Comments Add Comment

निर्वाचन आयोगले भन्यो- मधेसका जिल्लामा पनि अवरोध छैन

८ बैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनको काममा कहीँ कतै बाधा अवरोध नभएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयुक्त इला शर्माले देशभर नै निर्वाध रुपमा निर्वाचनको तयारी भइरहेको बताएकी हुन् । कान्तिपथस्थित आयोगको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै आयुक्त शर्माले तराई मधेसका जिल्लाहरुमा समेत निर्वाचनको काममा अवरोध गर्ने खालका कुनै पनि गतिविधि नभएको स्पष्ट परिन् ।

साथै उनले निर्वाचनमा मधेस केन्दि्रत सबै राजनीतिक दल सहभागी हुने विश्वास पनि व्यक्त गरिन् । मधेस केन्दि्रत दलहरुले पनि निर्वाचनलाई सफल बनाउन सहयोग गरिरहेको उनको भनाइ थियो ।

निर्वाचन आयोगले निर्वाचन सामग्रीहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याउने कामलाई तीव्रता दिएको छ । मतदाता परिचय पत्र छपाईको काम पनि केही दिन भित्रै सकिने आयुक्त शर्माले बताइन् । निर्वाचन आयोगले मतपत्र छपाईको कामलाई पूरा गरिसकेको छ ।

त्यसैगरी मतदाता परिचय पत्र वितरणको कामलाई भने निर्वाचन आयोगले सम्बन्धित मतदान केन्द्रमार्फत् बैशाख २७, २८ र २९ गते वितरण गर्ने योजना बनाएको छ ।

१ करोड ४० लाख ५४ हजार ४५२ जना मतदाताले स्थानीय तहको निर्वाचनमा भाग लिने निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment