Comments Add Comment

माओवादीलाई भोट हाल्दा कांग्रेसले शीर झुकाउनुपर्दैन

पार्टीको निर्णय नमान्ने कार्यकर्तालाई कारवाही हुन्छ: मन्त्री लेखक

२२ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं भौतिक यातायात तथा पूर्वाधारमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र माओवादीवीच भएको चुनावी तालमेलको इमान्दारितापूर्वक कार्यान्वयन हुने दाबी गरेका छन् ।

माओवादी र कांग्रेसवीच भएको चुनावी तालमेलबारे चितवन लगायतका जिल्लामा कांग्रेस कार्यकर्ताले असन्तुष्टि राखिरहेका बेला हामीले यो तालमेल र यसबाट उत्पन्न परिस्थितिबारे मन्त्री लेखकसँग छोटो कुराकानी गरेका छौं ।

कुराकानीका क्रममा मन्त्री लेखकले यो तालमेल गणतन्त्रवादी र संघीयताका पक्षमा भएको बताए । साथै यसको इमान्दारितापूर्वक कार्यान्वयन हुने उनले दाबीसमेत गरे ।

प्रस्तुत छ, अनलाइनखबरका लागि विनोद घिमिरेले मन्त्री लेखकसँग गरेको कुराकानीः 

कांग्रेसले माओवादीलाई, माओवादीले कांग्रेसलाई भोट खसाल्छन् ? तपाई कत्तिको विश्वस्त हुनुहन्छ ?

यो विश्वास र प्रतिवद्धतासहित नै तालमेल गरिएको हो । यसमा कुनै आशंका गरिरहनुपर्दैन । यसको राजनीतिक महत्व पनि छ । माओवादीसँग भएको चुनावी तालमेलमा कांग्रेसबाट कुनै बेइमानी हुँदैन र माओवादीले पनि सहमतिलाई कार्यान्वयन गर्छ भन्ने पूर्ण विश्वास छ ।

तालमेल भएको स्थानमा कांग्रेसले माओवादीका उम्मेदवारलाई र माओवादीले कांग्रेसका उम्मेदवारलाई भोट दिन्छन् र दिनुपर्छ । पार्टीले गरेको निर्णय मानेर सबै साथीहरु चुनावमा सक्रियतापूर्वक लाग्नुस्, यो पार्टीको निर्देशन होे ।

माओवादीसँग कांग्रेसले गरेको तालमेल तल्लो तहका कार्यकर्तालाई चित्त बुझेको छैन । चितवनमा त तालमेलको विरोध भएको सुनिँदैछ, कार्यकर्ताको भावनाविपरीत तालमेल किन गरेको ?

कांग्रेसका मान्छेहरुले चित्त दुखाउनुपर्ने, टाउको निहुराउनुपर्ने कुनै कारण र अवस्था छैन । किनभने कांग्रेसले कोसँग तालमेल गरेको छ भने गणतन्त्रको पक्षधर पार्टीसँग गरेको छ, संघीयताको पक्षधर पार्टीसँग गरेको छ । समावेशितालगायत यो संविधानका सबै आधारतभूत मूल्य मान्यता मानेको पार्टीसँग गरेको छ ।

त्यतिमात्रै होइन, हाम्रो साझा एजेण्डा पनि छ । साझा एजेण्डा भनेको के हो भने संविधानको स्वीकार्यतालाई विस्तार गर्ने, तराई मधेसका भावनाहरुलाई पनि सम्बोधन गरेर यो संविधानलाई पूर्णतः कार्यान्वयन गर्ने हो । त्यसैकारण यो तालमेलमा साथीहरुले मन खुम्चाउनुपर्ने कारण छैन ।

एमाले र राप्रपाको तालमेलसँग डराएर कांग्रेस र माओवादीले तालमेल गरेको भन्ने छ नि ? हो ?

राजनीतिकरुपले भन्नुपर्दा राप्रपामा गणतन्त्रको पक्षधरता देखिएको छैन । संघीयताको त उहाँहरुले विधिवतरुपमा विरोध गरिरहनु भएको छ । तर, एमालेले त्यही गणतन्त्र विरोधी, संघीयताविरोधी राजनीतिक दलसँग तालमेल गरेर गइसकेको अवस्था छ । यसबाट के निष्कर्षमा पुग्न सकिन्छ भने यो अप्राकृतिक र अस्वाभाविक तालमेललाई नेपाली मतदाताले पत्याउने छैनन्, भोट खसाल्ने छैनन् ।

तालमेल भएको स्थानमा कांग्रेस-माओवादीको संयुक्त चुनावी सभा पनि हुन्छ कि ? अब के गर्नुहुन्छ ?

यो जिम्मा हामीले स्थानीय पार्टीलाई नै दिएका छौं । उहाँहरुलाई जे उपयुक्त लाग्छ, त्यो गर्नुहुन्छ । तालमेलको सन्देश दिन र तालमेल भएअनुसारको सकारात्मक परिणाम निकाल्न जे-जे उपयुक्त हुन्छ, त्यो गर्नुस् भनेर केन्द्रले भनेको छ । केन्द्रको नीति नै माओवादीसँग तालमेल गर्ने र कांग्रेस-माओवादीका उम्मेदवारलाई जिताउने हो ।

अहिले हतारमा गरिएको तालमेलबाट दोस्रो चरणको चुनावका लागि के शिक्षा पाउनुभयो ?

तालमेल गरेर त्यहीअनुसार मनोनयन दर्ता गर्नुपर्ने थियो, तर पहिलो चरणको चुनावमा त्यसो हुन नसक्दा हामीबाट थोरै कमजोरी भयो । मनोनयन दर्ता गरेर फिर्ता लिँदा केही समस्या भयो । सुरुमै तालमेल गरेर उम्मेदवारी दर्ता गरेको भए यो समस्या हुँदैनथ्यो । यसले हामीलाई पाठ पढाएको छ ।

अब दोस्रो चरणको चुनावमा हामी पहिले नै गृहकार्य गरेर समयमै तालमेल गर्छौं ।

दोस्रो चरणको चुनावमा कुन दलसँग तालमेल हुन्छ ?

स्वाभाविकरुपमा माओवादीसँग नै हुन सक्छ र हामी निर्णय समयमै गर्छौं । माओवादीसँग नेपाली कांग्रेसको तालमेल अत्यन्त स्वाभाविक छ, प्राकृतिक छ । संविधान कार्यान्यवयनको विषयलाई सरलतातर्फ लैजान बल दिन्छ । त्यसैले पहिलो चरणको चुनावमा जहाँ-जहाँ तालमेल भएको छ, त्यहाँ-त्यहाँ चित्त नखुम्चाइकन, खुलेर सहमतिलाई कार्यान्वयन गर्न म आह्वान गर्न चाहान्छु ।

काठमाडौं र ललितपुरमा तालमेल नहुनुको कारण के हो ? कि कांग्रेस एक्लै जित्न काफी छ भनेर हो ?

हामीले स्थानीय नेतृत्व तहलाई जिम्मा दिएका थियौं । उहाँहरुले नगर्ने भनेपछि भएन । जहाँसम्म अर्को प्रश्नको कुरा छ, कांग्रेस एक्लै जित्न सक्छ भन्ने कुरामा पनि शंका छैन । एक्लै जित्छौं भन्ने पूर्णविश्वास भएको हुनाले नै स्थानीय तहका नेताहरुले तालमेल गर्नुभएन ।

कतिपय ठाउँमा कांग्रेसका बागी उम्मेदवारसमेत छन् । उनीहरुको हकमा के हुन्छ ?

केही ठाउँमा पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध पार्टीकै साथीहरुबाट सामानान्तर उम्मेदवारी परेको थियो । धेरैजसो काठमाडौं महानगरपालिकाको वडाहरुमा थिए । तीमध्ये धेरै फिर्ता भइसके । केही ठाउँमा बाँकी छन् । साथीहरुले राजनीतिकरुपले आफ्नो उम्मेदवारी छाडेर पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्नुपर्छ भनेर हामीले आह्वान गरिसकेका छौं ।

आह्वानबमोजिम उहाँहरुले आधिकारिक उम्मेदवारलाई सहयोग गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ । यदि सहयोग गर्नुभएन र आफ्नो उम्मेदवारी कायम राखिराख्नुभयो भने कारवाही हुन्छ, पार्टीले निस्काशन गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment