Comments Add Comment

लापरवाह आयल निगमः एक हप्तासम्म तेलको अभाव, दोष उपभोक्तामाथि नै !


८ वैशाख, काठमाडौं । काठमाडौंमा एक हप्तादेखि पेट्रोलको अभाव छ । अधिकांश पम्पहरुमा पेट्रोल वितरण नै भएको छैन भने वितरण भएका पम्पमा उपभोक्ताको लाइन छ । मागअनुसार आपूर्ति गर्न नसकेको आयल निगमले दोष उपभोक्तामाथि नै लगाएको छ ।

नेपाल आयल निगमको लापरवाहीका कारण एक हप्तासम्म तेल अभाव हुँदा पनि बजारमा आपूर्ति सहज भएको छैन । आयल निगमले दैनिक ५ लाख लिटर तेल वितरण गरिरहेको बताएपनि उपभोक्तालाई ५ लिटर तेल हाल्न महाभारत छ ।

उपभोक्ताहरु नेपाल आयल निगमको गैरजिम्मेवारीपनले आनावश्यक सास्ती भोग्नु परेको भन्दै आक्रोशित छन् । तेल बाँडिएका पम्पमा पनि लाइनमा बसेका सबैले तेल भर्न पाएका छैनन् । अधिकांश पम्पहरुमा ‘पेट्रोल छैन’ को बोर्ड टाँगिएको छ ।

किन भयो अभाव ?

वैशाखको १ र २ गते सार्वजनिक विदा भएपछि पेट्रोल बजार पठाइएको थिएन । ३ गतेदेखि पम्पमा लाइन देखिन सुरु गरेको थियो । त्यपछि बजारमा तेलको अभाव देखियो । त्यतिबेलै मधेशवादी दलहरुले सरकारको संविधान संशोधन प्रस्तावमा असन्तष्टी जनाउँदै आन्दोलनको घोषणा गरे । अभाव रहेकै समयमा उपभोक्तामा अभावको त्रास फैलियो ।

पम्पमा लाइन देखिएपछि उपभोक्ताले आत्तिएर फूल ट्यांक तेल हाल्न सुरु गरे र अभावको हल्ला र उपभोक्तको त्रासको मानसिकताका कारण तेलको अभाव चर्किँदै गएको छ । तर, आयल निगमले आपूर्ति भने पुरानै दरमा गरिरहँदा बजारमा तेलको अभाव हट्न सकेको छैन ।

आयल निगको दावी

तराई आन्दोलनको घोषणापछि ‘तेल अभाव हुने’ अफबाह फैलिएपछि धेरै उपभोक्ता पेट्रोलपम्पहरुमा सवारी साधन लिएर लाइन लागेको नेपाल आयल निगमको दावी छ ।

आयल निगमले तेल अभाव भएको भन्ने भ्रामक हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ । आयल निगमका वितरण विभाग प्रमुख सीताराम पोखरेलले भारतबाट मागअनुसार तेल आइरहेको र बजारमा पनि मागअनुरुप तेल आपूर्ति भइरहेको दावी गरे ।

निगका अर्को अधिकारी भने निगमसँग स्टोरेज क्षमता कमजोर हुँदा यस्तो अवस्था आएको बताउँछन् । वैशाखको १ र २ गते सार्वजनिक विदा भएपछि पेट्रोल बजार पठाइएको थिएन । ३ गतेदेखि पम्पमा लाइन देखिन सुरु गरेको थियो ।

आयल निगमले बिहीबारका लागि काठमाडौंको थानकोट डिपोबाट झण्डै साढे ५ लाख लिटर पेट्रोल वितरण गरेको थियो ।
आयल निगमका प्रवक्ता पोखरेल भैरहवासहित उपत्यकाबाहिरका डिपोबाट पनि तेल ल्याएर वितरण थालिएको बताउँछन् । आज मात्रै ७ लाख लिटर पेट्रोल जबार पाइने उनले बताए ।

त्यसपछि अभावको हल्ला र कमजोर आपूर्तिका कारण अभाव चर्किएको छ । निगमका प्रवक्ता पोखरेल भने आपूर्ति एक-दुई दिनमै सहज हुने बताउँछन् ।

‘एक्कासी पम्पहरुमा भीड देखिएको छ । बाहिर हल्ला भएजस्तो तेलको कुनै अभाव हुने स्थिति छैन,’ उनले भने, ‘मागअनुसार बजारमा तेल पठाइरहेका छौं । बजारमा यस्ता हल्ला कहाँबाट सुरु हुन्छ भन्नेमा हामी पनि अचम्मित छौं ।’

‘अभावको गलत हल्ला फैलिनासाथ सबै फुल ट्यांकी तेल भर्न लाइनमा आएका छन्,’ वितरण विभाग प्रमुख पोखरेलले भने, ‘पेट्रोल आपूर्ति थप बढाउँदै छौं । मागअनुसार तेल दिन ठूलो समस्या छैन ।’

अहिले भारतीय आयल कर्पोरेशनको रक्सौल डिपोले नेपालको माग अनुसार पेट्रोल दिइरहेको छ । डिजेलको पनि अभाव बजारमा समान्य छ ।

गतवर्षको नाकाबन्दीपछि बजारमा तेलको आपूर्ति एक दिनमात्रै घटाउँदा पनि त्यसको असर पम्पहरुमा देखिने गरेको छ । फेरि अभाव चर्किने डरले उपभोक्ता अनावश्यक सञ्चितिमा लाग्दा तेल आपूर्तिमा प्रभाव परिरहेको आयल निगमको दावी छ ।

तर, आयल निगमले मागअनुसार बजारमा पेट्रोल पठाएको दावी गरेपनि वितरण भने अझै असहज नै छ ।  उपभोक्ता भने तेल आपूर्तिमा एकाधिकार जमाएर बसेको आयल निगमको कमजोर ब्यवस्थापन नै अभाव चर्किनुको मुख्य कारण बनेको बताउँछन् ।

आयल निगमका कार्यकारी निर्देशक गोपाललबहादुर खड्काले भण्डारण क्षमता बढाउन काम सुरु गरिहाल्ने बताएको लामो समय बितिस्क्यो । तर, उपभोक्तालाई परेको सास्तीमा निगम जिम्मेवार नबन्ने पुरानो रबैया कायमै हुँदा गर्ने भनिएका कामका योजना पनि त्यसै अलपत्र छन् ।

काठमाडौंको थानकोट डिपोको क्षमताले ३ दिनको माग पनि थेग्न सक्ने अवस्था छैन । त्यसैकारण पनि बजारमा तेल आपूर्ति सहज भएको छैन । त्यसमाथि अभाव हुनासाथ पम्प सञ्चालकहरुले कालोबजारी सुरु गरिहाल्ने प्रवृत्ति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment