Comments Add Comment

जन्मदिनमा कवि नेपालका दुई सन्तानको चर्चा

१८ बैशाख, काठमाडौं । ४५औं जन्मोत्सव मनाउने तयारी भइरहँदा सोमबार कवि एवं समालोचक डा. देवी नेपाल निकै उत्साहित देखिन्थे । जन्मोत्सवमा खुसी बाँड्न लेखक र साहित्यप्रेमीहरु गुरुम्म भेला भएका थिए । सबै जना उनलाई जन्मदिनको शुभकामना दिइरहेका थिए र मीठो परिकारको चर्चा गर्न व्यग्र भइरहेका थिए ।

तर, त्यहाँ पश्चिमा संस्कृतिले पस्किदिएको केक थिएन, न त थिए मैनबत्तीहरु । बरु जन्मदिनको उल्लासमा रङ थप्न कवि नेपाललाई सन्तान जस्तै दुई कृतिले पर्खिरहेका थिए । सन्दर्भ थियो छन्दोबद्ध कविताहरुको सीडी र छन्दबारे ज्ञान दिने पुस्तकबारे परिचर्चा कार्यक्रमको ।

करिब चार सय छन्दको विशेषता र उदाहरण समेटिएको ‘छन्द-पराग’ र अडियो सीडी ‘छन्द-तरङ्ग’ बारे प्रा.डा. महादेव अवस्थी र प्रा. हेमचन्द्र नेपालले टिप्पणी गरेका थिए । वक्ताहरूले डा. नेपालले प्रचलित र अप्रचलित छन्दहरुबारे निकै मिहिनेतपूर्वक पुस्तक लेखेर छन्द कविताको विस्तारमा टेवा पुर्‍याएको बताए ।

पहिलो पटक ०६२ सालमा प्रकाशित ‘छन्द-पराग’ लाई परिमार्जित गरी गत वर्ष ऐरावती प्रकाशनबाट दोस्रो संस्करण प्रकाशन भएको थियो । पुस्तकमा वार्णिक, मात्रिक, लोक, मुक्त, बहर र अंग्रेजी कविताको लयविधान गरी तीन सय ८० वटा छन्दको लक्षण र उदाहरण दिँदै लेखनसीप पनि सिकाइएको छ । यो दोस्रो संस्करण अझै परिपक्व रहेको वक्ताहरुले बताए ।

कार्यक्रममा समालोचक डा. रामप्रसाद ज्ञवाली र साहित्यकार दाहाल यज्ञनिधिले कवि नेपालको व्यक्तित्व र कृतित्वबारे बोलेका थिए ।

वक्ताहरुले ‘छन्द-तरङ्ग’ मा रहेका कविताहरु श्रुतिमधुर र विविध स्वादमा रहेको टिप्पणी गरे । सीडीमा विभिन्न १७ वटा छन्दमा रचिएका २१ कविता संकलित छन् । कवि स्वयंको आवाजमा रहेका कविताहरूमा अशोक राईले संगीत भरेका छन् ।

लेखनकला र गला दुवैका धनी डा. नेपालका साहित्यिक कृति र समालोचनाका कृतिहरु प्रकाशित छन् । प्राध्यापनमा संलग्न उनका विद्यालयदेखि विश्वविद्यालयसम्मका विभिन्न तहका पाठ्यपुस्तक पनि प्रकाशित छन् ।

कार्यक्रम नेपाली गजलको विकासमा क्रियाशील संस्थाहरू अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च तथा छन्द अलङ्कार अनलाइन टेलिभिजनको आयोजनामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment