Comments Add Comment

वायुसेवा निगमले माग्यो भाडाको जहाज


१८ वैशाख काठमाडौं । सञ्चालनमा रहेको एक मात्र बोइङ मर्मतमा लैजानुपर्ने भएपछि नेपाल वायुसेवा निगमले दुई महिनाका लागि भाडामा जहाज खोजिरहेको छ । यसका लागि टेन्डर खोलिसकिएको छ ।

एक महिनासम्म बोइङ मर्मतमा रहँदा नियमित उडानहरु प्रभावित हुने भएकाले निगमले भाडामा जहाज खोजेको हो । निगमले अहिले ए ३२० -२०० एयरबस भाडामा लिन चाहेको छ ।

यसै साता निस्केको टेन्डरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एजेन्ट र जहाज कम्पनीले आबेदन दिन सक्छन् । यही बैशाख २५ गतेसम्म म्याद रहेको टेन्डरमा अहिलेसम्म कसैको पनि आवेदन परेको छैन ।

निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठ भन्छन्, ‘बोइङ मर्मतमा जान लागेकाले सिट संख्या कम होला भनेर ४५ दिनदेखि २ महिनासम्मको लागि भाडामा जहाज ल्याउन खोजेका हौं ।’

भाडामा लिएको जहाजलाई निगमले क्वालालाम्पुर, दोहा, दिल्ली र बैंगलोरमा उडान गराउने छ । यसबाहेक अन्य स्थानमा भने आवश्यक परेमा मात्रै उडान भराउने निगमको तयारी रहेको श्रेष्ठले बताए । उनका अनुसार भाडामा लिएको जहाजले आगामी साउन २ गतेदेखि उडान भर्नेछ ।

भाडामा लिने जहाज जुनसुकै रङको पनि हुनसक्नेछ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्ससँग अहिले जहाज थोरै छ । दुईवटा बोइङमध्ये एउटा पुरानो भएर लिलामीमा राखिएको छ भने अर्काे मर्मतको लागि एक महिनासम्म सिंगापुरको एसटी एरोस्पेस टेक्नोलोजीमा बस्नेछ ।

एयरबस पनि मर्मतमै

निगमका दुईवटा एयरबसमध्ये एउटा अहिले मर्मतको लागि सिंगापुरको एसटी एरोस्पेस टेक्नोलोजिमै छ । एक हप्ताअघि मर्मतको लागि गएको यो विमान भने छिट्टै नेपाल र्फकने तयारीमा छ । एयरबस सामान्य मर्मतको लागि मात्रै अर्थात सि चेकको लागि मात्रै गएको हो । तर बोइङ भने हेभी मर्मतको लागि जान लागेको छ ।

सन् २०१५ मा थपेका एयरबसका कारण अहिले निगमको बजारहिस्सा बढ्दै गएको छ । त्रिभुवन बिमानस्थलका अनुुसार सन् २०१५ को तुलनामा सन् २०१६ मा यसको उडानमा सुधार आएको छ ।

सन् २०१५ मा त्रिभुवन विमानस्थलबाट सबैभन्दा बढी उडान भर्नेमा तेस्रो नम्बरमा रहेकोमा गत वर्ष पहिलो स्थानमा उक्लेको छ ।

बिमान बढेसँगै फ्लाइट क्यान्सिल कम भएका छन् जसका कारण यसमा यात्रुको आकर्षण बढेको छ । यही साखलाई कायम राख्नको लागि नै निमगले भाडामै जहाज ल्याएर भए पनि सेवा सुचारु गर्न लागेको हो ।

निगमले दुईवटा वाइडबडी एयरबस पनि खरिद गर्न लागेको छ । जुन सन् २०१८ को मे सम्ममा ल्याउने निगमको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment