Comments Add Comment

बेलायती संसदमा सप्तरी घटनाको चर्चा


८ बैशाख, काठमाडौं । बेलायती सांसद एन्न क्लाउडले ब्रिटिस संसदमा सप्तरी घटनाको छानविन हुनुपर्ने बताएकी छन् । नेपालबारे एक प्रस्ताव दर्ता गर्दै उनले नेपालको संविधान संशोधनपछि मात्रै स्थानीय चुनाव गर्नुपर्नेमा जोड दिएकी हुन् ।

साइनन् उपत्यकाबाट संसदमा प्रतिनिधित्व गर्ने लेबर पार्टीकी सांसद क्लाउडले तराई क्षेत्रमा सुरक्षाकर्मीबाट अत्याधिक बलको प्रयोग हुनु चिन्ताजनक भएको बताइन् । सप्तरीमा पाँचजना मारिएको र कैयौं अन्य व्यक्ति घाइते भएको भन्दै उनले भनेकी छन्, ‘नेपालको सुरक्षा अंगलाई दिइने कुनै पनि सहयोग दिनुअघि उनीहरुको कार्य अन्तर्राष्ट्रिय मानव अधिकारको मापदण्डअनुकुल भए नभएको कुरालाई ध्यानपूर्वक विश्लेषण गर्नुपर्छ ।

साथै राजनीतिक कार्यकर्ता तथा प्रदर्शनकारीहरुलाई आफ्ना गतिविधिलाई शान्तिपूर्वक सञ्चालन गर्न पनि आग्रह गर्नुपर्ने उनको प्रस्ताव छ ।

सांसद क्लाउडले आगामी वैशाख ३१ गते हुने चुनाव अघि संविधान संशोधन हुनुपर्नेमा जोड दिएकी छन् । ‘यो सदन यो कुरामा चिन्तित छ कि स्थानीय निर्वाचनअघि संविधानमा संशोधन नभएमा तराई क्षेत्रको रुपमा परिचित मैदानी दक्षिणी क्षेत्रका अल्पसंख्यक मधेसीहरु सीमान्तकृत भइरहनेछन्,’ उनको प्रस्तावमा भनिएको छ ।

केही समयअघि दीपेन्द्र झा लगायत अधिकारकर्मीले क्लाउडीलगायत सांसदलाई भेट्दै मधेसमा राज्य पक्षबाट अतिरिक्त बल प्रयोग भएको भन्दै मानव अधिकार हननको विषय उठाइदिन आग्रह गरेका थिए ।

क्लाउडीले ब्रिटिस संसदमा मधेसीहरुको पक्षमा प्रस्ताव दर्ता गरेको अधिवक्ता झाको प्रतिक्रिया छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment