Comments Add Comment

किशोर थापाको दाबीः काठमाडौंका मतदाता विवेकी छन्, एक लाख भोट ल्याएर जित्छु

'देशले मलाई धेरै दियो, मैले देशलाई धेरै दिन बाँकी छ'

२१ बैशाख, काठमाडौं । ३२ वर्ष लामो निजामति सेवाबाट निवृत्त भएपछि राजनीतिको स्वाद चाख्न चुनावमा आएका छन्- पूर्वसचिव किशोर थापा । र, राजनीतिमा आउनासाथ उनले चुनावी भिडन्तमा उत्रिनु परेको छ ।

स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिएका थापा यतिबेला चुनावी रंगमा रंगिइसकेका छन् । चुनावी अनुभव कस्तो हुँदैछ भन्ने अनलाइनखबरको प्रश्नमा थापाले जवाफ दिए, ‘निकै रमाइलो लागिरहेको छ, मनमा कुनै डर-चिन्ता नलिई चुनाव प्रचारमा भिडेको छु ।’

आफ्नो उम्मेदवारी घोषणालगत्तै चारैतिरबाट शुभेच्छा र सदभाव प्राप्त भएको भन्दै थापाले चुनाव जित्नेमा शतप्रतिशत विश्वस्त रहेको बताए । ‘सामाजिक सञ्जालमा, फोनमा र भेटेर समेत मलाई मतदाताहरुले समर्थन जनाइरहनुभएको छ, कुनै ठूलो उलटफेर भएन भने म निश्चित जित्नेछु,’ उनले भने ।

एक लाखभन्दा बढी भोट ल्याएर आफूले चुनाव जित्ने थापाले आँकलन गरेका छन् ।

तपाईंलाई भोट दिने मतदाता को हुन् भन्ने प्रश्नमा थापाले जवाफ दिए- ‘विगतमा पुराना र ठूला पार्टीलाई भोट हालेका मतदाता उनीहरुको कार्यशैलीबाट वाक्क भएका छन्, उनीहरुमध्ये अधिकांशको भोट मलाई आउँछ ।’

सुरुमा थापाको पृष्ठभूमि खोतलौं ।

पूर्वसचिव थापाको जन्म तत्कालीन चोभार गाउँ पञ्चायतमा भएको हो । त्यहाँ सिमेन्ट कारखाना स्थापना भएपछि उनको परिवार बल्खुमा सरेको थियो र अहिलेसम्म त्यहीँ छ ।

एसएलसीमा बोर्डफस्र्ट थापा सानैदेखि पढाइमा तेज थिए होलान् भन्ने धेरैले सोच्छन् । तर, त्यस्तो थिएन । खासगरी गणित र अंग्रेजीमा उनी निकै कमजोर थिए । यी दुई विषयको परीक्षामा सधैं पछि पर्थे । यही भएर उनी गणित र अंग्रेजीमा यति घोटिए कि अन्ततः अरुभन्दा यिनै दुई विषयमा अब्बल हुन पुगे । र, ०३१ सालको एसएलसी परीक्षामा किशोर बोर्ड फस्र्ट भए ।

एसएलसीपछि अरु बोर्डफस्र्टहरुले जस्तै उनले पनि साइन्स नै रोजे । आइएस्सीको पढाईपछि कोलकाता युनिभर्सिटीमा आर्किटेक्चर इञ्जिनियरिङ पढे । त्यसपछि दिल्लीको स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चरमा शहरी योजना विषयमा मास्टर्स गरे ।

किशोर एक सैनिक परिवारमा जन्मिएका हुन् । उनका पिता-पूर्खा र धेरै आफन्तहरु नेपाली सेनामा थिए । तर, उनलाई गड्याम्म बुट बजार्दै कवाज खेल्ने हुटहुटीले छोएन । ‘म अरुले भन्दा फरक गर्न चाहन्थेँ, त्यसैले निजामति सेवा रोजेँ,’ थापा अनलाइनखबरसँग भन्छन् ।

उनी ०३९ साल पुस २३ गते तत्कालीन हवाइ विभाग -अहिलेको नागरिक उड्ययन प्राधिकरण) बाट अस्थाई आर्किटेक्ट इञ्जिनियरका रुपमा सरकारी सेवामा प्रवेश गरे । त्यहाँ जागिर खान थालेको केही समयमै स्थायी भए । त्यसपछि लिखित परीक्षा दिँदै बढुवा हुँदै गए ।

निजामति सेवाको सहसचिवमा बढुवा हुँदा थापा केवल ३८ वर्षका थिए । त्यसपछि सचिवका रुपमा उनले तीनवटा मन्त्रालय -शिक्षा, पर्यटन र शहरी विकास) मा काम गरे । साथै दुईवटा आयोग -जल शक्ति आयोग र निर्वाचन आयोग) चलाए ।
पर्यटन मन्त्रालय अन्तरगतको हवाई विभागमा २० वर्षअगाडि अस्थायी इञ्जिनियरको जागिर खाएका उनी पछि सोही मन्त्रालयको सचिव बने । आफ्नो सेवा अवधिमा कुनै पनि भ्रष्टाचार प्रकरणमा नमुछिएका थापा स्वच्छ छविका साथ बाहिरिएका छन् । र, अहिले रविन्द्र मिश्रको साझा पार्टीमार्फत् राजनीतिमा आउने प्रयासमा छन् ।

थापाका श्रीमती र दुई छोराछोरी छन् । उनकी छोरी काठमाडौं विश्वविद्यालयमा साइन्स पढ्दैछिन् । छोरा पनि सोही विश्वविद्यालयबाट साइन्स पढेर मास्टर्स गर्न अष्ट्रियाको भियनामा गएका छन् । श्रीमती टेवा नाम गरेको गैरसरकारी संस्थामा काम गर्छिन् । थापा भन्छन्- ‘सानो परिवार आनन्दसँग बसेका छौं ।’

राजनीतिमा लाग्ने सोच कसरी आयो ?

निजामति सेवामा रहँदा कहिलेकाहीँ उनी मन्त्रीको व्यवहारबाट दिक्क बन्थे । कुनै स्पष्ट भिजन र निर्णय क्षमता नभएका मन्त्रीहरु उनले थुप्रै झेले । ‘त्यस्ता मन्त्रीहरु देख्दा मलाई भविष्यमा आफैं राजनीति गरौं झैं हुन्थ्यो,’ थापा भन्छन् ।

यो पनि पढ्नुस्ः विद्यासुन्दर शाक्यको महानगर सपनाः ३ वर्षमा मेट्रो, २ वर्षमै मोनो रेल

अवकाशपछि डेढ वर्ष उनी प्राध्यापनमा रहे । राजनीतिमा लाग्ने मधुरो इच्छा भए पनि सही पार्टी भेटिरहेका थिएनन् । उनी भन्छन्- ‘पुराना पार्टीहरुमा लाग्न एकरत्ति इच्छा थिएन, बैकल्पिक राजनीतिक शक्तिको खोजीमा थिएँ ।’

बाग्मती सफाइ अभियानमा संलग्न हुने क्रममा उनको रवीन्द्र मिश्रसँग भेट भयो । उनी पहिलेदेखि नै मिश्रका फ्यान थिए । बीबीसीमा उनको कार्यक्रम नियमित सुन्थे ।

मिश्र त्यतिबेला नयाँ राजनीतिक पार्टी खोल्ने योजनालाई मूर्तरुप दिने अन्तिम तयारीमा थिए । उनले आफ्नो अवधारणा थापालाई सुनाए । थापा त्यसबाट प्रभावित बने । ‘मैले चाहेको जस्तो पार्टीको अवधारणा उहाँले सुनाउनुभयो र म उहाँलाई साथ दिन तयार भएँ,’ थापाले भने ।

यसरी साझा पार्टीमा संलग्न भएको छोटो समयमै उनले चुनाव लड्नुपर्ने भयो । आसन्न स्थानीय चुनावमा पार्टीले उम्मेदवारी दिने भएपछि काठमाडौंको मेयर उम्मेदवारका लागि पार्टीभित्र थापाको नाम प्रस्ताव गरियो । केही दिन सोचविचार गरेपछि उनी चुनाव लड्न तयार भए ।

शहरवासीको अनुहारबाट मास्क निकाल्छु

निजामति सेवामा रहँदा थापा काठमाडौंको योजना तर्जुमा र विकास निर्माणमा धेरै वर्ष संलग्न रहे ।

०५१ सालदेखि ०५७ सालसम्म एशियाली विकास बैंकको सहयोगमा सञ्चालनमा आएको काठमाडौं शहरी विकास परियोजनाको पहिले सहायक प्रमुख त्यसपछि प्रमुख भएर काम गरे । त्यसक्रममा काठमाडौंका तत्कालिन मेयर केशव स्थापितसँग ६ वर्ष उनको सहकार्य भयो ।

‘सो परियोजनामा रहेर काठमाडौंका वडा-वडामा स्थानीयवासीसँग काम गरेको छु,’ थापा भन्छन्, ‘मैले अघि बढाएका काम अहिले पनि सञ्चालनमा छन् ।’

काठमाडौं महानगरका सम्भावना र समस्याहरुसँग परिचित रहेको तथा तत्कालीन वडाअध्यक्ष र सदस्यसँग मिलेर काम गरेकाले उनलाई मेयर हाँक्न सक्छु भन्ने आत्मविश्वास छ ।

थापा भन्छन्, ‘पाँच वर्षमा म यो शहर र शहरवासीको जीवनमा देखिने गरी परिवर्तन ल्याउनेछु ।’ कसरी ?

यसका निम्ति आफूले बनाएका योजना थापाले यसरी बुँदागतरुपमा सुनाएः

-धुवाँ र धुलोले गर्दा महानगरवासीले मुखमा मास्क नलगाइकन बाटो हिँड्नै नसक्ने अवस्था छ । शहरकै नकारात्मक बिम्ब बनेको छ मास्क । म मेयरमा निर्वाचित भएको एक वर्षभित्र महानगरवासीको अनुहारबाट मास्क हटाउनेछु ।

महानगरका सडकलाई नियमित सरसफाइ गरेर टिलिक्क पार्नेछु । विकास-निर्माणका कामहरुलाई अलि व्यवस्थित बनाएर धुलो धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । पाँच वर्षभित्रमा महानगरका सम्पूर्ण मुख्य र शाखा सडकहरु पीच गराउनेछु । फुटपाथलाई व्यवस्थित बनाउनेछु । सम्भव भएसम्मका स्थानमा साइकल ट्रयाक बनाउन लगाउनेछु ।

-तीन वर्षभित्र महानगरका सार्वजनिक यातायातलाई व्यवस्थित र सम्मानजनक बनाउनेछु । बस वा टेम्पो चढ्दा कोही पनि महानगरवासीले हीनतावोध महसुस गर्नु नपर्ने अवस्था आउनेछ । ठूला सडकमा ठूला बसहरु चल्नेछन् । ती दुई किसिमका हुन्छन् । एउटा हरेक स्टपमा रोकिने र ननस्टप अर्थात् र्‍यापिड ट्रान्जिट । र्‍यापिड ट्रान्जिट बसले छिटो गन्तव्यमा पुग्नुपर्ने यात्रुहरुलाई सुविधा प्रदान गर्नेछ ।
सहायक सडकहरुमा माइक्रोबस र टेम्पोहरु कुद्नेछन् । म आफैं बेलाबखत सार्वजनिक यातायात चढ्छु र यसका असुविधा र झण्झटहरुका विषयमा राम्ररी परिचित छु । त्यसैले यसलाई कसरी सुधार गर्नुपर्छ भन्ने मलाई थाहा छ ।

-काठमाडौं महानगरमा खुल्ला ठाउँको अभाव छ । यो कुरा हामीले भूकम्पका बेला महसुुस गर्‍यौं । भूकम्प, आगलागी जस्ता घटनाहरुमा खुल्ला ठाउँको ठूलो महत्व हुन्छ ।
म पदमा रहेका बेलामा नाराययणचौर पार्क बनाइएको थियो । त्यही अनुभवलाई उपयोग गर्दै शहरका विभिन्न ठाउँहरुमा त्यस्ता खुल्ला पार्कहरु निर्माण गर्न लगाउनेछु । यी पार्कहरु अरु बेला घुमघाम र मनोरञ्जनका लागि प्रयोग हुन्छन् भने आपतका बेला आश्रय लिन काम आउँछन् ।

-शहरलाई उत्पादनशील बनाउन मेरो प्रयत्न रहनेछ । मेरो अध्ययनअनुसार काठमाडौंमा करिब ६० प्रतिशत बासिन्दा कुनै न कुनै काममा लागेका छन् । तर, बाँकी ४० प्रतिशत रोजगारविहीन छन् । शहरमा बस्ने दिदी-बहिनीहरु दिनको ४/५ घन्टा खाली हुने गरेको पाएको छु । बीए, एमए पढेका दिदीबहिनीहरुले पनि रोजगारीको अभावमा घरमै दिन बिताउने गरेका छन् । उनीहरुलाई उद्यमशीलताको तालिम दिएर रोजगारी सिर्जना गर्ने मेरो सोच छ । उनीहरुले घरमै बसेर प्याकेटिङको काम गर्नेदेखि अनलाइनका व्यवसायहरुसम्म गर्न सक्छन् । यसैगरी कलेज जाने युवा-विद्यार्थीहरुलाई पनि खाली समयमा आंशिक रोजगारी दिलाउनका लागि म तालिम कार्यक्रमहरु अघि सार्नेछु ।

-महानगरमा भवन निर्माणको मापदण्डलाई कडाइका साथ लागू गर्नेछु । पुराना, ऐतिहासिक भवनको वास्तुकला र सांस्कृतिक महत्वलाई कायम गर्नेमा विशेष ध्यान दिनेछु ।

मल्लकालीन ऐतिहासिक क्षेत्रहरुको देखिने र नदेखिने सम्पदा जोगाउन प्रयास हुनेछ । असन, इन्द्रचोक, क्षेत्रपाटी, हनुमानढोकाजस्ता मल्लकालीन क्षेत्रको संरक्षण र विकास गरेर पर्यटकीय गतिविधि बढाउन सकिन्छ । त्यहाँ अहिले पर्यटकलाई जान, घुमघाम गर्न कठिन छ । त्यसैले त्यहाँको बाटोघाटो, चोक, मन्दिरको मर्मत-सम्भार र जिर्णोद्दार गर्नु आवश्यक छ । दिनको निश्चित समयमा गाडी निषेध गरेर त्यो ठाउँलाई गुलजार बनाउन सक्छौं ।

यी पुराना क्षेत्रहरुमा पर्यटकीय गतिविधिबाट स्थानीयवासीको जीवनस्तर सुधार गर्न सकिन्छ । ५ वर्षभित्र ती ऐतिहासिक शहरहरु पर्यटकका साथसाथै शहरवासीहरुका लागि घुमफिर र सपिङका लागि केन्द्रविन्दू बन्नेछन् ।

-काठमाडौंमा मोनोरेल चलाउनु पनि मेरो प्राथमिकतामा पर्ने छ । यसका लागि सम्भाव्यता अध्ययन भइसकेको छ । त्यसको डीपीआर अगाडि बढाउनेछु । त्यसपछि निर्माणका लागि लगानीको खोजी गर्नुपर्ने हुन्छ ।

नेपालीको लगानीमा कि साझेदारीमा भन्ने मोडालिटीबारे छलफल गरेर निस्कर्ष निकालिने छ । कमसेकम पश्चिममा नैकापदेखि पूर्वमा भक्तपुरसम्म र दक्षिणमा चापागाउँदेखि उत्तरमा बूढानीलकण्ठसम्म मोनोरेल सञ्चालन गर्न सकिनेछ । यसबाट काठमाडौंको मात्र होइन, अरु नगरपालिकाको पनि ट्राफिक समस्या समाधान हुने विश्वास लिन सकिन्छ ।

– विगत ५० वर्षदेखि काठमाडौंमा नयाँ रंगशाला बनाउन सकिएको छैन । एउटा दशरथ रंगशालाले मात्र अब महानगरको आवश्यकता पुरा गर्दैन । काठमाडौंमा एशियन गेम आयोजना गर्नुपर्‍यो भने कहाँ गर्ने ? मूलपानीमा क्रिकेट रंगशाला बन्दैछ । त्यसलाई छिटो सम्पन्न गर्न जोडबल लगाउनेछु ।

काठमाडौंमा एउटा अन्तर्राष्ट्रिय स्तरको सभागृहको पनि आवश्यकता खट्किइरहेको छ । बीआइसीसीलाई संसदमा परिणत गरिएपछि अर्को सम्मेलन केन्द्र बनाउन सकिएको छैन । त्यसैले नयाँ सभाहल निर्माण पनि अघि बढाउनेछु ।

आलोचकहरुले सोध्ने गर्छन्, ३२ वर्ष जनसेवामा रहेर चाहिँ उनले के नापे त ? आफूले ‘नापेका’ प्रमुख कुराहरु उनले बुँदागतरुपमा सुनाए ।

-हामीसँग अहिले पनि एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल छ, जसको मुख्य टर्मिनल भवन ०४६ सालमा निर्माण भएको हो । मलाई अहिले सम्झिँदा गर्व लाग्छ कि यो भवन निर्माणमा मैले ७ वर्षसम्म आफ्नो सीप र पसिना खर्चेको छु । भवनमा छापिएका हरेक इर्ंट्टामा खोज्ने हो भने मेरो फिंगरपि्रन्ट भेटिन्छ होला । मैले एउटा आर्किटेक्ट इञ्जिनियरको रुपमा ७ वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गरेँ । ६ वर्ष निर्माणस्थलमा र एक वर्ष कार्यालयमा बसेर । यस दैरानमा मैले धेरै कुरा सिक्ने र थोरै योगदान दिने अवसर पाएँ । यसले मभित्र ठूलो आत्मविश्वास पैदा गर्‍यो ।

– शहरी विकास परियोजनामा रहँदा मेरो आधा कपाल विष्णुमति लिंकरोडले नै फुलाएको छ । त्यो परियोजनाअन्तरगत जग्गा प्राप्तिदेखि निर्माणसम्ममा झण्डै १५ वर्ष लाग्यो ।

– काठमाडौंको सडक विस्तारमा मेरो पनि धेरथोर योगदान छ । म शहरी विकासमा रहँदा दुई सय किलोमिटर सडक विस्तार भयो । यस क्रममा थुप्रै डर-धम्कीहरुको सामना गर्नु नपरेको होइन । सडक विस्तारपछि आज काठमाडौं एउटा शहरजस्तो भएको छ । यद्यपि, त्यसको प्रमुख जस सरकारको नेतृत्वकर्तालाई गयो । मैले जस माग्ने कुरा पनि भएन ।

-नदीनाला संरक्षण गर्ने काममा मेरो पहिलेदेखि नै दिलचस्पी रह्यो । म शहरी विकास मन्त्रालयको सचिव हुँदा आफैं वाग्मती सफाइ अभियानमा संलग्न भएँ । लाखौं अभियन्तासँग काम गरेँ र गरिरहेको छु । आज वाग्मती नदीको रुप बदलिएको छ । त्यसमा मेरो पनि सानो अंश योगदान भेटिएला ।

– विस्तृत शान्ति सम्झौतापछि माओवादी लडाकूलाई ७ वटा मुख्य शिविर र २१ वटा सहायक शिविरमा राख्नुपर्ने भयो । ती शिविरहरुका लागि स्थान छनोटदेखि योजना र निर्माणसम्मको जिम्मेवारी मेरो काँधमा आयो ।

म त्यतिबेला शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक थिएँ । २६ वटा डिभिजनल कार्यालयमार्फत हामीले यो काम फत्ते गर्‍यौं । यूएनडीपी, यूएन लगायतका विदेशी विज्ञले यो काम गर्न एकदेखि डेढ वर्ष लाग्छ भनेका थिए । तर, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ३ महिनामा ३२ हजार लडाकुलाई बसोबास गराउनैपर्छ भनेर आदेश दिनुभयो । हामीले उहाँको आदेश पूरा गरी छाड्यौं । सुरुमा अस्थाई बसोबास गरायौं भने तीन महिनामा क्यान्टोनमेन्टलाई स्तरोन्नति गर्‍यौं ।

लडाकूहरुलाई ६ महिनादेखि एक वर्षसम्म राख्ने भनिएकोमा ४-५ वर्षसम्म बस्नुपर्‍यो र त्यति लामो अवधिसम्म क्यान्टोनमेन्टले धान्यो । त्यहाँ हामीले सडक, पानी, बत्तीलगायत सबै सुविधा पुर्‍याएका थियौं । दुवै पक्षलाई चित्त बुझ्ने गरी यति चुनौतिपूर्ण काम छोटो समयमा गर्न सकेकोमा मलाई गर्व लाग्छ ।

– अघिल्लोपटक काठमाडौंमा सार्क सम्मेलन हुँदा म भवन निर्माण विभागको महानिर्देशक थिएँ । सम्मेलनको भौतिक तयारी गर्ने जिम्मेवारी हामीलाई थियो । हामीसँग केवल चार महिनाको समय थियो । यही बीचमा दशैं-तिहार पनि पथ्र्यो । यति छोटो अवधिमा हामीले कसरी काठमाडौंको कायापलट गरेका थियौं भन्ने सम्पूर्ण नगरवासीलाई थाहा नै छ । यस काममा मेरो नीतिगत जिम्मेवारी थियो भने हाम्रा इञ्जिनियरहरुले रातदिन खटेर काम गर्नुभएको थियो । राष्ट्रिय सभागृहको पुनर्निर्माण तोकिएकै समयमा पूरा गर्न हामी सफल भयौं र त्यही भवनमा सार्क सम्मेलन सफलतापूर्वक सम्पन्न भयो ।

-काठमाडौंलाई गुगल म्यापमा हेर्‍यौं भने जहाँ-जहाँ टाउन प्लानिङ देखिन्छन् त्यसमा मेरो केही न केही योगदान छ । पेप्सीकोला, भैंसेपाटी, गोंगबु, ललितपुरको जुवागल, लगायतका टाउन प्लानिङमा कुनै न कुनै रुपमा मेरो संलग्नता रह्यो ।

स्थानीय निकायमा जनप्रतिधि हुँदाका अवस्थामा २०५९ भित्र यी काम भएका हुन् । त्यसपछि टाउन प्लानिङका कार्यक्रम हुनै सकेनन् । व्यवस्थापन र सञ्चालन मेयर र वडाध्यक्षले गर्नुपर्ने भएकाले स्थानीय निकायको अभावमा शहरलाई प्लान्ड गर्ने अवसर गुमेको छ ।

यसवीचमा आफूले थालेर पनि अधुरा रहेका दुई आयोजना थापाले सम्झिए

१. म शहरी विकास तथा भवन निर्माण विभागमा रहँदा हरिसिद्दीमा नयाँ दुई लाख जनसंख्याका लागि स्याटेलाइट सिटी निर्माणको योजना बनाएको थिएँ । तर, त्यो कार्यान्वयनमा आउन सकेन । कागजमै सीमित रह्यो ।

२. बहुचर्चित बाहिरी चक्रपथ आयोजनाको अवधारणा र डिटेल प्रोजेक्ट रिपोर्टमा म संलग्न रहेँ । तर, त्यो पनि फिल्डमा आएको छैन ।

बोर्डफर्स्ट हुँदाको दबाव

किशोर थापा ०३१ सालको एसएलसीमा बोर्ड फस्र्ट भएका थिए । त्यो सफलताले उनलाई आजका दिनसम्म पनि दबावमा राखिरहेको छ । ‘एसएलसीमा बोर्ड फस्र्ट आएयता मलाई हरेक फिल्डमा अब्बल हुन मनोवैज्ञानिक दबाव पर्दै आएको छ,’ उनले भने, ‘मानिसहरु मलाई कतै पनि दोस्रो भएको हेर्न चाहँदैनन् ।’

एसएलसीपछि उनलाई कलेजमा फस्र्ट हुन दबाव पर्‍यो । सरकारी जागिरमा प्रवेश गरेपछि अरुले भन्दा बढी ‘आउटपुट’ निकाल्न दबाव पर्‍यो । दबाबै दबावका बीचमा उनी निखारिँदै गए । ‘म सरकारी सेवाको जुनसुकै पदमा रहँदा पनि अरुले भन्दा राम्रो गर्नुपर्छ भन्ने मान्यता मभन्दा माथिकाहरुले राख्ने गर्थे,’ उनले भने, ‘यो सिलसिला सचिव बन्दासम्म कायम रह्यो ।’

अब स्थानीय चुनावमा पनि उनी फस्र्ट भएको हेर्न चाहने धेरै होलान् । यद्यपि, अब दबावबाट कसरी बाहिर निस्केर बिन्दास हुने भन्ने आफूले सिकिसकेको उनी बताउँछन् ।

म भाग्यमानी कर्मचारी

थापा आफूलाई भाग्यमानी कर्मचारी सम्झिन्छन् । अस्थायी इन्जिनियरबाट सुरु गरेर उनी सरकारी सेवाको उच्च पदसम्म पुगे । यो ३२ वर्षको सेवा अवधिबाट उनी पूर्णरुपमा सन्तुष्ट छन् । सैनिक नबनेर गल्ती गरेंछु भन्ने उनलाई कहिल्यै लागेन ।

थापा भन्छन्, ‘यो देशले मलाई धेरै अवसरहरु दिएको छ । सरकारी सेवामा रहेर मैले धेरै मानसम्मान पाएँ । देश-विदेश भ्रमण गर्ने, आफ्नो देशको प्रतिनिधित्व गरेर विभिन्न उच्चस्तरीय वार्ताहरुमा भाग लिने, अन्तर्राष्ट्रिय सम्मेलनहरुमा भाग लिएर प्रस्तुतीकरण दिने, विभिन्न मन्त्रालयहरुमा रहेर अनुभव संगाल्ने मौका पाएँ । उत्कृष्ट कर्मचारी तथा प्राविधिकको पुरस्कारहरु प्राप्त गरेँ । एशियाली विकास बैंकबाट पनि उत्कृष्ट परियोजना प्रमुखको पुरस्कार पाएँ । यो सबैका लागि म आफ्नो देशप्रति नतमस्तक छु ।’

‘तर आफूले देशलाई कति दिन सकेँ भनेर आफैंलाई प्रश्न गर्ने गर्छु,’ उनले भने- ‘र, सोच्छु मैले अझै धेरै योगदान दिन बाँकी छ ।’

प्रचार-प्रसारमा ‘सरप्राइज’

चुनाव आउन धेरै दिन छैन र योबीचमा बढि भन्दा बढी मतदाताकहाँ पुग्नुछ । अब कुन विधिबाट किशोरले मतदाताहरुलाई रिझाउनेछन् त ?

उनी भन्छन्, ‘हामीसँग स्रोत-साधन कम छन् । त्यसैले अरुले भन्दा फरक शैलीमा भोट माग्ने योजना बनाएका छौं । यो मतदाताहरुका लागि एक किसिमको सरप्राइज नै हुनेछ । २१ औं शताब्दीमा कसरी चुनाव प्रचार गर्नुपर्छ भन्ने उदाहरण हामी प्रस्तुत गर्नेछौंं ।’

चुनाव प्रचारका क्रममा सामाजिक सञ्जालको बढीभन्दा बढी प्रयोग गर्ने उनले खुलाए । चुनाव चिन्ह नपाउँदा भने प्रचार-प्रसारमा कठिनाइ भएको उनले सुनाए ।

रञ्जुको उम्मेदवारीले रमाइलो

काठमाडौंमा मेयरको प्रतिस्पर्धाको कुरा गर्दा सबैभन्दा धेरै चर्चा छ विवेकशीलकी रञ्जु दर्शनाको । थापालाई पनि यो थाहा छ । कस्तो लागेको छ त उनलाई ?

‘उहाँको उम्मेदवारीले चुनाव रमाइलो बनेको छ,’ थापाले भने, ‘२१ वर्षको युवाले यति ठूलो आँट गर्नु नै ठूलो कुरा हो । यसबाट उहाँले अरु युवाहरुलाई प्रोत्साहन दिनुभएको छ र पुराना स्थापित दलहरुलाई चुनौती दिनुभएको छ ।’

त्यसोभए विवेकशीलसँग चुनावी तालमेल गरेर रञ्जुलाई मेयर किन छाड्नुभएन भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘मतदातालाई छनोटको अवसर दिनुपर्छ ।’ उनले अगाडि भने, ‘महानगरवासीले सोच्नुपर्‍यो, बुझ्नुपर्‍यो । महानगरको बजेट अहिले ५ अर्ब छ र भोलि २५ अर्ब हुनेछ । यसको सही सदुपयोग गर्नका लागि पनि सही व्यक्तिलाई महानगर जिम्मा लगाउनु आवश्यक छ । यहाँ १२ लाख जनताको भविश्यको सवाल छ ।’

‘काठमाडौंका जनता अत्यन्त विवेकी हुनुहुन्छ, उहाँहरु भावनामा बहकिनुहुन्न । विगतमा भावनामा बहकिएर कसैलाई जिताउनुभयो होला । तर, अहिले त्यस्तो हुने म देख्दिनँ,’ उनले थपे ।

मतदातालाई आग्रह

अन्त्यमा, काठमाडौंका मतदातालाई उनको आग्रह यस्तो छः

‘काठमाडौंका सचेत र प्रवुद्ध मतदातालाई मेरो अनुरोध छ कि आफ्नो दलीय आस्था वा सामाजिक आस्थाको भोट वडा अध्यक्षलाई हाल्नुस, तर मेयरमा भोट हाल्दा लागि फराकिलो सोच राख्नुस् । यस्तो व्यक्तिलाई मेयर छान्नुस, जसले तपाईंहरुको जीवनमा केही परिवर्तन ल्याउन सकोस् ।

सारा अप्ठेरोबाट तपाईं र तपाईंको परिवारलाई बाहिर निकाल्न सकोस् । आवेग वा पूर्वाग्रहका आधारमा मत हालेर पाँच वर्ष पछुताउनु नपरोस् । यस्तो व्यक्तिलाई नजिताउनुस् जसलाई जिताउँदा महानगर पराजित होस् । अहिले जिताएको मेयरलाई अर्को ५ वर्ष सरापेर बस्न नपरोस् ।’

र, किशोरका कमजोरी

महानगरलाई प्राविधिक नेतृत्व दिन किशोर थापासँग पर्याप्त अनुभव र विज्ञता छ तर मेयर पद प्राविधिक मात्र होइन । यसमा राजनीतिक नेतृत्व कौशल पनि हुनु उत्तिकै आवश्यक छ । थापा राजनीतिक रुपमा भने अनुभवहिन छन् । त्यसैले उनले मेयर पदमा पूर्ण न्याय गर्न सक्छन् भन्नेमा कतिपयलाई आशंका छ ।

थापाले एक लाख मत ल्याएर जित्ने दावी गरेका त छन् तर त्यसको बलियो आधार भने देखिँदैन । साझा पार्टी निर्वाचन आयोगमा दर्तासम्म भएको छैन र जनस्तरमा पुग्नै बाँकी छ । बलियो पार्टीको ब्याकअप नहुँदा व्यक्ति जति नै सक्षम भए पनि चुनावी दौडमा पछि पर्ने खतरा बढि रहन्छ ।

रवीन्द्र मिश्रले भने झैं नेपालका मतदाताहरुमा मेन्यू मज्जाले हेर्ने तर अन्तिममा ममः नै मगाउने प्रवृत्ति छ । त्यसैले पनि थापा एक लाख मत ल्याउँछु भनेर ढुक्क हुन सक्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment