Comments Add Comment

चौरजहारीमा २२६ उम्मेदवार, महिलाको संख्या ९१

२० बैशाख, चौरजहारी । रुकुमको चौरजहारी नगरपालिकाको चुनावका लागि २२६ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यसमा ९१ जना महिला उम्मेदवार छन् ।

निर्वाचन अधिकृत परमानन्द घिमिरेका अनुसार १३५ पुरुष र ९१ महिला उम्मेदवार छन् । तर, मेयर पदमा उम्मेदवारी दिनेहरु सबै पुरुष छन् ।

रुकुमको चौरजहारीमा पाँच राजनीतिक दल चुनावी प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र नयाँ शक्तिले उम्मेददवारी दर्ता गराएका छन् । चारजना स्वतन्त्र उम्मेदवारहरुसमेत छन् ।

कांग्रेसबाट मेयर पदमा बलबिर गोसाईं र उपमेयरमा मनिसा भण्डारी, एमालेबाट मेयरमा शेरबहादुर केसी र उपमेयरमा कल्याणी खड्का तथा माओवादी केन्द्रबाट मेयरमा बिशाल शर्मा र उपमेयरमा राधा रोकाले उम्मेदवारी दिएका छन् ।

यसैगरी राप्रपाबाट मेयरमा मुकुन्द शाह र उपमेयरमा शोभा पोखरेल तथा नयाँ शक्तिबाट मेयरमा बालकृष्ण भाट र सम्झना खत्री पनि चुनावी प्रतिस्पर्धामा छन् ।

मेयर र उपमेयर पदमा स्वतन्त्र उम्मेदवारी परेको छैन । तर वडा अध्यक्षमा भने चारजना स्वतन्त्र उम्मेदवारहरु खडा भएका छन् । बलबहादुर थापाले वडानम्बर १ मा, मतिराम खड्काले वडानम्बर ५ मा, गगनबहादुर कार्कीले वडानम्बर ८ मा र खुमबहादुर रानाले वडानम्बर १० मा उम्मेदवारी दिएको चौरजहारी नगरपालिकाका निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

माओवादीले सबै ७२ वटै पदमा उम्मेदवारी दिएको छ । कांग्रेसले ७१ र एमालेले ६८ पदमा उम्मेदवारी दिएका छन् । राप्रपाका जम्मा चारजना उम्मेदवार छन् । नयाँ शक्तिका ७ जना उम्मेदवार चौरजहारी नगरपालिकाको चुनावको प्रतिस्पर्धामा छन् ।

रुकुमको कुल मतदातासंख्या १ लाख १ हजार ९३२ छ । साविकको चौरजहारी, खोलागाउँ, पुर्तिमकाँडा र नुवाकोट गाविस मिलेर बनेको चौरजहारी नगरपालिकामाको कुल जनसंख्या २७ हजार ४३८ छ । मतदाता भने १४ हजार ९१९ जना छन् । १४ वटा मतदानस्थल र २१ वटा मतदान केन्द्र तोकिएको छ । रुकुमको कुल मतदान केन्द्र भने १४५ वटा छन् ।

रुकुमको चौरजहारी नगरपालिका, मुसिकोट नगरपालिका, आठबिसकोट नगरपालिका, बाँफीकोट गाउँपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा बैशाख ३१ गते पहिलो चरणमा चुनाव हुँदैछ । यी स्थानीय तह क्षेत्रनम्बर ६ मा पर्दछन् ।

क्षेत्रनम्बर पाँचमा परेका सिस्ने, भुमे र पुथा उत्तरगंगा गाउँपालिकामा भने जेठ ३१ गते दोस्रो चरणको चुनाव हुनेछ । सिस्नेको मतदातासंख्या ८ हजार ३६८, भुमेको ८ हजार ५५५ र पुथाको ७ हजार ५५८ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment