Comments Add Comment

विदेशी मिडियालाई बोलाएर उत्तर कोरियाले देखायो आफ्नो वैभव


उत्तर कोरियामा विदेशी मिडियालाई खासै पहुँच दिँइदैन । त्यसैले त्यहाँका भित्री खबरहरु विरलै बाहिर आउँछन् ।

पश्चिमी मिडियाले आमरुपमा उत्तर कोरियाको नकारात्मक पाटोलाई मात्रै खोतल्छन् । त्यहाँको शोषण, दमन, गरिबी र भोकलाई नै बढि हाइलाइट्स गरेका हुन्छन् । त्यसलाई जवाफ दिन हालै उत्तर कोरियाले दर्जनौं विदेशी मिडिया बोलाएर आफ्नो एक नयाँ शहरको वैभव देखाएको छ ।

उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मदिनमा विदेशी पत्रकारलाई बोलाइएको हो, जुन दिन यहाँ सार्वजनिक विदा दिइन्छ । ती पत्रकारहरुलाई रियोमियोङ स्ट्रिटमा अवस्थित हाउजिङ स्टेटमा लगिएको थियो, जहाँ ३ हजार ६ सय फ्ल्याटको नवनिर्मित विशाल प्रोजेक्ट छ । यहाँ ७० तल्लासम्मका गगनचुम्बी भवनहरु छन् । हातले पेन्ट गरेजस्ता चिल्ला सडकहरु छन् ।

मात्र एक वर्ष अगाडि किम जोङ ऊनले रियोमियोङ स्ट्रिटको निर्माण घोषणा गरेका थिए । त्यतिबेला यस देशले भर्खरै चौंथो आणविक परिक्षण गरेको थियो र परिणामस्वरुप अन्य राष्ट्रबाट आर्थिक बन्देजको सामना गर्नुपरेको थियो । यसले गर्दा यहाँ निर्माण कार्य अघि बढाउन कठिन थियो ।

त्यसैले यो एउटा निर्माण परियोजना मात्र थिएन । यसले विश्वलाई उत्तर कोरियाको एउटा सन्देश पनि दिन खोजेको थियो । निर्माण कार्य सँधै किम परिवारका लागि सांकेतिक औजार रहँदै आएको छ ।

किम जोङ उनले परियोजनाको घोषणा गर्दा राज्यका मिडियाहरुले उनलाई उद्वृत गर्दै भनेका थिए कि यो परियोजना आणविक कार्यक्रम जत्तिकै महत्वपूर्ण छ ।

शुक्रबार आयोजित उद्घाटन कार्यक्रममा दशौं हजार नागरिक, वासिन्दा तथा सैनिकहरु उपस्थित भएका थिए । बसन्त ऋतुको घमाइलो दिनमा धेरैले रंगीविरंगी बेलुनहरु हातमा बोकेका थिए ।

बाहिरबाट हेर्दा रियोमियोङ स्ट्रिटका घरहरु साँच्चै लोभलाग्दा छन् । तिनीहरु आधुनिक शैलीमा बनाइएका छन् र धेरै जसोमा सोलार प्यानलहरु देखिन्छन् । भित्र कस्तो छ भन्ने चाहिँ पत्रकारहरुलाई देखाइएन । धेरै झ्यालहरुमा फुलदानी राखिएका थिए तर भवनहरु अझै खाली नै छन् । पसल तथा अन्य सुविधाहरु पनि खुलिसकेका छैनन् । यो निर्माणका लागि कति पैसा खर्च भयो भन्ने जानकारी गराइएको छैन ।

उद्घाटन कार्यक्रममा उत्तर कोरियाका प्रधानमन्त्री पाक पोङ जुले यो प्रोजेक्ट सयौं न्यूक्लियर बम जत्तिकै शक्तिशाली रहेको बताए । किमले भने सम्वोधन गरेनन् ।

नयाँ शहरको उद्घाटन गर्दै उत्तर कोरियाली नेता किम जोङ उन

 –सीएनएनबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment