Comments Add Comment

यी हुन् बर्षका उत्कृष्ट ५ नायिका (भिडियो रिपोर्ट)


अनलाइनखबरले नेपाली चलचित्रका लागि बर्ष २०७३ कस्तो रह्यो भनेर सुरु गरेको बाषिर्क समिक्षा अन्र्तगत हामीले यहाँ बर्षका उत्कृष्ट ५ नायिकाको काउन्डाउन प्रस्तुत गर्दैछौ । यो बर्ष नेपाली चलचित्र क्षेत्रमा केहि नव-नायिका प्रवेश गरे ।

धेरै नायिकाहरु हात खाली हुँदै घरमै थन्किए भने केही नायिकाको मात्र व्यस्तता खुबै देखियो । नायिकाहरुको व्यस्तता, चलचित्र रिलिज, बक्स अफिस कलेक्शन, अभिनय, अनलाइनखबरमा प्रकाशित समाचार र ती समाचारमा पाठकले दिनु भएको चासो, बजारमा चर्चा लगायतका बिषयलाई ध्यानमा राख्दै हामीले उत्कृष्ट ५ को सूची निकालेका छौ । चर्चा राम्रै भएर पनि यो बर्ष कुनै पनि चलचित्र रिलिज नभएका नायिकाहरु यो सूचीमा परेका छैनन् ।

 ५. शिल्पा पोखरेल

यो बर्ष नायिका शिल्पा पोखरेल अभिनित एउटा मात्र चलचित्र रिलिज भयो, ‘किस्मत २’ । चलचित्र चल्नुको पछाडि शिल्पाको स्टारडम नै मुख्य आधार बन्न पुग्यो । निर्माता छविराज ओझाको ब्यानरमा बनेको यो चलचित्रले लगानी उठायो र छविलाई सुरक्षित बनायो । अर्कोतिर, यो बर्ष पनि शिल्पा र निर्माता छविराज ओझाकै बिहेको चर्चाले रंगियो । शिल्पा र छविले बिहे गर्ने चर्चा चलेपनि उनीहरुले अहिलेसम्म बिहे गरेका छैनन् ।

तर, छविकै ब्यानरमा बनेको नयाँ चलचित्र ‘मंगलम’बाट भने शिल्पा सह-निर्मात्रीको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी छन् । प्रिन्ट, अनलाइन, रेडियो र टीभीमा शिल्पाको बिषयमा राम्रै चर्चा भयो यो बर्ष ।

४. ऋचा शर्मा

काम राम्रै गरेपनि खासै चर्चा नपाउने नायिकाको रुपमा चिनिन्छिन् ऋचा शर्मा । ऋचाले अभिनय गरेका ‘बाटो मुनिको फूल २, जंगे र लुट २’ जस्ता चलचित्र यो बर्ष रिलिज भए । ‘लुट २’ मा ऋचाको छोटो भूमिका थियो ।

‘बाटो मुनिको फूल २’ औषत चल्यो भने ‘जंगे’ बक्स अफिसमा असफल बन्यो । तर, पनि ऋचा बर्षभरि नै मिडियामा छाइन् । आफै चलचित्र निर्माणमा लागेकाले पनि ऋचाको चर्चा मिडियामा राम्रै भयो । हरेक चलचित्र फरक भूमिका निर्वाहा गर्न सक्ने खुबी भएकै कारण पनि ऋचा शर्मालाई दर्शकले मन पराउने गरेका छन् ।

३. केकी अधिकारी

नेपाली चलचित्र क्षेत्रका लागि खासै भाग्यमानी साबित हुन नसकेकी नायिका हुन्, केकी अधिकारी । तर, पनि उनको व्यस्तता भने घटेको छैन । बर्ष २०७३ मा उनी अभिनित चलचित्र ‘हाउ फन्नी र लभ सासा’ रिलिज भए । ‘हाउ फन्नी’ औषत चल्दा ‘लभ सासा’ बक्स अफिसमा नराम्रोसँग पछारियो । यो चलचित्रका लागि केकीले खुबै मिहिनेत पनि गरेकी थिइन् ।

चलचित्र असफल भएपनि केकी बर्षभरि नै निर्मातको पहिलो रोजाइकी नायिका बनिन् । स्क्यान्डलमा कम पर्ने नायिकाकालाई सामाजिक संजालमा मन पराउनेको संख्या पनि यो बर्ष बढ्यो । म्यूजिक भिडियोमा पनि केकी अधिकारीको व्यस्तता खुबै देखियो ।

हुनत, केकीले म्यूजिक भिडियो धेरै खेलेकै कारण उनको चलचित्रमा खासै गतिलो क्रेज बन्न नसकेको हो भन्ने पनि गरिन्छ । यो बर्ष केकी खाली बसिनन् । एकपछि अर्को चलचित्रमा व्यस्तता, मिडियाको खोजी, चलचित्र असफल भएपनि उनको अभिनयको चर्चा यो बर्ष भइनैरह्यो ।

२. बर्षा राउत

गतबर्ष नव-नायिकाको रुपमा हाम्रो बर्ष समिक्षामा स्थान पाएकी नायिका बर्षा राउतले यो बर्ष उत्कृष्ट ५ मा धमकेदार इन्ट्री मात्र गरेकी छैनन्, दोश्रो स्थान पनि ओगट्न सफल भएकी छिन् । गतबर्षको अन्तिम हप्ता रिलिज भएको ‘नाई नभन्नु ल ४’सँगै यो बर्ष सर्वाधिक हिट भएका चलचित्र ‘छक्का पन्जा र जात्रा’मा अभिनय गरेकी बर्षा बर्षभरि नै चर्चित बनिन् ।

उनले अभिनय गरेको चलचित्र ‘छक्का पन्जा’ले १५ करोड भन्दा माथिको कलेक्शन गर्दै सबै रेकर्ड तोड्यो । ‘जात्रा’ले पनि मल्टिप्लेक्समा ५१ दिन मात्र मनाएन, निर्माताको गोजीमा पनि राम्रै रकम फिर्ता गरिदियो । बर्षा राउत, लगातार ३ सफल चलचित्र दिएर ह्याट्रिक गर्न सफल भइन् । उनका इन्टरभ्यू, समाचारलाई दर्शकले निकै चासो देखाएर पढ्नुभयो, हेर्नुभयो र सुन्नुभयो । बर्षा राउत यूवा जमातमा रुचाइएकी नायिकाको रुपमा परिचित बनिन् । प्रेमी संजोग कोइरालासँगको प्रेम चर्चाले पनि उनलाई चर्चित बनाइदियो ।

१. प्रियंका कार्की

गतबर्ष जस्तै यो बर्ष पनि नायिका प्रियंका कार्कीले अनलाइनखबरको उत्कृष्ट ५ नायिकाको पहिलो स्थान ओगट्न सफल भएकी छिन् । यो बर्ष प्रियंकाले अभिनय गरेका ‘हाउ फन्नी, छक्का पन्जा, पुरानो डुङ्गा रिलिज भए । व्यापारिक रुपमा ‘छक्का पन्जा’ले बम्पर व्यापार गर्‍यो । ‘हाउ फन्नी र पुरानो डुङ्गा’को व्यापार औषत रहन पुग्यो ।

‘छक्का पन्जा’मा प्रियंकाले निर्वाहा गरेको चरित्रलाइ दर्शकले निकै रुचाए । अन्य २ चलचित्रमा भने उनको अभिनयको खासै चर्चा भएन । यो बर्ष पनि प्रियंका चलचित्रको छायांकनमा सबैभन्दा व्यस्त बनिन् । उनी कुनै पनि दिन खाली बस्नु परेन । चलचित्रको आइटम गीत, म्यूजिक भिडियोमा समेत उनले काम गरिन् । बर्षको अन्त्यमा उनी, आफू भन्दा कान्छा उमेरका नायक आयुष्मानदेसराज जोशीसँगको लफ अफेयरका कारण चर्चामा आइन् ।

विज्ञापन, चलचित्र, विदेश कार्यक्रममा सर्वाधिक व्यस्त बनेकी नायिका सबैजसो फिल्ममेकरको पहिलो रोजाइको नायिकाको रुपमा रहिन् । मिडियामा उनले लेखेका स्टाटसदेखि बोलेका भनाइ समेत विकाउ बने ।

बर्षका उत्कृष्ट ५ नायक (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment