Comments Add Comment

दोलखामा कांग्रेस र माओवादी केन्द्रवीच चुनावी तालमेल

एमाले मुक्त जिल्ला बनाउने घोषणा

१८ बैशाख, काठमाडौ । दोलखामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच स्थानीय तहको निर्वाचनका लागि चुनावी तालमेलको घोषणा भएको छ ।

दुई दलले स्थानीय तहको प्रमुख/उपप्रमुख देखि वडा सदस्यसम्म भागबण्डा गरेर तालमेलको घोषणा गरेका हुन् ।

९ वटा स्थानीय तहमध्ये ७ तहको प्रमुख र उपप्रमुखको भागवण्डा टुंग्याएको दुवै दलले बताएका छन् ।

बाँकी दुई स्थानीय तहमा छलफल भइरहेको नेपाली कांग्रेसका जिल्ला सभापति रुद्रबहादुर खड्काले जानकारी दिए । उनले भने,’जसरी पनि दुई दल मिलेर एमाले हराउन पनि हाम्रो एकता हो ।’

माओवादी केन्द्रका नेता विशाल खड्काले पनि चुनावी तालमेलको घोषणा भएको बताए ।

विकासमा पनि साझा एजेण्डा

कांग्रेस र माओवादी केन्द्रले चुनावी एजेण्डासमेत साझा बनाउने घोषणा गरेका छन् । उनीहरुले २ बर्षभित्र दोलखामा कम्तिमा एक घर एक रोजगारको व्यवस्था गरिसक्ने घोषणा गरेका छन् । र ५ बर्षमा बेरोजगार मुक्त जिल्ला घोषणा गर्ने साझा प्रतिवद्धता जनाएका छन् ।

माओवादी केन्द्रका जिल्ला नेता विशाल खड्काले भने, ‘दोलखा जिल्लाको विकासका लागि प्राकृतिक स्रोत साधनको प्रयोग गरी उद्योग धन्दाको विकास र पर्यटन विकासमा जोड दिने घोषणा गरेका छौँ ।’ यस्तै उनले जिल्लालाई एमाले मुक्त जिल्ला बनाउने समेत घोषणा गरेका छन् ।

माओवादी केन्द्रका नेता खड्काले भने,’बहुदल आएपछि स्थानीय तहमा लगातार एमालेले जितिरहेको छ । तर, यो विचमा गाउँमा के विकास भयो ? त्यही भएर पनि अब एमाले मुक्त जिल्ला बनाएर दोलखाको विकास गर्ने घोषणा गरेका हौँ ।’

दुई पार्टीवीच ५०-५० को भागबण्डा

दुई पार्टीले जिल्लाको स्थानीय तहमा ५० प्रतिशतका दरले भागबण्डा गरेका छन् । प्रमुख र उपप्रमुख तथा वडा अध्यक्ष सहित यस्तो समझदारी भएको हो ।

उनीहरुले जुन स्थानीय तहमा जुन पार्टी बलियो छ, उसैको नेतृत्वमा स्थानीय तह प्रमुखको उम्मेदवार बनाएको घोषणा गरेको छ । यस्तै हरेक स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै पार्टीको बनाएका छन् ।

यस्तै स्थानीय तहको प्रमुख पाउने दललाई त्यस स्थानीय तह अन्र्तगतको वडा अध्यक्षमा संख्या घटाएको छ । जिल्लाभरी जम्मा ७५ वटा वडा रहेका छन् ।

अहिलेसम्म माओवादी केन्द्रको भागमा शैलुङश्वर गाउँपालिका, गौरीशंकर गाउँपालिका र कालिञ्चोक गाउँपालिका परेको छ । यी तीन स्थानीय तहमा माओवादी केन्द्रले गाउँपालिका प्रमुख पाएको छ ।

कांग्रेसले चरिकोट नगरपालिका, दिगु गाउँपालिका, मेलुङ गाउँपालिका र तामाकोशी गाउँपालिकाको प्रमुख पाएको छ । दुई स्थानीय तहको नेतृत्व भने टुंग्याउन बाँकी रहेको जनाएको छ ।

एमाले भन्छ, एक्लै जित्छौँ

कांग्रेस माओवादी केन्द्रले चुनावी तालमेलको घोषणा गरेपनि एमालेले भने जिल्लाभरी एकलौटी जित्ने घोषणा गरेको छ । एमालेले सबै स्थानीय तहमा उम्मेदवार सार्वजनिक गरिसकेको छ । एमाले जिल्ला कमीटी अध्यक्ष इश्वर पोखरेलले भने, ‘कांग्रेस माओवादी केन्द्र मिलेर चुनाव लड्दा हामीलाई फाइदा छ । तालमेल नरुचाउने दुवै दलका कार्यकर्ताले हामीलाई भोट हाल्ने हाम्रो विस्वास छ ।’

विकासे एजेण्डा हरेक वडामा पक्की सडक

एमालेले दोलखालाई बिशेष जिल्ला बनाउने घोषणा गरेको छ । शिक्षा स्वास्थ्य, खानेपानी सिंचाइ जस्त्ा पूर्वाधार विकासका ५ बर्षीय र दश बर्षीय योजना बनाएर त्यसका आधारमा विकास निर्माणको काम गर्ने एमालेको घोषणा छ । यस्तै एमालेले एक स्थानीय तहमा एक प्राविधिक विद्यालय स्थापना गर्ने प्रतिवद्धता जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment