Comments Add Comment

बग्न थाल्यो अरुण नदी, प्रजिअ भन्छन्- अब खतरा छैन

८ बैशाख, संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका हुँदै बग्ने बरुण र अरुण नदीको दोभानमा थुनिएको पानी विस्तारै बग्न थालेको छ । हाल २५ प्रतिशत मात्र पानी बगीरहेकोे छ ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले अनलाइनखबरसँग भने, ‘बिस्तारै पानी बग्ने क्रम जारी रहेकाले त्यति ठूलो खतरा अब नरहला ।’

१० घर परिवार विस्थापित

गएराति परेको पानीका कारण ढुंगा माटोसहित बरुण नदीमा आएको बाढीका कारण पहिरो खस्दा दोभानमा पानीको बहाव रोकिएको थियो । बहाव रोकिँदा लामो कृत्रिम ताल बनेको छ ।

पानी थुनिएका कारण बरुण बजारका करिब १० घरपरिवार बिस्थापित भएका छन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय संखुवासभाले चिउरा, चाउचाउ, टेन्ट लगायतका राहत वितरण गरेको छ ।

आजै गृहमन्त्रालयका सहसचिव कृष्णबहादुर राउत नेतृत्वको टोलीले प्रभावित क्षेत्रको अनुगमन गरेको छ । तर हिमताल फुटेर बाढी आएको भन्ने अनुमान पुष्टी हुन नसकेको प्रजिअ जोशीले बताए ।

उनले भने, ‘हामी झण्डै नदीको मुहानसम्मै पुग्यौं । एकदम हावा चलेकाले धेरैमाथि त पुग्न सकिएन । तर, माथितिर पानी परिरहे पनि ताल फुटेको पुष्टी भएन ।’

सदरमुकाममा माछैमाछा

स्वास्थ्य राज्यमन्त्री तारामान गुरूङ

नदी थुनिएको मौका छोपेर स्थानीयले नदीबाट ठूला-ठूला माछा मारेर सदरमुकाम खाँदबारी बजारमा बेच्न ल्याएका छन् । पानी नभएपछि छट्पटिएर बाहिर निस्किन थालेपछि माछा मार्नेहरुको लर्को लागेको थियो ।

माछाहरू ट्याक्टर र जीपमा राखेर सदरमुकाम खाँदबारी लगायत आसपासका बजारमा बिक्रीका लागि पुर्‍याइएको छ ।

प्रजिअ जोशीले भने, ‘बजारमा माछाको बजार लागेको छ । पाँच सय रुपैयाँ किलोमा बिक्री भइरहेको छ ।’

स्वास्थ्य राज्यमन्त्री तारामान गुरूङले पनि ठूलो माछासँगै फोटो खिचाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment