Comments Add Comment

बाबुराम र उपेन्द्रवीच मतभेद ! चुनावअघि पार्टी एकता नहुने

कार्यनीतिक विवाद- चुनाव बहिस्कार गर्ने कि उपयोग ?

८ बैशाख, काठमाडौं । स्थानीय तहको चुनाव बहिस्कार गर्ने कि उपयोग भन्ने विषयमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमवीच मतभेद देखिएको छ । यही कार्यनीतिक मतभेदका कारण स्थानीय चुनावअघि दुई पार्टीवीच एकता नहुने भएको छ ।

यद्यपि दुबै पार्टीले एकता प्रक्रियालाई भने जारी राख्ने निर्णय गरेका छन् । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच बैशाख पहिलो साता नै एकता गर्ने तयारी थियो । तर, फोरम चुनाव बहिस्कार गरेर आन्दोलनको बाटोमा लागेपछि पार्टी एकता तत्कालका लागि लगभग टरेको नयाँशक्ति पार्टीका एक नेताले बताए ।

शुक्रबार मात्रै नयाँ शक्तिको केन्द्रीय कार्यसमिति बैठकले स्थानीय तहको चुनावमा सहभागी हुने र दलीय चुनाव चिन्हका लागि संघर्षमा लगाउने निर्णय गरेको छ ।

तर, फोरमसहितको संघीय गठवन्धन र मधेसी मोर्चाले भने संविधान संशोधन नभएसम्म स्थानीय तहको चुनावमा सहभागी नहुने निर्णय गरिसकेको छ । र, चुनाव विथोल्ने उद्देश्यसहित आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।

उपेन्द्र यादव चुनाव बहिस्कारको बाटोमा गएपछि नयाँ शक्तिमा चुनावअघि पार्टी एकता गर्न नहुने आवाज उठेको हो । ‘उहाँहरु चुनाव कि आन्दोलन भन्नेमा अझै अस्पष्ट हुनुहुन्छ, यस्तो अवस्थामा एकता गर्नु हुँदैन भन्ने हाम्रा धेरै नेताहरुको सुझाव आयो’ नयाँ शक्तिका एक नेताले अनलाइनखबरसँग भने ।

नयाँशक्ति निकट स्रोतका अनुसार अब स्थानीय तहको चुनावअघि एकता लगभग टरेको छ । उपेन्द्र यादव चुनावमा भाग लिने अवस्था आएमा भने एकताको समय नजिकिन सक्छ ।

एकता संयोजन समिति गठन

चुनाव अगाडि एकताको सम्भावना टरे पनि शुक्रबार ‘पार्टी एकता संयोजन समिति’ गठन गरिएको छ । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै पार्टी एकता संयोजन समिति गठनको घोषणा गरेका हुन् ।

समितिमा दुबै पार्टीका प्रमुख डा. भट्टराई र यादवसँगै संघीय समाजवादी फोरमका संसदीय दलका नेता अशोक राई छन् । यस समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउने सहमति भएको छ, वक्तव्यमा भनिएको छ ।

मधेसी मोर्चामा आवद्ध ६ वटा पार्टीहरु एकीकृत भएपछि फोरमका अध्यक्ष उपेन्द्र यादव चर्को दबावमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment