Comments Add Comment

घुस लिएको आरोपमा चितवन मालपोतबाट तीनजना पक्राउ

८ बैशाख, चितवन । सेवाग्राहीबाट घुस लिएको आरोपमा जिल्ला मालपोत कार्यालय चितवनबाट तीन जना पक्राउ परेका छन् । सेवाग्राहीसँग ६ हजार ५ सय रुपैयाँ नगद लिएको आरोपमा शुक्रवार दिउँसो प्रहरीले २ जना कर्मचारी र एकजना लेखापढी व्यवसायीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कार्यालयका सुव्बा मनोज निरौला, कम्प्युटर अपरेटर प्रदिप पौडेल र लेखापढी व्यवसायी फडिन्द्रराज तिवारी रहेका छन् ।

इच्छाकामना गाउँपालिका-६ का इन्द्रबहादुर गुरूङको नाममा रहेको लालपुर्जा धनमाया गरूङको नाममा नामसारी गर्ने क्रममा उनीहरूले बिहीबार घुस मागेको आरोप लगाइएको छ ।

कर्मचारीलाई छिटो काम गर्ने सर्तमा ६ हजार ५ सय रुपैयाँ घुस दिएको मोहनबहादुर गुरूङले दाबी गरे । गुरूङले कम्प्युटर टेक्निसियनलाई ५ सय र लेखनदासले नासुलाई ६ हजार रुपैयाँ दिएको बताएका छन् ।

५ सय रुपैयाँ बिहीबार नै कम्प्युटर अपरेटर प्रदिप पौडेलले फिर्ता गरेका थिए । आज फेरि ५ सय रुपैयाँ मागेपछि उनीहरुका बीचमा बिवाद भएको थियो ।

लालपूर्जा बनाउँदा २५ रुपैयाँ मात्रै तिर्नुपर्दछ ।

शुक्रवार लालपुर्जा लिन आँउदा काम नहुने भनेपछि गुरूङले प्रहरीमा उजुरी दिएका थिए ।

जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओमनारायण शर्मा, उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु धिताल र सादा पोशाकमा रहेका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरू माथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment