Comments Add Comment

पर्यटन प्रबर्द्धनका लागि पुनर्निर्माण पहिलो प्राथमिकतामाः राष्ट्रपति

१ बैशाख, ओखलढुंगा । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकासका लागि पर्यटनको विकास मुख्य आधार भएको बताएकी छन् ।

खलढुंगाको सबैभन्दा अग्लो स्थानमा रहेको देम्बा डाँडामा प्रथम थोलेदेम्बा पर्यटन महोत्सव उदघाटन गर्दै राष्ट्रपति भण्डारीले देशको समृद्धि पर्यटन, कृषि र जलविद्युतबाट मात्र सम्भव रहेको बताइन् ।

पर्यटन प्रवर्द्धनका लागि पुनर्निर्माणलाई पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । भूकम्पले क्षति पुर्‍याएको पर्यटकीय संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने उनले धारणा राखिन् ।

‘पर्यटनको दिगो विकास र भावी पुस्तालाई हाम्रो आफ्नै सांस्कृतिक धरोहरको परिचय गराउन समेत दुई वर्षअघि आएको भूकम्पले क्षति पुगेका मन्दिर, गुम्बा र सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माणमा प्राथमिकता दिनुपर्छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘ऊर्जाशील युवाको जोश जाागर ऊर्जा भाषा सीप आतिथ्यता कुशलता समेत समेटेर पर्यटनमैत्री तालिम दिई अवसर सिर्जना गर्नु आजको आवश्यकता हो ।’

जिल्लाको समग्र विकासका लागि सांस्कृतिक र पुरातात्विक स्थलको जगेर्ना गर्दा पर्यटनमा ठोस मद्दत पुग्ने भएकाले सबैले ध्यान दिनुपर्ने भण्डारीले जोड दिइन् । बढ्दो सहरी करण औद्योगिकरण र प्रदुषणले गर्दा पर्यटकीय पदमार्ग प्रमुख आकर्षण बन्न थालेको बताउँदै भण्डारीले कृषि, पर्यटन र ऊर्जाको प्रचूर सम्भावना बोकेको नेपालमा पर्यटकीय पदमार्गहरुको विकास गर्नुपर्ने धारणा राखिन् ।

‘अथाह प्राकृतिक तथा सांस्कृतिक सम्पदाले युक्त यस क्षेत्रका जडीबुटीको प्रवर्द्धन गरी स्थानीय विकास गर्नुपर्ने खाँचो रहेको छ,’ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘हामीले अर्गानिक कृषि पर्यटनको प्रवर्द्धन गर्नुपर्छ ।’

कार्यक्रममा एमाले महासचिव ईश्वर पोख्रेलले केही समृद्धि प्राप्तिका लागि राष्ट्रिय संकल्पको काममा सहयोग गर्ने काम गरिएकोमा खुसी व्यक्त गरे । उनले अर्को महोत्सव अगावै देम्बामा भ्यू टावर बनिसक्ने विश्वास व्यक्त गरे । रामेछापदेखि खोटाङ जोड्ने राजमार्ग बन्ने निश्चित भएकाले ओखलढुंगा जिल्ला अब पूर्वको समृद्धि र विकासको पर्यायको जिल्ला हुने पोख्रेलको विश्वास छ ।

कांग्रेस नेतृ सुजाता कोइरालाले विकासका लागि सबै दलहरुलाई एकताबद्ध हुन सुझाव दिइन् । ‘ठूला-ठूला काम हुनका लागि सबै दलबीच मेलमिलाप हुनु जरुरी छ,’ कोइरालाले भनिन्, ‘राष्ट्रको विकासको काम गर्दा सबै दलहरु एकजुट भएर काम गर्नुपर्छ ।’

महोत्सव तीन दिनसम्म चल्नेछ । पर्यटकीय पदमार्ग तथा गन्तव्यको रुपमा विकास गर्न जिल्लाकै सबैभन्दा अग्लो भनिएको देम्बामा महोत्सव आयोजना गरिएको आयोजक समितिका संयोजक देण्डी शेर्पाले जानकारी दिए ।

समुद्री सतहबाट ३ हजार ३ सय मिटरको उचाईमा अवस्थित थोलेदेम्बामा दुई लाख पर्यटक महोत्सव अवधिमा भित्र्याउने आयोजकको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment