर क्षेत्रमा कांग्रेसका इन्द्र बानियाँले जितेका छन् । ३ नम्बर क्षेत्रमा एमालेका अनन्त पौडेलले जितेका छन् । पदमपोखरीमा राप्रपाको पनि प्रभाव छ भने चुरियमाई र बसामाडीमा माओवादीको राम्रो उपस्थिति छ । यी सबै थपिएका गाउँमा एमाले मुख्य प्रतिस्पर्धी हो ।

हेटौंडामा लगातार दुवै स्थानीय चुनाव जितेका कारण र पछिल्लो संविधानसभा निर्वाचनको समेत परिणामलाई हेरेर एमालेले आफूलाई एक नम्बर शक्ति दावी गरिरहेको छ । हेटौंडा नगरपालिका रहेको ३ नम्बर क्षेत्रबाट गत चुनावमा एमालेका अनन्त प्रसाद पौडेलले १४ हजार २६८ मतकाा साथ जित्दा राप्रपाका दिपकवहादुर सिंह ११ हजार ४६७ मतका साथ दोस्रो स्थानमा थिए ।

कांग्रेसका रघुरमण न्यौपाने ८ हजार ५ सय ९१ मतका साथ तेस्रो स्थानमा थिए । यस क्षेत्रमा माओवादी चौथो स्थानमा थियो । अहिले हेटौंडा नगरपालिकामा थपिएका १ नम्बर क्षेत्रका हर्नामाडी र हटियामा एमाले,कांग्रेस र राप्रपाको त्रिपक्षीय मत छन् । ३ नम्बर क्षेत्रका अन्य गाउँको मत चारपक्षीय छ ।

हेटौंडामा गत चुनावमा समानुपातिक मततर्फ राप्रपा पहिलो पार्टी भएको थियो । त्यसकारण पनि राप्रपाले यसपटक जित्ने भन्दै आफ्नो गतिविधिलाई तीब्र पारिरहेको छ । राप्रपाले देशभरका ठूला नगरमध्ये जित्ने अपेक्षा राखेको हेटौंडा मुख्य हो ।

राप्रपाले दोस्रो संविधानसभा निर्वाचनमा नगर क्षेत्रमा समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएका कारण काँग्रेस र एमालेको उम्मेदवार हेरेरमात्र आफ्नो रणनीतिअनुसार अगाडि बढ्ने दाउमा देखिन्छ । एमालेका लागि  राप्रपा मुख्य चुनौति हो ।

कांग्रेस र माओवादीले हेटौंडामा यसअघि पाएको मत लगभग उस्तै हो । कांग्रेस माओवादी भन्दा ५ सय मतले अगाडि थियो । तर यसबीचमा माओवादीका तत्कालीन उम्मेदवार प्रल्हाद लामिछाने नयाँ शक्तिमा पुगेका छन् ।

हेटौंडा उपमहानगरपालिकामा मुख्य प्रतिस्पर्धीका रुपमा एमाले र राप्रपा देखिएका छन् । कांग्रेस र माओवादी पनि आफुहरु कमजोर नभएको बताइरहेका छन् ।

गत संविधानसभामा मकवानपुरमा खाता खोलेको कांग्रेस स्थानीय चुनावमा पनि बलियो बन्ने रणनीतिमा छ । पहिलो संविधानसभाको निर्वाचनमा सबै निर्वाचन क्षत्रेमा बाजी मारेको माओवादी पनि मतदतालाई आफ्ने पक्षमा पार्ने योजनामा छ ।

माओवादीका उम्मेदवार तोकिए

यसबीचमा माओवादी केन्द्रले मेयर र उपमेयरको उम्मेदवार घोषणा गरिसकेको छ । माओवादीबाट मेयरमा बलराम बल र उपमेयरमा कमला पौडेलको नाम टुंगो लागेको छ । बल जनमोर्चाबाट माओवादीमा आएका हुन् । पौडेल पार्टीको आन्तरिक काममा भिजेकी व्यक्ति हुन् ।

बल सुकुम्बासी समस्या समाधान आयोग मकवानपुरका पूर्वअध्यक्ष समेत हुन् । उमेरका हिसावले ६० काटेका बल स्थानीय राजनीतिमा पुरानो अनुहार हुन् । उनी शान्ति प्रक्रिया सुरु हुन अघि जनमोर्चाबाट राजनीति गरिरहेका थिए ।

नयाँशक्तिदेखि नेकपा मालेसम्म

वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाइरहेको दाबी गर्ने नयाँ शक्ति पार्टीले पनि आफ्नो जनमत जाँच्ने पहिलो अवसरको सदुपयोग गर्ने तयारी गरेको छ । पहिलो संविधानसभामा यसै निर्वाचन क्षेत्रबाट चुनाव जितेका माओवादीका प्रल्हाद लामिछाने मकवानपुरमा नयाँ शक्तिको नेतृत्व गरिरहेका छन् ।

पार्टीले नगरबासीबीच परिचित रहेका योग्य र सक्षम व्यक्तिलाई उम्मेदवार बनाउने तयारी गरिरहेको बुझिएको छ । पार्टीमा नेताहरु राजेन्द्र सिम्खडा र राजन मैनालीको नाम बढी चर्चामा छ । सिम्खडा लामो समयदेखि पार्टीभित्र सक्रिय छन् भने व्यावसायिक रुपमा बढी भिजेका मैनाली सामाजिक क्षेत्रमा पनि सक्रिय छन् ।

नेकपा मालेका सचिव भीमसेन महतले उम्मेद्वारी घोषणा गरेका छन्। हेटौंडा उपमहानगरपालिका कार्यालयको बेथितिविरुद्ध चर्को आवाज उठाउँदै आएका महत सुरुङमार्गमा भएको भ्रष्टाचारको विरोधमा पनि खुलेरै अभियान चलाइरहेका छन् ।

यी पनि पढ्नुस्

को बन्ला काठमाडौंको मेयर ? यस्ता छन् प्रमुख दलका दावेदारहरु

ललितपुरमा चुनावी चर्चाः महानगरको मेयरका यी हुन् दाबेदार 

देशकै ठूलो महानगर पोखराः यस्ता छन् मेयरका आकांक्षी

पश्चिम तराईको ऐतिहासिक नगर नेपालगञ्ज: यस्ता छन् मेयरका आकांक्षी

कसले चढ्ला भरतपुर महानगरपालिकामा डेढ करोडको गाडी ?

प्रदेश नम्बर ६ को ‘राजधानी’मा को बन्ला मेयर ?

धरान-इटहरी-बिराटनगरको चुनावी विश्लेषणः एमालेमा सकस, कांग्रेसमा छटपटी

७ नम्बर प्रदेशको सम्भावित राजधानी धनगढीः यी हुन् मेयरका दाबेदार

बुटवल उपमहानगरपालिकाः एमाले जनमत जोगाउने, कांग्रेस फर्काउने रणनीतिमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment