Comments Add Comment

मनोरम नगरकोटः खुल्न बाँकी झ्याल (फोटो फिचर)

२३ बैशाख, काठमाडौं । राजधानीबाट नजिकै रहेको नगरकोटको परिचय निकै साँघुरो दायरामा कोरिएको छ । खासगरी सूर्योदय र सूर्यास्तको दृश्य हेर्न धेरैले नगरकोट रोज्ने गर्छन् । त्यसो त सूर्योदयको लोभलाग्दो दृश्य हेर्न यो ठाउँ विश्वका उत्कृष्ट दश स्थानमध्ये पर्छ । तर, नगरकोटको रमणीय आकर्षण त्यतिमा सीमित छैन ।

नगरकोटबाट लाङटाङ, गणेश, गौरीशंकर, दोर्जे लाक्पा, चोयु, पुवरी, सीसापाग लगायत हिमशृंखला हेर्न सकिन्छ । अझ मौसम खुला भएको बेला त सर्वोच्च शिखर सगरमाथा पनि यहीँबाट नियाल्न पाइन्छ ।

साहसिक खेल र हाइकिङप्रेमीहरुको लागि समेत नगरकोट उपयुक्त ठाउँ हुन सक्छ । साहसिक खेलमा पर्ने रक क्लाइम्बिङ पनि यहाँको आकर्षण हो । यस्तै, नगरकोटबाट साँखु, धुलिखेल र चिसापानीसम्मको हाइकिङ रुट निकै रोमाञ्चक मानिन्छ । तर, यसको उचित चर्चा भएको पाइँदैन ।

नगरकोटमा पर्यटक लोभ्याउने यति धेरै चिज भए पनि राजधानी काठमाडौंबाट सीधा बस सेवा सञ्चालन नहुँदा समस्या भइरहेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । काठमाडौंबाट सार्वजनिक सवारीसाधनमा आउँदा कमलविनायकमा झरेर अर्को बस फेर्नुपर्ने झन्झटिलो अवस्थालाई सम्बोधन गर्नुपर्ने उनीहरुको भनाइ छ ।

काठमाडौंको रत्नपार्कबाट भक्तपुरको कमलविनायक हुँदै नगरकोट पुग्न सार्वजनिक बसमा दुई घण्टा यात्रा गर्नुपर्छ ।

पूर्वाधार विस्तार नहुँदा पर्यटकलाई झमेला छ

बद्री माक, होटल व्यवसायी

नगरकोटको मुख्य समस्या साँघुरो बाटो हो । अहिलेको सडकमा एकैचोटिमा दुईतर्फी सवारीसाधन चल्न नसक्ने भएकाले पर्यटकहरुले सास्ती खेप्नुपरेको छ । बाटो फराकिलो पार्ने काम भइरहे पनि सुस्त गति छ ।

अर्को कुरा, यहाँ पार्किङ गर्ने ठाउँको पनि त्यत्तिकै अभाव छ । यसतर्फ चाँडै ध्यान दिनु जरुरी छ । नगरकोटमा पानीको पनि विकराल समस्या छ । नगरकोट डाँडाभन्दा तल रहेको पानीको मुहानबाट पानी ल्याउन सकियो भने निकै सहज हुनेथ्यो ।

भक्तपुर र काभ्रे दुवै जिल्लामा पर्ने यो क्षेत्रमा पछिल्लो समय अनियन्त्रित रुपमा बस्ती बढ्दै जाँदा सुन्दरता हराउँदै गएको देखिन्छ । यसको तत्काल व्यवस्थापन नगरिए भोलि दुष्परिणाम नआउला भन्न सकिन्न ।

धोजे लाक्पा हिमाल
गणेश हिमाल
नगरकोटबाट देखिने सगरमाथाको दृश्य
लाङटाङ हिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment