Comments Add Comment

रेशम विरहीको ‘प्रेमदासको डायरी’ सार्वजनिक

२३ बैशाख, काठमाडौं । कविता तथा निबन्ध विधामा कलम चलाउने रेशम विरही उपन्यासकारका रुपमा आएका छन् ।

नेपालको कम्युनिष्ट आन्दोलन, भारतीय प्रभाव तथा आन्दोलनबाट पलायन भएको पात्रको कथामा आधारित विरहीको उपन्यास ‘प्रेमदासको डायरी’ शनिबार सार्वजनिक भएको छ । सर्वनाम थिएटरमा लेखक नारायण ढकाल, कवि श्यामल, पत्रकार नारायण वाग्ले र दिलभूषण पाठकले संयुक्त रुपमा उपन्यास लोकार्पण गरे ।

लोकार्पणपछिको अन्तरसंवादमा सहजकर्ता दीपक सापकोटाले भारतकै कारण नेपालको राजनीतिमा परेको प्रभावलाई उपन्यासमा देखाइएको चर्चा गर्दै त्यसबारे वाग्लेको धारणा मागे । वाग्लेले उपन्यासमा नेपालको कम्युनिष्ट आन्दोलनमा भारतको पूरै प्रभाव परेको देखाइनु चित्तबुझ्दो नरहेको टिप्पणी गरे ।

‘भारतको सानोतिनो प्रभाव नपरेको होइन, तर सत्ता नै उलटपुलट गराउने खालको होइन,’ वाग्लेले भने, ‘ती प्रसङ्गलाई बरु लेखकले संस्मरणको रुपमा छुट्टै लेख्नुभएको भए राम्रो हुन्थ्यो ।’

विरहीको निबन्धसङ्ग्रह ‘देब्रे आँखा’ पढ्दा आफूले देख्न नपाएको इतिहासलाई बुझ्न पाएको बताउँदै वाग्लेले यो उपन्यास चाहिँ ‘दाहिने आँखा’ को रुपमा आएको धारणा राखे ।

पत्रकार पाठकले लेखक विरहीलाई बीस वर्षअघि नेपालगञ्जको धम्बोझी चोकमा चिनेको स्मरण गर्दै लेखकले उपन्यासमा विभिन्न परिवेशलाई सुन्दर संयोजन गरेको बताए ।

विरहीसँग चार दशकदेखि अन्तरंग संगत गर्दै आएका श्यामलले विरही इमोसनल टाइपको मान्छे भएको बताउँदै थपे, ‘उसलाई चित्त नबुझेको कुरामा प्रवेश नै गर्दैन, तर जहाँ पस्छ त्यसलाई गम्भीर तरिकाले उत्खनन गर्छ । प्रेमदासको डायरी त्यसकै उदाहरण हो ।’ नेपाल र भारतको राजनीतिक परिवेश र प्रेमलाई समेत जोडेर विशाल क्यानभासमा उपन्यास तयार भएको भन्दै उनले इतिहासको आख्यानीकरणको रुपमा गम्भीर कृति आएको बताए ।

अर्का वक्ता ढकालले भने आफूले लेखिरहेको उपन्यासको कथासँग केही प्लट मिलेको खुलासा गरे । ‘म पनि उपन्यास लेखिरहेको छु, प्रेमदासको डायरी पढ्दा मेरै कथासँग मेल खाने केही प्रसङ्ग पाएँ । अब अर्कै तरिकाले लेख्नुपर्ने भएको छ,’ उनको भनाइ थियो । इतिहाससम्बद्ध गम्भीर विषयमा उपन्यास लेखिएकोमा प्रशंसा गर्दै उनले कम्युनिस्ट आन्दोलनमाथि नयाँ कोणबाट बहस गर्न उपन्यासमा धेरै ठाउँ रहेको बताए ।

कार्यक्रमको अन्त्यतिर लेखक विरहीलाई सोधियो, ‘कम्युनिष्ट हुनका लागि के-के गुण र विशेषता चाहिने रहेछन् त ?’

‘गुण र विशेषता जानेको भए म कम्युनिष्ट भइरहन्थेँ । तर म कम्युनिष्ट होइन,’ विरहीले भने, ‘कम्युनिष्ट मात्र होइन, कांग्रेसमा पनि लामो समय पार्टीमा लागेकाहरु पछि जोगी हुने धेरै छन् ।’

शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३९५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment