Comments Add Comment

दुलही अभाव भएको फारो टापु

फारो टापुमा महिलाको अभाव छ । त्यसैले स्थानीय पुरुषहरु आफ्नो पत्नी खोज्नका लागि थाइल्याण्ड तथा फिलिपिन्स जस्ता देशहरुमा धाउनु परेको छ । तर बेहुली बनेर गर्मी देशहरुबाट उक्त चिसो टापु देशमा भित्रिने बेहुलीहरुको जीवन कस्तो चलिरहेको छ त ?

फारो आइल्याण्डमा वर्षमा ६ महिना त जाडोयाम नै रहन्छ । यस्तोमा थाइल्याण्डबाट बेहुली बनेर फारो पुगेकी अथाया स्लेटालिस सुरुमा ६ महिना त दिनरात हिटरकै अगाडि बसेर गुजारिन् ।

‘मानिसहरु बाहिर जाउ, घाम लागेको छ भन्थे । तर मलाई चाहीँ निकै जाडो भैरहेको हुन्थ्यो र बाहिर निस्किन सक्दिनथेँ’, उनी भन्छिन् ।

६ वर्षअघि फारोमा आउँदा अथायाले आफुलाई सुरुमा निकै गाह्रो भएको स्विकार्छिन् । थाइल्याण्डमा व्यवसाय गरिरहेका फारोली पुरुष जानसँग उनको साथीहरुमार्फत भेट भएको थियो । पछि उनीसँगै बिहे भयो ।

थाइल्याण्डकी बेहुलीलाई छुट्टै संस्कृति, मौसम तथा भूगोल भएको देशमा लैजानु निकै चुनौतिपूर्ण हुने कुरा जानलाई सुरुमै थाहा थियो ।

‘उनी हुर्किएको र बसिरहेको ठाउँ भन्दा उनी अब जाने ठाउँ ठ्याक्कै उल्टो छ भन्ने मलाई हेक्का थियो । तर अथायाको आचरण भित्रैदेखि बुझेकाले उनी नयाँ ठाउँमा गएर भिज्न सक्छिन् भन्ने मलाई लाग्यो’, जान भन्छन् ।

थाइल्याण्ड तथा फिलिपिन्सबाट बेहुली बनेर अहिलेसम्म ३ सय महिलाहरु फारोमा भित्रिसकेका छन् ।

१८ टापुको यो देशको पूरै जनसंख्या नै ५० हजार मात्र छ । त्यसैले यी नवदुलहीहरु उक्त देशका सबैभन्दा ठूलो जातीय अल्पसंख्यक समुदाय बन्न सफल भैसकेका छन् ।

नर्वे र आइसल्याण्डको बीचमा रहेको फारो आइल्याण्डमा पछिल्लो समयमा जनसंख्यामा गिरावट आइरहेको छ । युवायुवतीहरुले देश छाड्ने क्रम बढेको छ र देशमा फर्किने क्रम घटेको छ ।

अझ फारोली महिलाहरु त ठूलो संख्यामा देश छाडिरहेका छन् । जसका कारण देशमा लैंगिक घाटाको अवस्था सिर्जना भएको प्रधानमन्त्री एक्सेल जोहानेसेनले बताएका छन् । ५० हजार जनसंख्या भएको फारोमा पुरुष भन्दा महिलाको संख्या २ हजारले कम छ ।

महिलाको न्यूनताका कारण फारोली पुरुषहरुले रोमान्सका लागि टापु बाहिर नजर लगाउनु बाध्यता भैसकेको छ । फारोमा बेहुली बनेर भित्रिनेमध्ये धेरैजसो एसियाली महिलाहरुसँग फारोली पुरुषहरुको पहिलो भेट इन्टरनेटमै हुने गरेको छ ।

कतिपयले चाहीँ व्यवसायिक डेटिङ साइट मार्फत नै जोडी खोज्ने गरेका छन् । कतिले चाहीँ सोसल मिडिया तथा बिहे गरिसकेका नातेदार मार्फत पनि एसियाली बेहुली खोज्ने गरेका छन् ।

आधिकारिक रुपमा डेनमार्कको एक भागको रुपमा रहेको फारोमा आफ्नै भाषा छ, भिन्न संस्कृति छ । अझ खाना निकै फरक छ । यहाँको खाना एसियाली खाना भन्दा नितान्त फरक छ । त्यसैले बेहुली बनेर भित्रिने एसियाली महिलाहरुलाई सुरुमा संस्कृति तथा खानाकै कारण पनि निकै गाह्रो हुन्छ ।

अथाया अहिले राजधानी तोर्साभानको एक रेष्टुराँमा काम गर्छिन् । उनीहरुको पहाडको बीचका एउटा कटेज छ र एक छोरासँगै खुसीसाथ परिवार चलिरहेको छ । गाउँका बुढाबुढीहरु अंग्रेजी बोल्न नसक्ने र गाउँमा अरु कसैका बालबच्चा पनि नभएका कारण आफुलाई छोरा सानो छँदा निकै गाह्रो भएको सुनाउँदै अथायाले दुई तिन वर्षपछि चाहीँ आफुले नयाँ परिवेशमा आफुलाई ढालेको बताउँछिन् ।

छोरा किन्डरगार्टेन जान थालेपछि चाहीँ उनले एक क्याटेरिङमा काम गर्न थालिन् र एक थाई महिलासँग भेट भयो । जसले उनलाई घरेलु स्वाद दिलायो । त्यो भेट आफ्ना लागि निकै महत्वपूर्ण रहेको उनी बताउँछिन् ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment