Comments Add Comment

काठमाडौं महानगरमा राजुराजको सपनाः ५ वर्षमा मेट्रो रेल, सबैतिर फ्लाइओभर

जसले महानगरको मेयर बन्न सांसदको टिकट लिएनन्

२२ बैशाख, काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौंमा मेयरका उम्मेदवार राजुराज जोशीले हामीसँग भेट्नुअघि दुईवटा स्थानीय एफएम रेडियोमा नेवारी भाषामा अन्तर्वार्ता दिइसकेका थिए ।

काठमाडौंका नेवार मतदातासम्म आफ्नो एजेण्डा राख्न उनले एफएम रेडियोको सहारा लिए, त्यो पनि नेपाल भाषामै । यसबाट उनी के पुष्टि गर्न चाहान्थे भने- ‘म नेवार समुदाय र नेपाल भाषासँग भावनात्मकरुपमा जोडिएको छु ।’

राजुराज जोशीको एउटै सपना थियो, काठमाडौं महानगरको मेयर बन्ने । त्यसैले उनले विगत २५ वर्षदेखि कांग्रेस पार्टीभित्र सांसद वा अन्य कुनै पदको उम्मेदवार बन्ने मरिहत्ते गरेनन् ।

अघिल्लो वर्ष जिल्ला अधिवेशनका बेला काठमाडौंको सभापति हुन खोजेका थिए । तर, प्रकाशमान सिंहले काठमाडौंको मेयर बनाउने आश्वासन दिएपछि उनी पछि हटे । नभन्दै प्रकाशमानकै पहलमा उनले कांग्रेसबाट मेयरको टिकट पाए ।

साथीभाइ मन्त्री बन्दा पनि राजुराज उस्तै

बहुदलीय व्यवस्थाको पहिलो स्थानीय निर्वाचन हुँदा नै ०४९ सालमा राजुराज जोशीले काठमाडौंको मेयरमा दाबी गरेका थिए । तर, गणेशमान सिंहका धर्मपुत्र पीएल सिंहले मेयर बन्न खोजेपछि राजुराज पछि हटे । उनलाई त्यो बेला उपमेयर बन्न भनिएको थियो । तर, उनले पाउन लागेको उपमेयरको टिकट भाइ नविन्द्रराज जोशीलाई दिए ।

कांग्रेसबाट काठमाडौं महानगरपालिकाको पहिलो उपमेयर बनेका उनका भाइ नविन्द्र अहिले कांग्रेस केन्द्रीय सदस्य र उद्योगमन्त्री भइसकेका छन् । दाजु राजुराजले भने २५ वर्षपछि मेयरको टिकट पाएका छन् ।

‘भन्न त मलाई प्रकाशमानको मान्छे भन्छन् तर, शेरबहादुर दाइकै इच्छाबमोजिम टिकट पाएको हुँ’ बागबजारको हार्दिक होटलमा भेटिएका जोशीले अनलाइनखबरसँग भने, ‘राजनीतिमा धैर्य चाहिन्छ, एक दिन अवश्य पाइन्छ, मैले चाहेकै काठमाडौंको मेयरको जिम्मेवारी हो ।’

मुख्य एजेण्डाः मेट्रो र फ्लाइओभर

काठमाडौंको मेयर बनेपछि के गर्ने भन्ने सामान्य योजना उनले बनाइसकेका छन् । उनले महानगरमा मेट्रो रेल र फ्लाइओभर निर्माण गर्ने एजेण्डालाई प्राथमिकता दिएका छन् ।

पाँच वर्षे कार्यकालभित्र दुवै काम पूरा गर्ने उनको योजना छ । काठमाडौंको ट्राफिक समस्या समाधानका लागि मेट्रो र फ्लाइओभरको विकल्प नभएको उनी बताउँछन् ।

त्यसबाहेक काठमाडौंको धुँवा धूलो निन्त्रण गर्ने र प्रदुषणमुक्त राजधानी बनाउने सपना उनले देखेका छन् । साथै राजधानीलाई वाइ फाइ फ्री महानगर बनाउने नारा मतदातासमक्ष लिएर जाँदैछन् ।

मेलम्चीको पानीले महानगरबासीलाई पुग्ने भएकाले खानेपानीका लागि थप योजना नचाहिने उनको तर्क छ । मेयरका उम्मेदवार जोशीले भने, ‘हामीलाई मेलम्चीले पुग्छ ।’

काठमाडौं शहरको विकासका लागि सडक विस्तार आवश्यक छ कि छैन ? यो प्रश्नमा जोशी सडक विस्तारको विकल्प फ्लाइओभर हो भन्छन् ।

काठमाडौंको मेयर बन्नकै लागि २५ वर्षदेखि ‘राजनीतिक तपस्या’ गरेका राजुराज जोशी मतदाताहरुसम्म पुग्ने समयको चापमा छन् । उम्मेदवारहरुलाई मतदातासम्म पुग्ने समय नै कम भएकाले दबावमा परेका छन् जोशी । भन्छन्, ‘सबै मतदाताको घरमा पुग्न सम्भव छैन, मिडियाबाटै आफ्नो कुरा राख्नुपरेको छ ।’

को हुन् राजुराज जोशी ?

काठमाडौं महानगरका आम मतदाताहरुका लागि राजुराज जोशी चिरपरिचित अनुहार नहुन सक्छन् । तर, कांग्रेस वृत्तमा उनी पुराना चिरपरिचित नेता हुन् ।

‘खासमा म लो प्रोफाइलमा रहन रुचाउँछु, तर महानगरपालिकाका जनताबीच म जति अरु कोही पुगेको छैन’ उनी भन्छन् ।

काठमाडौंको सघन नेवारी बस्ती रहेको एर्खा टोलमा ०१८ सालमा जन्मिएका जोशीलाई नेवारी भाषामा कुरा गर्न अप्ठ्यारो छैन । जोशी ५ पुस्तादेखि काठमाडौंकै बासिन्दा हुन् ।

कांग्रेसको राजनीतिमा ३९ वर्षदेखि निरन्तर संलग्न रहेका जोशी ०४७ सालमा प्रकाशमान सिंह कांग्रेसको जिल्ला सभापति रहेका बेला सचिव थिए । त्यसयता प्रकाशमान पार्टीको महामन्त्री र उपसभापति भइसके तर, जोशी भने काठमाडौंको मेयरकै सपना देखेर बसिरहे । ‘०६४ सालमा सभासद उठ्ने कि भन्ने कुरा भएको हो तर, मैले मेयर नै उठ्छु भनेर सांसदको टिकट हापेँ’ मेयरको तीर्खा उनले यसरी सुनाए ।

राजनीतिक जीवनमा राजुराज जोशी जनप्रतिनिधिका रुपमा अहिलेसम्म ‘टेस्टेड’ भएका छैनन् । तर, जोशी भने आफू पहिलो पटक चुनाव लडे पनि महानगर कसरी चलाउनुपर्छ भन्ने योजना आफूसँग रहेको बताउँछन् । ‘अहिलेसम्म कुनै पद नलिनु पनि मेरो योग्यता हो’ उनले भने ।

भाइ मन्त्री, दाजु मेयर !

भाइचाहिँ मन्त्री भइसक्नुभयो, दाजु बल्ल मेयरको उम्मेदवार ? अनलाइनखबरको यो प्रश्नमा जोशीले भने- भाइ मन्त्री भएको छ, उसको छुट्टै राजनीतिक पृष्ठभूमि छ । मेरो अलग्गै छ । म ०४९ मा मेयर हुन खोजेँ, पीएल दाइजस्तो सिनियर आएपछि मैले छाडेर भाइ उपमेयर भयो । यसमा परिवारको कुनै प्रसंग छैन ।’

राजुराजले टिकट नपाउञ्जेल काठमाडौं महानगरमा कांग्रेसले भाइ नविन्द्रराज जोशीलाई नै मेयरमा अघि सार्ने चर्चा पनि चलेको थियो । तर, अन्ततः दाजुले टिकट पाए । भाइ अहिले दाजु जिताउने अभियानमा खटिएका छन् ।

यी पनि पढ्नुस्

किशोर थापाको दाबीः काठमाडौंका मतदाता विवेकी छन्, एक लाख भोट ल्याएर जित्छु

विद्यासुन्दर शाक्यको महानगर सपनाः ३ वर्षमा मेट्रो, २ वर्षमै मोनो रेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment