Comments Add Comment

राजनीतिक अन्योलको असर सेयर बजारमा, ४५ अंकले घट्यो नेप्से

३ बैशाख, काठमाडौं । मधेसी मोर्चा र संघीय गठवन्धनले घोषणा गरेको आन्दोलनले सेयर बजार प्रभावित बनेको छ । केही समययता उकालोतर्फ यात्रा गरिरहेको बजारमा आइतबार भारी गिरावट आयो ।

कारोबार खुल्दा बढेको नेप्से आधा घण्टा नबित्दै ओरालो लाग्न थालेको थियो । त्यसपछि पटक-पटक वृद्धिको प्रयासमा देखिए पनि अन्ततः ४५.५२ अंकले घट्दै १६५१.६१ अंकमा आएर बजार बन्द भएको छ । यस दिन १ अर्ब २१ करोड रुपैयाँको कारोबार भयो ।

गत आर्थिक वर्षमा मधेशी दलहरुको आन्दोलनमा टेकेर भारतले अघोषित नाकाबन्दी लगाएकाले यसपटक लगानीकर्ताहरु डराएका छन् । यद्यपि, राजनीतिक प्रभाव बजारमा अल्पकालिन रहने विश्वास गरिन्छ ।

व्याजदरको पनि असर

केही बैंकहरुले बचत खातामा दिने व्याज दर बढाएको सुचना सार्वजनिक गर्न थालेकोले पनि यसको प्रभाव बजारमा परेको छ । केही बैंकले सामान्य बचत खातामा नै ५ देखि ८ प्रतिशतसम्म ब्याज दर प्रस्ताव गरेका छन् । अन्य केही बैंकलाई पनि कल डिपोजिटमा रहेकेा रकम जोगाउन यही निर्णय लिन पर्ने अवस्था छ ।

बचत खातामा लगानीलाई सेयर बजारको तुलनामा जोखिमरहित मानिन्छ । बजारबाहिर नै आकर्षक ब्याज दर प्राप्त हुन थालेपछि यसको प्रभाव देखिनु स्वभाविक हो । सेयर बजार र ब्याजदर बीच प्रत्यक्ष सम्बन्ध रहने गरेको यसअघि भएका अध्ययनले पनि देखाएका छन् ।

निक्षेपको ब्याजदर बढ्दै गर्दा यसले कर्जाको ब्याजदरलाई पनि माथि धकेल्ने सम्भावना छ । यसो भएमा कर्जा लिएर सेयरमा लगानी गर्नेलाई लागत महंगो पर्न जान्छ ।

त्यस्तै, बजार उच्च अवस्थामा नै रहेकोले धेरै लगानीकर्ताले अहिलेकै मुनाफालाई मुनाफा सुरक्षित गर्ने सोच पनि बनाएका छन् ।
बोनस सेयरको घोषणा गरेको एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार मूल्य बढेर भएको छ । हकप्रद जारी गर्ने तयारीमा रहेको नेपाल क्रेडिट कमर्श बैंकको पनि कारोबार सबैभन्दा धेरै भएको छ ।

आज -आइतबारबाट) कारोबारट सुरु भएको अरुण काबेली पावर कम्पनीको पहिलो कारोबार नेप्सेले दिएको माथिल्लो रेञ्ज अर्थात् २ सय ९७ बाट भएको छ । कारोबारको क्रममा कम्पनीको मूल्य ३ सय २६ रुपैयाँसम्म पुगेको छ । कम्पनीको साधारण सेयर निष्कासनमा लगानी गरेकालाई अहिले नै तीन गुणा नाफा भएको देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment