Comments Add Comment

मोरङका ०५४ सालका जनप्रतिनिधि को के गर्दैछन् ?

कोही घर-गृहस्थीमा रमाउँदै, कोही अझै दावेदार

८ बैशाख, विराटनगर । आगामी ३१ बैशाखमा देशका सात सय ४४ स्थानीय तहमा नयाँ जनप्रतिनिधिहरु छानिदै गर्दा धेरैलाई पुराना जनप्रतिनिधिहरुको याद आउन थालेको छ । साँच्चै २० वर्षअघिको स्थानीय चुनावमा निर्वाचित जनप्रतिनिधिहरु अहिले कहाँ के गर्दै होलान् ?

मोरङ जिल्लाका हकमा २०५४ सालका जनप्रतिनिधिहरु अहिले कमै मात्र दृष्यमा छन् । उनीहरुमध्ये कोही घर-गृहस्थीमा लागेका छन् त कोही व्यापार व्यवसायमा । थोरै चाहिँ यो चुनावमा पनि आफ्नो दावेदारी पेश गरिरहेका छन् ।

विराटनगर उपमहानगरपालिकाका पूर्वमेयर रमेशचन्द्र पौडेल यतिवेला राजनीतिबाट टाढा छन् । यद्यपि निस्कृय भने छैनन् ।

उनी काठमाडौं बसेर उपभोक्ता हक-हितका निम्ति काम गरिरहेका छन् । ०५४ सालको स्थानीय निकायको चुनावमा विराटनगरको मेयरमा एमालेका तर्फबाट पौडेल विजयी भएका थिए । उनले कांग्रेसका उम्मेदवार अमृत अर्याललाई २५ सयभन्दा बढी मतान्तरले पराजित गरेका थिए ।

त्यसैगरी एमालेकै भुराज राई सो चुनावमा विराटनगरको उपमेयर बनेका थिए । उनी अझै पनि सक्रिय राजनीति गरिरहेका छन् तर एमालेबाट होइन । राई यतिबेला मधेसी जनअधिकार फोरममा छन् ।

दुईपटक मधुमल्ला गाविसको अध्यक्ष भएका काशीनाथ पौडेल भने यतिबेला निस्कृय छन् । मधुमल्लाबाटै पलायन भएर उनी दमकमा गृहस्थी जीवन व्यतित गरिरहेका छन् ।

पूर्वी मोरङका बयरवन, उर्लाबारी, हसन्दह र केराबारीका गाविस अध्यक्ष क्रमशः काशीनाथ दाहाल, घनेन्द्र जिमी, माधव खतिवडा र नारायण थापा मगरको भने निधन भइसकेको छ । यस्तै, इटहरा गाविसमा दुई कार्यकाल गाविस अध्यक्ष भएका रामकुमार राई एमाले पार्टी राजनीतिबाट निस्कृय भएर व्यापार-व्यवसायमा लागेका छन् ।

दुई कार्यकाल नै गाविस अध्यक्ष भएका सिजुवाका गन्जबहादुर राई र राजघाटका चन्द्र थेवे एमालेको स्थानीय राजनीतिमा रहे पनि हाल नगरप्रमुखको दौडमा भने छैनन् । तर, पथरीका मोहन तुम्वापो (२०५४) र तिलक वान्तवा (२०४९), शनिश्चरेमा दुई कार्यकाल अध्यक्ष भएका मोहन न्यौपाने भने हालको पथरी-शनिश्चरे नगरपालिकाको प्रमुखको आकांक्षी देखिएका छन् ।

यस्तै जाँतेमा दुई कार्यकाल एमालेबाट गाविस अध्यक्ष जितेका उपेन्द्र घिमिरे लेटाङ नगरपालिकाको प्रमुख हुने दौडमा छन् । लेटाङमा क्रमशः गाविस अध्यक्ष र उपाध्यक्ष बनेका घनश्याम खतिवडा र चन्द्र प्रसाद गौतमले भने दावेदारी प्रस्तुत गरेका छैनन् । रमितेखोला, भोगटेनी, वारंगी, याङ्शिला, गाउँका पूर्वगाविस अध्यक्ष पनि अहिले उम्मेदवारीको होडबाट बाहिर छन् ।

तत्कालिन इन्द्रपुर गाविसमा दुई कार्यकाल अध्यक्ष भएका चन्द्रबहादुर गुरुङ हाल मोरङ क्षेत्र नम्बर-८ का निर्वाचित सांसद हुन् । गुरुङको गृहक्षेत्रअन्तर्गत रहेको सुन्दर हरैचा नगरपालिकामा भने तत्कालीन दुलारी गाविसका अध्यक्ष अर्जुन अधिकारी नगर प्रमुखको आंकाक्षी छन् । तत्कालिन सुन्दरपुरका गाविस अध्यक्ष कृष्णप्रसाद दाहाल सामाजिक कार्यकर्ताका रुपमा सक्रिय छन् भने हरैचाका गाविस अध्यक्ष विनोद बस्नेत एमालेको जिल्ला राजनीतिमा छन् ।

बेलबारीका गाविस अध्यक्ष शिव बराल, डाँगीहाटका गाविस अध्यक्ष पीपी थापामगर, केरौनका भेषनाथ रिजाल, बयरवनकै पूर्वगाविसका अध्यक्ष ताराबहादुर काफ्लेलगायत पनि उम्मेदवार हुने दौडमा देखिएका छैनन् । सदभावना पार्टीबाट रंगेली गाविसका अध्यक्ष विजय भएका विजयकुमार शर्मा, राप्रपाबाट गाविस अध्यक्षमा विजयी भएका डाइनिया गाविसका अध्यक्ष जवीर उदिन मिया, कांग्रेसबाट डग्राह गाविस अध्यक्ष बनेका अशोक रिजाल, थलहा गाविसका अध्यक्ष विसुनलाल सरदार पनि अहिले सक्रिय राजनीतिमा देखिएका छैनन् ।

त्यसैगरी राप्रपाबाट दादरवैरिया गाविसका अध्यक्षमा विजयी बनेका मनकुमार राजवंशी, नेपाली कांग्रेसबाट वैजनाथपुर गाविस अध्यक्षमा निर्वाचित बलबहादुर खवास, राप्रपाबाट वुधनगर गाविस अध्यक्ष विजयी भएका अवधनारायण मण्डल पनि अहिले राजनितिमा सक्रिय देखिदैनन् ।

एमालेलाई साख जोगाउने चुनौति

स्थानीय तह निर्माण हुनुपुर्व मोरङमा विराटनगर उपमहानगरपालिकासहित कुल ६५ गाविस रहेका थिए । २०५४ सालमा भएको स्थानीय निकायको चुनावमा एमालेलेे विराटनगर उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख तथा ४६ गाविसमा अध्यक्ष, उपाध्यक्षसहित बहुमत स्थानमा जित हात पारेको थियो । विराटनगरको मेयरमा रमेशचन्द्र पौडेल र उपमेयरमा भुराज राई बिजयी बनेका थिए ।

सो निर्वाचनमा नेपाली कांग्रेसले ९ स्थान, सदभावना पार्टी र राप्रपा नेपालले ४/४ स्थान र टकुवा गाविसको अध्यक्षमा स्वतन्त्र उम्मेदवार षडानन्द यादव विजय बनेका थिए ।

पूर्वी उत्तरी मोरङमा बहुदलकाल यताका दुईवटा निर्वाचनमा नेकपा एमालेको वर्चश्व रहँदै आएको छ । वि.सं. २०४९ भएको आमनिर्वाचन र २०५४ को स्थानीय निकायको निर्वाचनमा मोरङको पूर्वपश्चिम राजमार्ग आसपास र पहाडी भू-भागका सबै गाविसमा एमालेले पकड जमाएको थियो ।

सुदूरपूर्वी मोरङको घनावस्ती भएको उर्लाबारी नगरपालिकामा विगतका दुईवटै स्थानीय निकायको निर्वाचनमा एमालेले जित हात पारेको थियो । अहिले सो गाविस नगरपालिकामा परिणत भएको अवस्था छ । पूर्वी उत्तरका उर्लावारी गाविसमा वि.सं. २०४९ को पहिलो निर्वाचनमा दुईवटा वडामा पराजित भएको एमालेले २०५४ सालमा आइपुग्दा सिंगो गाविसमा नै जित हासिल गरेको थियो । उर्लाबारी, शनिश्चरे र इन्द्रपुर गाविसका पनि सबै पदमा एमाले विजयी भएको थियो । हाल उर्लावारी, पथरी शनिश्चरे र सुन्दर हरैचा नगरपालिका भइसकेका छन् ।

तर दुई दशकपछि हुन लागेको आगामी निर्वाचनमा जनमत कतातिर बग्छ यसै भन्न सकिदैन ।

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा पुरानो साख जोगाउन एमाले केन्द्रित छ भने कांग्रेस र माओवादी केन्द्र एमालेको पकडलाई भत्काएर नयाँ इतिहास रच्ने सोचमा रहेका छन् । स्थानीय तहको निर्वाचनमा पार्टीभन्दा पनि व्यक्ति हेरिने भएकाले कुन दल र कुन उम्मेदवारले जित्छ भन्ने पूर्वानुमान लगाउन मुस्किल छ ।

हाल एक उपमहानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिकासहित १७ स्थानीय तह रहेको मोरङमा १ सय ५९ वटा वडा रहेका छन् ।

कुल ५ लाख ६३ हजार मतदाता रहेको यस जिल्लामा ६ सय ७१ वटा मतदान केन्द्र तय भएको छ । स्थानीय तहको निर्वाचनबाट मोरङमा ८ सय ३२ जना जनप्रतिनिधि निर्वाचित हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment