Comments Add Comment

दुई चरणमा चुनाव गर्न एमालेले राख्यो दुई शर्त, संशोधन बिधेयक असफल पार्ने निर्णय

११ वैशाख, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले मधेसी मोर्चा चुनावमा आउने ग्यारेन्टी र बजेटअघि नै दोस्रो चरणको चुनाव गराउने अवस्थामा मात्र दुई चरणको चुनाव गर्न सकिने बताएको छ ।

साथै संविधान संशोधन विधेयक ल्याए संसदको प्रक्रिया अवरुद्ध नगर्ने तर, बिधेयक असफल पार्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार बसेको एमाले स्थायी कमिटीको बैठकले मधेसी मोर्चालाई देखाएर सरकार चुनाव नगराउने षडयन्त्रमा लागेको आरोप लगाएको छ ।

बैठकपछि एमाले सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईले भने, ‘मधेसी मोर्चाले दोस्रो चरणमा पनि चुनावमा भाग लिने ग्यारेन्टी गरेको छैन । उनीहरुले संविधान संशोधन गरेमात्र चुनावमा आउने भनेका छन् । अनेक बहाना बनाएर चुनाव टार्ने खेल शुरु भएको, चुनाव वैशाख ३१ मै हुनुपर्छ ।’

मधेसी मोर्चा चुनावमा भाग लिने ग्यारेन्टी र बजेट अगाडि दोस्रो चरणको चुनाव गर्ने भए लचिलो हुने एमालेको निर्णय छ । एमाले सचिव भट्टराईले भने- बजेट अगाडि नै दोस्रो चरणको चुनाव हुने र बाँकी दलहरुले पनि भाग लिने वातावरण बनाउने ग्यारेन्टी सहित सरकार छलफल गर्न आउछ भने एमाले छलफलका लागि तयार छ । तर एक महिनाको ग्याप राख्नु हुँदैन ।’

सरकारले जेठ ३१ गते दोस्रो चरणको चुनाव गर्ने घोषणा गरिसकेको छ भने जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ ।
एमालेले भने जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान संशोधन गर्नेबारे भने एमालेले मौनता साँधेको छ । सरकारले कुनै प्रस्ताव नै नल्याएको अवस्थामा त्यसबारे कुरा गर्नुपर्ने अवस्था नरहेको संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए ।

संविधान संशोधन असफल पार्ने

सरकारले संविधान संशोधन बिधेयक संसदमा टेबल गर्नुअघि नै एमालेले त्यसलाई असफल पार्ने निर्णय गरेको छ ।

स्थानीय तह र जनप्रतिनिधिका अधिकार खोस्ने गरी ल्याइएको बिधेयक सम्पूर्ण शक्ति लगाएर असफल पार्ने निर्णय बैठकले गरेको हो । तर, उसले संसदको प्रक्रियामा भने अवरोध गर्ने छैन ।

‘संविधान संशोधनको कुरा जनु तर्कका साथ गरिएको छ, कुनै एक-दुई राजनीतिक दलको र एक दुईजना नेताको सत्ता लेनदेनमा सिंगो मुलुक र संविधानलाई लाई बर्बाद गर्न पाइँदैन’ प्रचार बिभाग प्रमुख भट्टराईले भने, ‘हामी यस्ता प्रस्ताव अघि नबढाउन सरकारको ध्यानाकर्षण गर्छौं । यदि यस्तो प्रस्ताव संसदमा आएमा सम्पूर्ण ताकत लगाएर असफल पाछौंं ।’

सरकार परिवर्तनमा पनि प्रश्न

एमालेले पहिलो चरणको चुनाव गर्ने बित्तिकै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएर कांग्रेस सभापति शेरवहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने सहमतिमा समेत प्रश्न उठाएको छ ।

बैठकमा जेठ पहिलो सातामै प्रचण्डले सत्ता हस्तान्तरण गर्ने निर्णयको बारेमा छलफल भएको थियो । स्रोतका अनुसार जेठ १५ गते बजे आउने र त्यसअघि सरकार परिवर्तन गर्ने अनि दोस्रो चरणको चुनाव गर्ने कुरा प्रक्रिया संगत नरहेको एमालेको ठम्याई छ ।

‘निर्वाचन आचारसंहिताले खरदार सुब्बा सरुवा गर्न नपाइने भनेको छ । तर चुनावको मुखमा देशको प्रधानमन्त्री र मन्त्रीहरु नै फेर्न कुराले के सन्देश जान्छ ?’ एक एमाले नेताले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment