Comments Add Comment

महाअभियोग फिर्ता नलिए अनसन थाल्ने डा. केसीको चेतावनी (भिडियोसहित)

पूर्वप्रधानन्यायाधीश भन्छन्- पाप धुरीबाट कराउँछ

२० बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग फिर्ताको माग गर्दै नागरिक समाजका अगुवाहरु सडकमा निस्किएका छन् ।

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ तथा डा. गोविन्द केसी लगायतको सहभागितामा बुधबार बसन्तपुरमा भएको सभामा सबैले महाअभियोगको गलत प्रयोग भएको बताए ।

त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले ठूलो ग्राण्ड डिजाइनमा प्रधानन्यायाधीशविरूद्ध महाअभियोग आएको बताए । प्रजातन्त्र आएको २७ वर्ष भएपछि दलहरुमा दलीयतन्त्र मात्र संस्थागत भएको भन्दै उनले मुलुकमा देउवातन्त्र, प्रचण्डतन्त्र र केही हदसम्म ओलीतन्त्र रहेको टिप्पणी गरे ।

डा. गोविन्द केसी

कार्यकाल एक महिना केही दिन मात्र बाँकी रहँदा महाअभियोग लगाएर कलंकको टीका लगाउने प्रयास भएको भन्दै उनले फिर्ता लिन माग गरे । चेतावनीपूर्ण भाषामा उनले भने, ‘म दिन नै त तोक्दिँन तर तुरुन्त उहाँको ससम्मान पुनरबहाली भएन भने सत्याग्रह (अनसन)सहितको आन्दोलन सुरु गर्छु ।’

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले देशमा बचेका केही संस्थामध्ये न्यायालयलाई ढाल्ने प्रयास भएको बताए ।

महाअभियोगविरुद्ध उत्रन आहृवान गर्दै उनले भने, ‘यदि तपाईहरुले विवेक धर्म छाड्नु भो भने पाप धुरीबाट कराउँछ । आज हामीलाई खाने बाघले भोलि तपाईलाई खान्छ ।’

कल्याण श्रेष्ठ

मानवअधिकारकर्मी कृष्ण पहाडीले दलहरुले महाअभियोगको दुरुपयोग गरेको बताए ।

फिर्ता नलिए प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले श्रापित जीवन बिताउने पर्ने भन्दै पहाडीले भने, ‘अहिले त देउवा र प्रचण्ड दंग होलान् तर, फिर्ता लिनु भएन भने जनतालाई तपाईहरुलाई महाअभियोग लगाउँछन् ।’

कृष्ण पहाडी

\

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment