Comments Add Comment

मारुतीले ठक्कर दिँदा तीनजना गम्भीर घाइते

८ वैशाख, महोत्तरी । जिल्लाको मटिहानीमा बिहीबार साँझ मारुतीले ठक्कर दिँदा दुई महिलासहित तीनजना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा मटिहानी–४ का ३२ वर्षीया हसिना खातुन, धीरापुर–६ बस्ने २० वर्षीय बबलु साह र धनुषा जिल्लाको तुल्सियाही जब्दीकी ४० वर्षीया खैरुना खातुन रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।

मटिहानीबाट जलेश्वर आउँदै गरेको बिएसआर १ बिएल ०४७६ नंको भारतीय मारुतीले मटिहानी–४ स्थित सडकमा भारतबाट कपडा किनेर आउँदै गरेका तीनैजनालाई ठक्कर दिँदा उनीहरु गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए ।

घाइतेमध्ये महिला दुवैको पेटमाथिबाट चक्का चलेको र तीनै जनाको शरीरको अन्य भाग पनि किचिएकाले उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते दुवै महिलालाई गएराति अञ्चल अस्पताल जनकपुरमा प्राथमिक उपचारपश्चात् विशेष उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ भने युवक साहको उपचार भारतको मधवापुरस्थित एसएसबी क्याम्पमा भइरहेको छ ।

ठक्कर दिने मारुती र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिप्रका, महोत्तरीले जनाएको छ ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment