Comments Add Comment

भरतपुर महानगरका एजेण्डाः रेणुले रिङरोड बनाउने, देवीले बिजुली निकाल्ने !

२२ बैशाख, चितवन । देशका महानगरहरुमध्ये भरतपुर महानगरपालिका सबैभन्दा बढी सम्भावना बोकेको महानगरमा पर्छ । किनकि यहाँ गर्नुपर्ने धेरै कामहरु बाँकी छन् । महानगरपालिको मेयरका रुपमा एमालेका उम्मेदवार देवी ज्ञवाली र माओवादीकी रेणु दाहाल चुनावी मैदानमा छन् ।

यी उम्मेदवारहरुले रिङरोडदेखि पर्यटकीय पूर्वाधार निर्माणसम्मका भावी योजना बनाएका छन् । मेयरका उम्मेदवारहरुले चुनावमा जित्ने आधार र आफ्ना योजना अनलाइनखबरसँग यसरी बाँडेः

नारायणीमा पर्यटन, १५० मेगावाट बिजुली

देवी ज्ञवाली, नेकपा एमाले

भरतपुर महानगरमा एमाले उम्मेदवारको रुपमा मलाई जिताउनुपर्ने केही कारण छन् । पहिलो त एमालेको परिकल्पना र योजना अनुरुप नै भरतपुरले महानगर बन्ने सौभाग्य पाएको हो । अर्को कुरा, एमाले चितवनको सबैभन्दा ठूलो राजनीतिक दल हो । एमालेले राष्ट्रिय राजनीति र जिल्लामा खेलेको भूमिकालाई कसैले पनि नजरअन्दाज गर्न सक्दैन । पार्टी एकताबद्ध हुनु र कुनै समस्या नहुनु नै सबैभन्दा ठूलो बल हो ।

विगतमा मैले उपमेयर भएर काम गरेकाले यस क्षेत्रका समस्या के छन् भन्नेबारे जानकारी राख्छु । यहाँ सार्वजनिक जग्गा प्रशस्त भए पनि सुकुम्बासी समस्या पनि उत्तिकै छ । अव्यवस्थित शहरीकरण र जमिनको खण्डीकरण अर्को समस्या छ । ढल निकास, नारायणगढ क्षेत्रमा व्यवस्थित पार्किङ हाम्रा समस्या हुन् । अस्पतालजन्य फोहोरको व्यवस्थापन पनि चुनौती छ ।

मेयर जितेपछि मेरो योजनाको कुरा गर्दा पूर्वाधार, पर्यटन, कृषि जस्ता विषय छन् । नारायणी नदीमा पर्यटकीय गतिविधिका साथै सम्भाव्यता अध्ययन भइसकेको छ । महानगर र महानगरवासीको लगानीमा १५० मेगावाट विद्युत उत्पादन गर्ने योजना छ । नारायणी र राप्ती नदीमा बाँध बाँधेर जलक्रीडा, मत्स्य पालन गर्दै देवघाटदेखि त्रिवेणीधामसम्म जलयात्रा सञ्चालन गर्ने, नदीका छेउमा तारे होटल र मनोरञ्जन केन्द्र खोल्न उत्प्रेरित गर्ने, सबै महानगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने योजना पहिलो प्राथमिकतामा छ ।

यस्तै, नारायणी नदीसँग जोडिएको कविलासको पहाडको अधिकतम उपयोग गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने र आन्तरिक र बाहृय पर्यटक भित्र्याउने योजना बनाएको छु । प्रशिद्ध धार्मिक स्थल देवघाटको विकास गरी धार्मिक पर्यटक भित्र्याउने र २९ वटै वडामा उद्यानहरु निर्माण गर्ने योजना छ ।

दुईवटा रिङरोड, पहिलो पर्यटकीय गन्तव्य
रेणु दाहाल, माओवादी केन्द्र

विगतमा फुटेको माओवादी पार्टी एकतावद्ध भएकाले यो बल मेरो जीतको पहिलो आधार हो । अर्को कुरा, माओवादीले राष्ट्रिय राजनीतिमा खेलेको भूमिका अहिले प्रशंसनीय छ । माओवादी नेतृत्वको सरकार हुँदा चितवनमा ठूलो प्याकेज कार्यक्रम आएको छ । हामीले भनेका मात्रै छैनौं, गरेर देखाएका पनि छौं ।

स्थानीय निर्वाचनका लागि हामीले यस पटक योजनावद्ध ढंगबाट काम अघि बढाएकाले जित सहज हुने देखेको छु । जित्नेमा म पूर्णरुपमा विश्वस्त छु । जनताले माओवादीका एजेण्डालाई अनुमोदन गरेका छन् र आज देश माओवादीको एजेण्डामा छ । यसैले मतदाताले माओवादी उम्मेदवारलाई नजिताउने कुरै छैन ।

मलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालको छोरीको रुपमा स्थानीय चुनावमा टिकट दिइएको भनेर पनि टिप्पणी गरिएको छ । तर, म माओवादी पार्टीका विभिन्न तहमा बसेर तोकिएका जिम्मेवारीहरु पूरा गर्ने कार्यकर्ता पनि हुँ । जन्मथलो चितवनमा बसेर राजनीति गर्न विभिन्न कारणले नसके पनि मेरो योगदान जनयुद्ध, दोस्रो जनआन्दोलन र राजनीतिक परिवर्तनमा छ । अब चितवनलाई नै राजनीतिक थलो बनाएर अघि बढ्ने अठोट गरेकी छु ।

महानगरमा सडक, खानेपानी असुविधाका साथै जनताको जीवनस्तर उकास्ने कार्यक्रमको अभाव देखेकी छु । अव्यवस्थित शहरीकरण, ढल निकास जस्ता समस्या पैल्याइसकेका छौं भने थप समस्या जनताबाट लिँदैछौं ।

मेयरमा जितेपछि चितवन र विशेषगरी भरतपुर महानगर र काठमाडौंको बीचमा पुल बनेर काम गर्नेछु । राप्ती र नारायणी नदीको अधिकतम सदुपयोग गर्ने योजना ल्याइनेछ । दुवै नदीको किनारमा रिङरोड निर्माण गरी सुन्दर शहरको परिकल्पना गरेकी छु । नगरभित्र हरियालीसहितको भित्री र बाहिरी दुई वटा रिङरोड बनाउने योजना छ ।

यसका साथै चितवन पर्यटकीय ठाउँ भएर पनि अहिलेसम्म देशको तेस्रो पर्यटकीय केन्द्र रहेको छ । त्यसलाई पहिलो गन्तव्यका रुपमा विकास गरिनेछ ।

कृषि लक्षित विशेष कार्यक्रम पनि सञ्चालन गर्ने योजना बनाएकी छु । अन्तर्राष्ट्रिय क्रिकेट र फुटबल खेल मैदान, व्यवस्थित बजार, सडक र ढल निर्माणलाई भावी कार्यक्रमका समेट्नेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment