Comments Add Comment

गोरखालीको चुनावी नाराः वाटर फाउन्टेनदेखि खेतीपातीसम्म !

बाबुराम भट्टराईको प्रतिष्ठासँग जोडिएको जिल्ला

१७ बैशाख, गोरखा । शाहवंशीय राजतन्त्रको उद्गमथलो एवं देशका तीन प्रधानमन्त्री जन्माउने गोरखा जिल्लामा चुनावी गर्मी बढ्दै जाँदा दलहरुले आफ्ना एजेण्डा पनि जनताबीच सार्वजनिक गर्न थालेका छन् । गोरखा त्यो जिल्ला हो, जहाँ जन्मिएका भीमसेन थापा, कृष्णप्रसाद भट्टराई र डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनिसकेका छन् ।

दुईवटा नगरपालिका र ९ गाउँपालिका रहेको गोरखामा निर्वाचनका लागि गोरखामा १६ दल दर्ता भएका छन् ।

संविधानसभा चुनावमा तीनै सीट माओवादीले जितेको गोरखामा स्थानीय चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र  र नयाँ शक्तिबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा गोरखाका क्रियाशील राजनीतिक दलहरुले गाउँगाउँमा बिकासको लहर ल्याउने एजेण्डा अघि सारेका छन् । उनीहरु प्रायःको साझा एजेण्डा सडक, खानेपानी, पर्यटनलगायतका विकासका नारा छन् ।

जनयुद्धको उदगम स्थलदेखि नयाँ शक्तिको प्रतिष्ठासम्म

गोरखा माओवादी जनयुद्धको उद्मगस्थल मध्येको एक हो । ०६४ र ०७० का दुवै निर्वाचनमा माओवादीले तीनवटै सीट जितेको थियो । पहिलो संविधानसभा भन्दा दोस्रोमा पुग्दा मतान्तर खुम्चिएको माओवादीबाट बाबुराम भट्टराई बाहिरिएपछि गोरखामा नयाँ शक्ति पनि बलियो प्रतिस्पर्धीका रुपमा देखिएको छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रतिष्ठासँग जोडिएको गोरखामा माओवादी केन्द्रबाट पनि नारयणकाजी श्रेष्ठ र हितराज पाण्डे जस्ता नेताहरु क्रियाशील छन् ।

गोरखामा अहिलेसम्मको अवस्था हेर्दा माओवादी पहिलो, कांग्रेस  दोस्रो र एमाले तेस्रो स्थानमा छन् । तर, नयाँ शक्ति पहिलो पटक चुनावमा जाँदै गरेकाले उसले माओवादीलाई कति क्षति पुर्‍याउँछ भन्ने आँकलन गर्न सकिएको छैन । यहाँ राप्रपा पनि चौथो शक्तिका रुपमा रहेको छ ।

नयाँ शक्तिले माओवादीसँग कुनै हालतमा तालमेल नगर्ने भनिसकेको छ । गोरखामा एमाले र नयाँ शक्तिबीच तालमेलको सम्भावना देखिए पनि अहिलेसम्म दुवै दलले औपचारिक छलफल बढाएका छैनन् । राप्रपाले पनि एमालेसँग तालमेलको हात बढाएको छ ।

उमेदवार छान्न दलहरुलाई हम्मेहम्मे

स्थानीय तह निर्वाचनमा उमेदवार छान्नका लागि गोरखाका दलहरुलाइ हम्मेहम्मे परेको छ । आकांक्षी धेरै भएपछि उमेदवार छान्न धौधौ परेको हो ।

नेपाली कांग्रेसका तर्फबाट गोरखा नगरपालिकाको मेयरमा ४ जनाले आकांक्षा देखाएका छन् । गोरखाको मेयरका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधि राजनराज पन्त, क्षेत्र नम्वर १ का सभापति धिरन थापा, महाधिवेशन प्रतिनिधि भूगोल थापा र पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले आकांक्षा देखाएका छन् ।

नेकपा एमालेमा पूर्वजिल्ला उपाध्यक्ष विश्वेश्वर कट्टेल, सम्झना देवकोटा र यादव बस्नेत आकांक्षी रहेका छन् । माओवादी केन्द्रले  कृष्ण रानाकाे नाम टुङ्गाे लगाइसकेकाे छ ।  नयाँशक्तिबाट भने पूर्वसांसद ज्ञानेन्द्र कुमालको नाम पक्कापक्की जस्तै छ ।

राप्रपाबाट मेयरका लागि जिल्ला अध्यक्ष रुद्रराज पाण्डे र सरोज कुवँरको नाम चर्चामा छ ।

पालुङटार नगरपालिका

पालुङटार नगरपालिकामा मेयरका लागि नेपाली कांग्रेसका तर्फबाट दीपक कँडेल, नारायण गुरुङ, देवराज पाण्डे र गेहेन्द्र बिष्टको नाम अंग्रपक्तिमा छ । एमालेबाट जुद्धविलास भण्डारी, ओम बराकोटी र प्रकाश न्यौपानेको नाम चर्चामा छ ।

माओवादी केन्द्रबाट विवश चिन्तनको नाम पक्का भएको छ । नयाँ शक्तिबाट हरिशरण आचार्य, लक्ष्मी देवकोटा र उमाकान्त देवकोटा दाबेदार देखिन्छन् । नयाँ शक्तिले सबै उमेदवारको टुङ्गो लगाएको बताएको छ ।
राप्रपाबाट उमानिधि पाण्डे, शुशील पन्त र राजन देवकोटा आकांक्षी छन् ।

के छन् चुनावी एजेण्डा ?

अनलाइनखबरले कांग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपाने, एमालेका उपाध्यक्ष यादव बस्नेत, माओवादी केन्द्रका नेता लेखवहादुर थापा, राप्रपाका सुदिप ढकाल र नयाँ शक्तिका ज्ञानेन्द्र कुमालसँग जिल्लाका चुनावी एजेण्डाबारे कुरा गर्दा उनीहरुले यस्तो प्रतिक्रिया दिएः

सडकको अवस्था सुधार गर्छौं
नन्दप्रसाद न्यौपाने, जिल्ला सचिव, नेपाली कांग्रेस 

नेपाली कांग्रेसले जिल्लाको दीर्घकालिन र अल्पकालीन योजनालाई आफ्नो एजेण्डा बनाएको छ । भौतिक पाटो र व्यक्तिको जिवनलाइ सम्पन्न बनाउन लागि पर्नेछाैं। अहिले भएका भौतिक संरचनाहरु दिगो छैनन्, हिउँदमा बाटो खन्छौं, वर्षमा गाडी चल्दैन, यसलाई अब नेपाली काग्रेसले सुधार गर्छ ।

बेरोजगारीको समस्या हल गरी रोजगारमूलक तालिम सञ्चालन गर्ने र पर्यटन क्षेत्रको विकास सँगै आर्थिक समृद्धिमा लागिपर्ने हाम्रो एजेण्डा छ ।

संसारकै उत्कृष्ट वाटर फाउन्टेन बनाउछौं
यादव बस्नेत, जिल्ला उपाध्यक्ष, एमाले

कृषिप्रधान देश भएकाले हामी गोरखाको कृषि क्षेत्रको विकासमा जोड दिन्छौं । सिंचाइ क्षेत्रको बिकाससँगै कृषिमा आत्मनिर्भर बनाउन हामीले जितेमा लागि पर्नेछौं ।

पर्यटन प्रवर्द्धनका लागि सदरमुकाममा रहेको रानीपोखरीमा संसारकै उत्कृष्ट ‘वाटर फाउण्टेन’ र अत्याधुनिक खेल रंगशाला बनाउँछांै । नगरपालिकाको सडकलाई तीन वर्षभित्र पीच गर्छाै र शाखा कच्ची सडकलाई १२ महिना चल्ने गरी मर्मत गर्ने हाम्रो एजेण्डा छ । खैरेनीदेखि ताप्ले हुँदै निवेल सडक खण्डमा सोलार बत्ती जडान गर्छाैं ।

एक टोल, एक कच्ची सडक निर्माण गर्छाै

लेखबहादुर थापा, जिल्ला संयोजक, माओवादी केन्द्र

सुकुम्वासीलाई जग्गा प्रदान गरेर उनीहरुको समस्या हल गर्छाै निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्छौ । खानेपानी समस्या हल गर्न एक घर एक धारा अभियानलाई जोड दिन्छौं ।

सिंचाइ सेवा उपलब्ध गराएर कृषि क्षेत्रको विकास गछौर्छाैं । प्रत्येक गाउँपालिका र नगरपालिकामा एकवडा एक गुणस्तरीय सडक निर्माण गर्छाैं, एक टोल एक कच्ची सडक निर्माण गर्छौं ।

गाउँगाउँमा फ्री वाइफाइ सेवा उपलब्ध गराउँछौं । सामाजिक सुरक्षा भत्तामा बृद्धि गरी मासिक ५ हजार बनाउँछौ । बेरोजगारी समस्या हल गर्न एक गाउँपालिका एक उद्योग निर्माण गर्छौं ।

पर्यटन र कृषिको विकासमा जोड दिन्छौं
ज्ञानेन्द कुमाल, केन्द्रीय  सदस्य, नयाँ शक्ति पार्टी

देशमा सुशासन र समृद्धि आवश्यक छ । हामी गोरखा जिल्लामा पनि यसका लागि काम गर्छाैं ।
गोरखा जिल्लामा हामी पर्यटन र कृषि पूर्वाधारको विकासमा लागि पर्छाैं ।

हाम्रो जिल्ला पर्यटनको प्रशस्त सम्भावना रहेको जिल्ला भएकाले यहाँको पर्यटन प्रवर्द्धनमा विशेष जोड दिइने छ ।

त्यसैगरी कृषि क्षेत्रको आधुनिकीकरण गरिने छ र व्यवसायिकरुपमा कृषि क्षेत्रको विकास मा हामी लागि पर्नेछौं ।

हिन्दूत्व र आर्थिक विकास मुख्य एजेण्डा
सुदिप ढकाल, जिल्ला सचिव, राप्रपा

हामीले हिन्दुराष्ट्रको मुद्दालाई अघि सारेका छौं । हिन्दुत्व र आर्थिक बिकासमा लागि पर्ने छौं । आर्थिक समृद्धिका लागि लक्षित क्षेत्रको विकास, युवा स्वरोजगार जस्ता कार्यक्रमलाई अघि सार्छाैं । पर्यटन क्षेत्रको विकासमा पनि टेवा पुर्‍याउनेछाैं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment