Comments Add Comment

हरिवंशले लेखे उपन्यास ‘हरिबहादुर’, शनिबार सार्वजनिक हुने

२० बैशाख, काठमाडौं । लोकप्रिय हास्यकलाकार हरिवंश आचार्य अब उपन्यासकारका रुपमा दरिने भएका छन् । ०७० सालमा ‘चिना हराएको मान्छे’ आत्मकथाबाट लेखक अवतारमा देखिएका आचार्यले यस पटक उपन्यास ‘हरिबहादुर’ लेखेका हुन् ।

मह जोडीमध्येका अर्का हास्यकलाकार मदनकृष्ण श्रेष्ठले आउँदो शनिबार तीन बजे प्रज्ञा भवनको डबलीमा उपन्यासको लोकार्पण गर्नेछन् ।

धेरै जनाले उपन्यास लेख्न घचघच्याएपछि आफू उपन्यास लेख्न तम्सिएको हरिवंशले बताएका छन् । ‘यसअघि आत्मकथाको पुस्तक लेख्दा आफ्नै जिन्दगीको भोगाइ उतार्न त्यति सोच्नु नपरे पनि उपन्यास लेख्छु भनेर लागेपछि मैले धेरै सोच्नुपर्‍यो’, उपन्यास लेखन प्रक्रियाबारे उनले भने, ‘अन्ततः मैले मदनबहादुर हरिबहादुर टेलिशृङ्खलाको पात्र हरिबहादुरलाई असफलता र मूर्खताको प्रतीक बनाएर उपन्यास लेख्ने निर्णय गरेँ ।’

साहित्यकार रवीन्द्र समीरले उपन्यासमा मुख्य पात्र हरिबहादुरको बाल्यकाल, पारिवारिक एवम् सामाजिक जीवनको आरोह-अवरोह पढ्न पाइने बताए । उपन्यासको पाण्डुलिपि पढेका उनले थपे, ‘तत्कालीन राजनीतिले हरिबहादुरलाई कसरी प्रयोग गर्‍यो तथा हरिबहादुरले द्वन्दकालीन राजनीतिलाई कसरी प्रयोग गर्‍यो भन्ने परिवेशमा उपन्यास केन्द्रित छ ।’

स्थानीय निर्वाचनको मुखमा सार्वजनिक हुन लागेको उपन्यासले अक्षम, अयोग्य व्यक्तिहरु कसरी जालझेल गरी चुनाव जितेर सत्तामा पुग्छन् भन्ने कुराको सटीक चित्रण गरेको छ । उपन्यासको मुख्य पात्र हरिबहादुर काइते, आवारा, थेत्तरो, स्वाँठ प्रवृत्तिको प्रतिनिधि बनेर देखिएको छ र उसको क्रियाकलाप व्यक्तिगत भईकन पनि सामाजिक–राजनीतिक जस्ता लाग्छन् । आफूलाई संसारको सबैभन्दा बाठो ठान्ने हरिबहादुर हरेक पाइलामा बल्ड्याङ खान पुग्छ ।

फाइनप्रिन्टले प्रकाशन गरेको उपन्यासको मूल्य ३९८ रुपैयाँ राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment