Comments Add Comment

पवित्र बज्राचार्यको अनुभवः काठमाडौं बिगार्ने कांग्रेस, एमाले र माओवादी हुन्

'महानगरभित्र फोहोर छ, त्यहाँ कमिसनको खेल हुन्छ'

२४ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा २८ जनाको उम्मेद्वारी परे पनि मुख्य चर्चामा अहिलेसम्म ४ जना छन्- राजुराज जोशी, विद्यासुन्दर शाक्य, किशोर थापा र रञ्जु दर्शना । हामीले चुनावी बहसको डिस्कोर्समा अर्का उम्मेद्वार फेला पार्‍यौं- पवित्र बज्राचार्य, जसले फ्लाइओभरको साटो महानगरपालिकाको फोहोरको कुरो गरे ।

नयाँबानेश्वरस्थित एक कफीसपमा अनलाइनखबरको निम्तो स्वीकार्दै एकजना हँसमुख उम्मेद्वार छिरे । हातमा मोटरसाइकलको चाबी थियो । हात मिलाउँदै उनले स्थानीय नेवारी लवजमा भने- ‘ढुलो पनि कत्ति धेरै ! जामले गर्दा गाडी छाडेर मोटरसाइकलमा दौडिएर आएको, जिउभरि ढुलो लाग्यो !

हामीले मेयरका उम्मेदवार बज्राचार्यसँग हल्का ठट्टाबाट कुरो सुरु गर्‍यौं- ‘काठमाडौंको मेयरको उम्मेदवार बन्नुभएको छ, अरुले जस्तै धुलो र जाम हटाइदिन्छु, फ्लाइओभर बनाउँछु, रेल कुदाउँछु भने भैहाल्यो नि अब । केको धुलो को चिन्ता ?’

जवाफमा उनी एकाएक प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रतिर खनिए । ‘१० वर्षदेखि महानगरपालिकाको संयन्त्रमा बसेर बजेट खेलाएका उनीहरुले चुनावअघि काठमाडौंको धुलो देखेका थिएनन् ?’ बज्राचार्यले भने- ‘यो महानगरलाई यस्तो हालतमा पुर्‍याउने उनै कांग्रेस, एमाले र एमाओवादी हुन् ।’

ठूला दलविरुद्ध निर्मम रुपमा प्रस्तुत भएका बज्राचार्य मसाल चुनाव चिन्ह लिएर काठमाडौं महानगरपालिकाको मेयरमा लड्दैछन् । उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका साझा उम्मेदवार हुन् । तर, उनी नयाँ शक्तिका कार्यकर्ता होइनन् । उनी संघीय समाजवादीका हुन् । तथापि उनी आफूलाई राजनीतिज्ञ कम र सामाजिक अभियन्ता भन्न बढी रुचाउँदा रहेछन् ।

बज्राचार्यले आफूलाई पूर्वमेयर केशव स्थापितभन्दा लोकपि्रय रहेको दाबी गरे । विगतमा आफू एमालेबाट मेयरमा उठ्नै लागेका बेला स्थापितले टिकट पाएको उनले बताए ।

को हुन् पवित्र बज्राचार्य ?

काठमाडौंको मेयरका लागि चुनावी प्रतिस्पर्धामा होमिएका पवित्र बजा्रचार्य को हुन् भन्ने धेरै मतदाताहरुलाई थाहा छैन । त्यसैले हामीले उनका चुनावी एजेण्डा र महानगरको विकासे भिजन सुन्नुअघि उनको पृष्ठभूमिबारे जान्न चाह्यौं । उनले आफ्नो परिचय र पहिचान यसरी खुलाएः

म २०१५ सालमा झोंछेमा जन्मिएको हुँ ।त्यहाँ अहिले मेरो पसल छ । मैले व्यवस्थापन विषयमा एमबीए गरेको छु । काठमाडौं महानगरमा विद्यार्थीकालमै वडासमिति सदस्य भएको म तीन कार्यकाल वडा अध्यक्ष निर्वाचित भइसकेको छु । बुहदल आएपछि सूर्यचिन्ह लिएर वडाध्यक्ष जितेपछि कार्यवाहक मेयर भएरसमेत काम गरेको अनुभव छ । पीएल सिंह र केशव स्थापित दुबैको कार्यकालमा म काठमाडौं महानगरपालिकामा वडाध्यक्ष निर्वाचित भएको व्यक्ति हुँ ।

मेरा बुबा परमानन्द बज्राचार्य गणेशमानहरुसँगै राणाविरोधी आन्दोलनमा लालाग्नुभएको थियो । उहाँलाई मृत्युदण्डको सजायँ सुनाइए पनि बच्ँनुभयो । उहाँ राजनीतिक पीडित हुनुहुन्थ्यो ।

म सररस्वती क्याम्पसमा आइए पढ्दै थिएँ, त्यही बेला बुबा बित्नुभयो । सानैमा परिवारको दायित्व सम्हाल्नुपर्‍यो । त्यसपछि हामीले पसल चलाउन थाल्यौं । अहिले पनि म खुद्रा पसलेहरुको व्यवसायिक संगठनको अध्यक्ष छु ।

पञ्चायतकालमा काठमाडौंको स्थानीय चुनाव भयो । मेरो वडाबाट शिद्धिचरण श्रेष्ठका छोरा रविचरण श्रेष्ठ वडाअध्यक्षमा उठ्नुभयो । म सदस्यमा उठें र चुनाव जितें । म त्यसबेला कलेज गइराखेको थिएँ । शंकरदेव क्याम्पसमा बीकम पढ्दै थिएँ ।

रविचरणले वडा कार्यालयमा नससहरुलाई नोकरजस्तै व्यवहार गर्थे । होच्याउथे । अर्को पटक म आफैं वडाअध्यक्षमा उठें र जितें । मैले सबै नससहरुलाई समान व्यवहार गर्न थालें । उनीहरुको काम विभाजन गरें । उनीहरु कोही पनि कामविहीन भएनन् । पाँचैजनाले काम गर्न पाए । मलाई पनि काम हल्का भयो । वडाध्यक्ष हुँदाहुँदै पसलमा बस्न पनि भ्याउने, कलेज जान पनि पाउने । मैले काठमाडौं २३ को वडाध्यक्ष भएकै बेला एमबीए सिध्याएँ ।

पञ्चायतविरुद्ध ०४६ सालको आन्दोलनका बेला हामीलाई पञ्चायतको भण्डाफोर गरेको भन्दै निलम्बन गरियो । हामी त्यसबेला रापंस सदस्य पदमरत्न तुलाधारबाट प्रभावित थियौं । हामी त्यसबेला जनपक्षीय भनेर चिनिन्थ्यौं । त्यसैले कतिपय समय अन्डरग्राउण्ड पनि बस्नुपर्‍यो ।

आन्दोलन सफल भएपछि ०४९ को स्थानीय चुनावमा पनि मैले २३ नम्बर वडाध्यक्षमा जितें । बहुदल आएपछि मैले स्वतन्त्रबाटै चुनाव जितेको थिएँ । ०५४ को दोस्रो स्थानीय चुनावमा चाहिँ एमालेको सूर्य चिन्हबाट जितेको हुँ ।

पछि मलाई संघीय समाजवादीमा मंगलसिद्धी मानान्धरले लगाउनुभएको हो । उहाँ र हामी एउटै टोलको हो ।

दोस्रो संविधानसभामा म संघीय समाजवादीबाट सभासदमा उठेको थिएँ । तर, धेरै भोट आएन । तैपनि केशव स्थापितको भन्दा मेरो दोब्बर भोट आयो । त्यसबेला केशव स्थापितले काठमाडौं ६ मा चुनाव लड्दा १ हजार भोट मात्रै ल्याएका थिए ।

म काठमाडौं महानगरपालिकामा जनप्रतिनिधि हुनुका साथै महानगरभित्र विभिन्न सामाजिक संघ संगठनमा आवद्ध छु । म खुद्रा व्यवसायी संघको महासचिव हुँदै अध्यक्ष बनें । अहिले तेस्रो कार्यकालको अध्यक्ष छु । उपभोक्ता हित संरक्षण मञ्चको कोषाध्यक्ष पनि भएँ । त्यसबेला डा. सुन्दरमणि दीक्षित अध्यक्ष हुनुहुन्थ्यो ।

व्यापारीको छवि

आफ्नो पृष्ठभूमिबारे संक्षिप्त व्याख्या गरेपछि बज्राचार्यले व्यापारीहरुको पीडाका विषयमा व्याख्या गरे । समाजमा व्यापारीहरुलाई हेर्ने नजरमा परिवर्तन ल्याउन आफूले ‘मध्यस्थ’ एवं व्यवस्थापकीय काम गरेको उनले दाबी गरे । बज्राचार्यले भने-

रिटेलर (खुद्रा व्यवसायी ) हरुलाई मैले नाफामात्रै होइन, उपभोक्तको हितमा काम गर्ने सफथ खानुपर्ने व्यवस्था गरें । अहिले रिटेलरहरुमा थुप्रै परिवर्तन आएको छ । व्यापारीलाई मानिसहरुले कालोबजारिया भनेर गाली गर्थे । तर, मैले आफू रिटेलर भएर पनि उपभोक्ताको हितमा काम गरेवापत विश्व उपभोक्ता अधिकार दिवसमा सम्मानसमेत पाएँ ।

भूइँचालो र नाकाबन्दीका बेलामा मैले काठमाडौंमा ठूलो भूमिका खेलें । यस्तो प्रकोपका बेला खाद्यान्न अभाव हुने, कालोबजारी हुने, र कतिपय अवस्थामा व्यापारीका सामानहरु हराउने हुन्थ्यो । भूकम्पको भोलिपल्टसम्म पसल खुलेनन् । एउटा वाइवाईको सय रुपैयाँ लिएको गुनासो समेत आयो ।

मैले त्यसबेला रिटेलरहरुले उपभोक्तालाई सघाउनुपर्ने बताए । त्यस्तो बेलामा ठूला व्यापारीले भाऊ बढाउँछन् तर, हामी रिटेलरहरुले राम्रो काम गर्नुपर्छ भनेर जापानीहरुबाट सिकेको पाठ व्यवहारमा लागू गरें । त्यसले गर्दा बजार सामान्य भयो ।

नाकाबन्दीका बेलामा पनि मैले काठमाडौंमा तीन महिनालाई पुग्ने खाद्यान्न छ भनेर सर्वाजनिकरुपमा बोलें । यसले गर्दा बजारमा भाऊ वृद्धि भएन । बजार सहज भयो । महंगी पनि भएन, अभाव पनि भएन । एउटा कार्यक्रममा व्यापारीलाई गाली गर्न बोलाएका थिए, मेरो कुरा सुनेपछि पत्रकारहरुले व्यापारीको साटो सरकारलाई गाली गरे ।

नाकाबन्दीका बेलामा काठमाडौंमा सरकारले आपूर्ति गर्ने पेट्रोल र डिजेलमा अभाव भयो, तर हामीले दैनिक उपभोग्य सामानमा अभाव हुन दिएनौं । म अध्यक्ष रहेको खुद्रा व्यवसायी संघमा करिब ३६ सय सदस्यहरु छन् । हामीले आह्वान गरेका कारण भूकम्प र नाकाबन्दी दुबै संकटका बेला काठमाडौंमा उपभोक्ता र व्यापारीवीचको सम्बन्ध सुमधुर रह्यो ।

अहिले पनि मेरो आफ्नै पसल छ । वडाध्यक्ष हुँदा पनि मैले पसल चलाइरहें, जसले गर्दा मैले कसैसँग घुस खानै परेन, आफ्नै कमाइबाट घर व्यवहार चलिरहेको छ ।

महानगरमा काम गर्दा तीता-मीठा अनुभव

मेयरका उम्मेदवार बज्राचार्यले महानगरपालिकामा काम गर्दाका अनुभवहरु यसरी सुनाएः

म महानगरको वडाध्यक्ष भएकै समयमा पीएलसिंहको समयमा मेनचेस्टरमा एउटा सम्मेलन भएको भएको थियो । त्यो सम्मेलनमा बस्न लायकको शहर कसरी बनाउने भन्नेबारे छलफल भएको थियो । त्यहाँ मैले सहभागिता जनाएँ ।

त्यसको दुई बर्षपछि टर्कीको स्तानुबुलमा त्यस्तै कार्यक्रममा सहभागी हुने मौका पाएँ । त्यहाँ मैले मध्यरातमा कसरी शहरको फोहोर उठाउँदा रहेछन् भनेर हेरें ।

जापानमा पनि मैले नगरपालिकाको कार्यक्रममा सहभागिता जनाएँ । चीनमा पनि मैले व्यापार मेलामा सहभागिता जनाएँ ।

मेयर अमेरिका र उपमेयर जापान गएका बेला काठमाडौं महानगरमा केही समय कार्यवाहक मेयरको जिम्मेवारी पनि निभाएँ । एमालेका ततकालीन महासचिव माधव नेपालले नै भनेर म केशव स्थापितलाई सघाउन सूर्यचिन्हबाट वडाध्यक्षको चुनाव लडेको थिएँ ।

हामीले विदेशमा भएका राम्रा कुराहरु नेपालमा पनि गर्न सक्छौं । तर, यहाँ गर्नै दिँदैनन् । जापानबाट मानिसहरु काठमाडौंको फोहोर व्यवस्थापनमा सघाउन आएका थिए, तर केशव स्थापितले वास्तै गरेनन् । मैले आफैं जानेको छु, तिमीहरुले सिकाउनुपर्दैन भनेर पठाइदिए । यहाँ त जम्मै कुरा के हुँदोरहेछ भने कसिमसन खाने ।

केशव स्थापितलाई मैले नै कुर्सीमा राखेर तोक लगाउनदेखि जम्मै कुरा सिकाएको हुँ । त्योबेला एमालेबाट मेयर हुने पालो मेरो थियो । मेरो दाइको ब्लड क्यान्सर भएकाले उपचारका लागि दिल्ली जानुपर्‍यो । त्यहीबेला केशव स्थापितले पार्टीमा दबाव दिएछन् र मलाई मेयरको टिकट नदिए एक लाख युवा संघका कार्यकर्ताहरु चुनावमा सक्रिय हुँदैनौं भनेछन् ।

मेयरमा स्थापितको नाम आएपछि मैले चुनावमा नठ्ने भनेको थिएँ । तर, माधव नेपालले मलाई पवित्र तिमीले उठ्नैपर्छ, केशवपछि तिम्रो स्टाटस हुन्छ, भनेको हुनाले म फेरि वडाध्यक्षमा उठें । तर, मेरो र केशवमा फरक के भयो भने मचाहिँ पैसा खान हुन्न भन्ने, उनले चाहिँ पैसा खानुपर्ने । यही भएकाले हाम्रो कुरा मिलेन ।

स्तानुबुल पनि काठमाडौंजस्तै पुरानै सहर हो । मैले रातिसम्म त्यहाँ हेरें । साँगुरो शहरमा राति आएर फोहोर उठाउँदोरहेछ । मैले काठमाडौंमा आएर त्यसै गर्न खोजें । तर, कोही पनि मानेनन्, हाम्रो नेपालको कल्चर नै राति फोहोर उठाउने हैन भन्छन् । हामीले बुझाउन सक्नुपर्‍यो । पहिले-पहिले पो अँध्यारो थियो, अहिले त बत्ती बलिरहेको हुन्छ । हामीले बोर्ड मिटिङमै कतिचोटि राख्यौं, मान्दै मानेनन् ।

अन्तिममा केशव स्थापितले तिमीले ल्याएको इस्युमा तिमीले नै काम गर्नुपर्छ भनेपछि मैले ओके भनें । मैले ३५ वटै वडाबाट दुई-दुई जना कुचीकार मलाई दिनुपर्छ भनें । अनि मैले टीभी, एफएम सबैमा विज्ञापन गर्न लगाएँ कि अबदेखि फोहोर राति ९ बजे फाल्ने, राति १० देखि १२ भित्र उठाउने । राति काम गर्ने कुचीकारले बिहान काममा आउनु नपर्ने ।

त्यसबेला महानगरले ४५ वटा मिनी ट्रक फोहोर उठाउनका लागि भाडामा लिएको थियो । महानगरमा प्रत्येक वडासँग एक/एकवटा ट्रकहरु थिए । तर, राति फोहोर उठाउन थालेपछि भाडाका ट्रक नै चाहिएनन् । बिहान फोहोर उठाउँदा बाँकी रहेको ठाउँमा दिउँसो पनि फाहेार हाल्दारहेछन् । तर, राति नै उठाउन थालेपछि उज्यालोमा कसैले फोहोर फालेनन् । शहर सफा भयो ।

यसो गर्दा काठमाडौं त यति सफा भयो कि बि्रटिस राजदूतले एउटा कार्यक्रममा केशव स्थापितलाई तिम्रो पालामा काठमाडौं सफा भयो भनेछन् । उनले मलाई धाप दिएर यो कुरा सुनाए ।

तर, पछि राति फोहोर उठाउने काम स्थापितले क्यान्सिल गरिदिए । कुचीकारहरु मानेनन् भने । तर, मलाई सबै कुचीकारहरुले मानिरहेका थिए । उनीहरुले राति एकछिन काम गरेर दिउँसो आफ्नो काम गर्न पाउँथे । यो किन क्यान्सिल भयो भने ट्रकहरु भाडामा लिएर कमिसन खान पाइरहेका थिए, राति काम गर्न थालेपछि कमिसन खान पाएनन् ।

अहिले काठमाडौंमा भएका जति पनि क्रसिङ ब्रिजहरु छन्, त्यसको डिजाजनसमेत हामीले गरेको हो । रत्नपार्क र राष्ट्रिय नाचघर अगाडिको ।

काठमाडौं महानगरका समस्या

काठमाडौंको अहिलेको सबैभन्दा ठूलो समस्या भनेको फोहोर व्यवस्थापन हो । त्यसपछिको समस्या भनेको धुलो धुवाँ हो । अर्को भनेको ट्राफिक जामको समस्या हो । अर्को पार्किङको समस्या हो ।

थप समस्या भुइँचालोपछिका घरहरु हुन्, जुन भत्काउन पनि सकिएको छैन, बनाउन पनि सकिएको छैन । हेरिटेज साइटहरु खत्तम भइरहेका छन्, तिनलाई बनाउन सकिएको छैन ।

अरु समस्या भनेका यहाँको शिक्षा र स्वास्थ्यका कुराहरु छन् । यी ५/६ वटा कुराहरु प्रत्यक्षरुपमा तत्काल समाधान गर्नुपर्ने समस्याहरु हुन् ।
तर, हामीले खानै पाएको छैन, सुनको छाना राख्ने कल्पना गर्छौं । पहिले त खान पाउनुपर्‍यो, त्यसपछि पो अरु ठूलो कल्पना गर्ने हो त । अहिले जुन पार्टीहरुले भनिरहेका छन्, त्यो कुरा त्यस्तै हो । यहाँको आवश्यकता स्काइ घर होइन । तत्काललाई मोनोरेल पनि होइन । अहिले तत्कालको आवश्यकता भनेको व्यवस्थापन हो । फोहोर मैलाको पनि सही व्यवस्थापन नभएकै कारणले हामीले समस्या भोगिरहनुपरेको हो ।

किन बनेन काठमाडौं ? कसको दोष छ ?

हामीले केशव स्थापितकै पालामा केही फ्लाइओभर बनाउने सोचेका थियौं । पुरानो बसपार्क, सभागृह पछाडिबाट एउटा फ्लाइओभर कलंकीसम्म, एउटा फ्लाइओभर भक्तपुरसम्म र अर्को महाराजगञ्जसम्म । तीनवटा फ्लाइओभर बनाउने हामीले सानो योजना बनाएका थियौं । त्यो धेरै लामो पनि होइन ।

त्यहीबेला यो काम गरेको भए काठमाडौंमा यस्तो जाम हुँदैनथ्यो । तर, त्यसबेला सरकारले सहयोग गरेन । आजभन्दा २० वर्ष पहिले नै हामीले त्यो परिकल्पना गरेको कुरा हो । अहिले आएर त्यो गरेर कत्ति न नयाँ काम गर्न खोजेस्तो कुरा गरिँदैछ । यो पुरानै कुरो हो ।
अहिले स्मार्ट सीटी, मोनो रेल इत्यादि कुराहरु जुन आइराखेका छन्, यी कुराहरु कसले ल्याउँदैछन् भने एमाले र कांग्रेसले । एमाले कांग्रेस र माओवादी तीनवटाले ल्याएका छन् ।

तपाईहरुलाई थाहा हुनुपर्छ, महानगरपालिकामा राजनीतिक संयन्त्र भन्ने छ । त्यो राजनीतिक संयन्त्रमा प्रमुख
पार्टीका दुई-दुई जना मान्छे छन् । महानगरपालिकाको बजेट उनीहरुले ओके नभइकन पास हुँदैन । महानगरपालिकाका विकास निर्माणका कुराहरु उनीहरुले ओके नगरिकन पास हुँदैन ।

तीनवटै पार्टी मिलेर यहाँ महानगरपालिका चलाइराखेका छन् । के उनीहरुले अहिलेसम्म यो धूलो नदेखेका हुन् ? के यो हिलो र जाम नदेखेका हुन् ? यो पार्किङको असुविधा नदेखेका हुन् ? उनीहरुको दिमागमा अहिलेसम्म किन आएन यो कुरा ? ०६२/०६३ को आन्दोलनपछि देखि नै महानगरको संयन्त्रमा छन् उनीहरु ।

महानगरपालिकाको यो संयन्त्रमा विद्यासुन्दर पनि त्यही बेलादेखि छन् । सर्वोत्तम डंगोल पनि त्यही समयदेखि छन् । विद्यासुन्दर र रामवीर मानान्धरलाई एमालेले पठाएको थियो । कहिले रामवीरलाई पठायो, कहिले विद्या न्यौपानेलाई पठायो ।

अहिले महानगरपालिकाको त्यो संयन्त्रमा एमालेबाट विद्यासुन्दर शाक्य र विद्या न्यौपाने छन् । नेपाली कांग्रेसबाट देवरत्न महर्जन र भगवान शाक्य छन् । माओवादी केन्द्रबाट सर्वोत्तम डंगोल र उमेश नापित भन्ने छन् । जो उनीहरु आफैं अहिले मेयरको उम्मेद्वार छन् । उनीहरुले १० वर्षसम्म सोच्नुपर्दैनथ्यो त्यो कुरा ?

यतिका वर्षसम्म उनीहरुलाई त्यही महानगरपालिका ठीक थियो । भोट माग्नु नपर्दासम्म उनीहरुलाई यही काठमाडौं ठीक थियो । त्यसैले भोट लिनलाई मात्रै अहिले जनतालाई झुक्याउने कुरा गरिरहेका छन् ।

अहिले महानगरपालिकाको बजेटको कुरा गर्ने हो भने ७० प्रतिशत बजेट त तलब भत्तामै गइरहेको छ । ३० प्रतिशत बजेटमात्रै विकास निर्माणमा जान्छ । के यो बजेटले यिनीहरुले फ्लाइओभर बनाउन सक्छन् ? मोनोरेल ल्याउन सक्छन् यहाँ ?

उनीहरुले अहिले हचुवाका भरमा केही पनि अध्ययन नै नगरकिन जनतालाई झुक्याउनका लागि यस्तो-यस्तो कुराहरु ल्याइराखेका छन् ।
जनता पनि उस्तै छन् । गरेन भनेर एकछिन रिसाउँछन्, भोलि फेरि चुनाव आयो भने बाजेदेखि सूर्यमा र रुखमा छाप हालेको भनेर आफूले पनि त्यसै गर्छन् । यही ट्रेन्डको फाइदा राजनीतिक पार्टीहरुले उठाइरहेका छन् ।

मैले दोस्रो संविधानसभाको चुनावमा भाग लिँदा मलाई थाहा थियो, मैले जित्दिनँ । त्योबेला सबै ठाउँमा बोलेको कुरा यही थियो । जनताको हातमा सबैभन्दा ठूलो अधिकार आउने बेला भनेको चुनाव नै हो । यही चुनावमा हो, तपाईहरुले सही र गलत छुट्याउने । तर, यही अवसरलाई पनि तपाईहरु खेलाँची गर्नुहुन्छ । यदि सूर्यमा भोट हाल्नेले सूर्यमै र रुखमा हालेकाले रुखमै हालिरहनुपर्छ भन्ने हो भने अमेरिकामा सधैं एउटै पार्टीले मात्रै चुनाव जित्थ्यो होला ।

नेपालमा पार्टीहरुले जनतालाई झुक्याइरहेका छन् । जनता पनि झुक्किँदै गइरहेका छन् । यही कारणले हामीले ट्रेन्ड परिवर्तन गर्नुपर्ने भएको छ ।

हाम्रा आँखै अगाडि महानगरपालिकामा यस्ता घटनाहरु भइरहेका छन् । र, उही व्यक्ति महानगरपालिकाको उम्मेदवार बन्दैछ । महानगर चलाउँदा उसले कुनै परिवर्तन ल्याएको छैन । उसले भोट लिनका लागिमात्रै हामीलाई सपना देखाएको छ भने उसैलाई हामीले भोट दिन हुन्छ कि हुँदैन ? यो कुरा जनताले पनि सोच्नुपर्छ ।

तर, पवित्रलाई कसले राम्रो मान्छे भनिदिने ?

पहिलो संविधानसभामा काठमाडौं ८ बाट चुनाव हारेका ब्रजाचार्यलाई हामीले सोध्यौं- ‘तपाईले गरेका व्यवहारिक कुराहरुमा काठमाडौंका जनतालाई कन्भिन्स गर्न सकेको देखिएन नि ? यो तपाईको कमजोरी होइन र ?’

जवाफमा उनले यसो भने-

यो त तपाईहरुको काम हो । एकजना उम्मेदवारले अर्को उम्मेदवारलाई केही भन्न मिल्दैन । तर, मैले जे भनिरहेको छु, यो यथार्थ हो । त्यो दलहरुको संयन्त्र काठमाडौं महानगरपालिकामा अहिले पनि छ ।

म यदि पोलिटिकल मान्छे मात्रै भइदिएको भए म यो सबै गर्दैनथें होला । तर, मेरो प्रष्ठभूमि भनेकै सोसियल फिल्ड हो । सबैलाई राम्रो हुनुपर्‍यो भन्ने हो । महानगरपालिकामा हामी एमालेबाट गयौं । तर, राम्रो काम गर्दा कांग्रेसलाई सघायौं । पीएल सिंहलाई पनि सघायौं ।
मलाई के लागेको छ भने १९ वर्षदेखि स्थानीय तहको चुनाव भएको छैन । धेरै युवाले भोट हाल्दैछन् । उनीहरु ठूला भनिएका दललाई भोट दिन इच्छुक छैनन् । उनीहरु हाम्रो हैन, राम्रो मान्छेलाई भोट दिन चाहन्छन् । तर, पवित्र राम्रो मान्छे हो भनेर कसले भनिदिने ? मैले भनेर त हुँदैन ।

यदि साँच्चै रामो मान्छे जिताउन खोजेको हो र महानगरपालिकालाई हाँक्न सक्ने मान्छे जिताउने खोजेको हो भने त त्यो त मेरोमात्रै जिम्मेवारी होइन । यसमा त जसले मलाई चिनेको छ, मेरो विगत थाहा छ, उनीहरुले भूमिका खेलिदिनु पर्‍यो नि त । पवित्र बेस्ट हो भनिदिनुपर्‍यो नि त ।

रञ्जु दर्शनाको असन्तुष्टि

मेयरका दाबेदार बज्राचार्यलाई हामीले अर्को प्रश्न तेस्र्यायौं- दलहरुबाट विरक्त भएका युवा पुस्ताको भोट त तपाईलाई हैन, रञ्जु दर्शनालाई पो झर्ला जस्तो छ नि ?

रञ्जुबारे पवित्रको टिप्पणी यस्तो छः

रञ्जुप्रति मेरो कुनै विरोध छैन । रञ्जुबाट जुन कुरा आएको छ, त्यो अरु युवाहरुको जस्तै हो । जसरी अरु युवामा असन्तुष्टि छ, त्यही असन्तुष्टिकै विस्फोटन पनि रञ्जुमा भएको हो । मलाई के लाग्छ भने देशमा यस्तै युवाहरुको आवश्यकता छ ।

तर, महानगरपालिका भनेको खाली त्यो सरसफाइ, ढल, ट्राफिक जाम मात्रै होइन क्या ! महानगरपालिकाले त यति धेरै कुरा हेर्नुपर्छ, यति धेरै कुरा हेर्नुपर्छ । महानगरपालिकाको मेयरले मुद्दा पनि हेर्नुपर्छ । संसार हेर्नुपर्छ ।

उहाँ (रञ्जु) ले बोलिरहेका कुराहरु यही धुलो धुँवामा मात्रै सीमित छ । ढलका कुरा, खानेपानीका कुराहरु छन् । यी त खास समस्यै होइनन्, यी त सही ढंगबाट व्यवस्थापन नगरिएकाले मात्रै आएका समस्या हुन् ।

महानगरपालिकाभित्र त्यस्तो के छ ?

महानगरपालिकाभित्र यति धेरै खराबी छ, यसलाई त ओभरहल गर्नुपर्छ । त्यहाँ सामान्य सुधार मात्रै गरेर पुग्दैन । महानगरको नेतृत्व मात्रै गरेर पुग्दैन, त्यहाँको कर्मचारीतन्त्रमा नै परिवर्तन ल्याउनुपर्ने स्थिति छ ।

सरकारको कर्मचारीलाई चित्त बुझेन भने एउटा ठाउँबाट अर्को ठाउँमा सार्न पाइन्छ, महानगरबाट यहाँका कर्मचारीलाई त काहीँ पनि सार्न मिल्दैन । उनीहरु त बसेपछि बसे । महानगरका कर्मचारीहरुको यस्तो नेटवर्किङ छ, त्यो तोड्न नसकेरै कार्यकारीहरु फेल हुने गरेका छन् । सरकारले एकजना कार्यकारीलाई पठाएको थियो, प्रकाशमानलाई भनेर मलाई यहाँबाट हटाइदेऊ भने । कर्मचारीतन्त्रभित्र उसले कामै गर्न नसक्ने स्थिति भयो ।

काठमाडौं महानगरका कर्मचारीसँग मिलेर काम गर्‍यो भने उसले भागवण्डा पनि पाउँछ, मिलेन भने खेदाइन्छ । यस्तो छ महानगरपालिकाको स्थिति । त्यसैले महानगरपालिकामा त्यहाँभित्रको समस्या थाहा पाएको मान्छे जानुपर्छ । नबुझेको मान्छे गयो भने त्यहाँ ऊ जोक्कर हुन्छ ।

नेताले त निर्णय गर्छ, गर भन्छ । तर, गर्ने हातहरु त जम्मै तिनै कर्मचारीहरु हुन् । तिनीहरुले एउटा फाइल खोज्नै महिनौं लगाइदिए भने सिद्धिएन ? विगतमा हामीले मुद्दाको एउटा निर्णय गर्‍यौं, तर त्यसको निर्णय कपी नै कर्मचारीहरुले गायव गराइदिए । अदालतले फाइल झिकायो, तर महानगरमा माइन्युट बुकै भेटिएन । त्यस्तो ठाउँ छ काठमाडौं महानगरपालिका ।

महानगरका कर्मचारीले मात्रै सही ढंगले काम गरेको भए त अहिले कुनै पनि घरहरु नक्शा विपरीत बन्ने थिएनन् । नक्शा विपरीत घर बनेको भनेकै नगरपालिकाका कर्मचारीका कारणले हो । उनीहरुले सही काम नगरेकै कारणले मात्रै यस्तो भएको हो । सार्वजनिक जग्गा मिचेर घर बनेको पनि नगरपालिकाका कर्मचारीकै कारणले हो ।

यो जम्मै कुराहरु कसलाई थाहा छ ? रञ्जु दर्शनालाई पनि थाहा छैन, अरुलाई पनि थाहा छैन, तर मलाई थाछ । व्यवहारमा के भइरहेको छ, कसो भइरहेको छ, मलाई थाहा छ ।

किशोर थापा पनि त छन् नि ?

तर, मेयरको दौडमा शहरी विकास विज्ञ पूर्वसचिव किशोर थापा पनि त छन् नि ? यस्तो प्रश्न गर्दा बज्राचार्यले अरुची भाव प्रकट गरे । उनले थापाको नाम नलिई यसो भने-

एउटा उदाहरण दिन चाहन्छु- पुरूषोत्तम ओझा धेरै समय आपूर्ति सचिव हुनु भो । उहाँलाई धेरैले विद्वान सचिव भन्छन् । मैले पनि उपभोक्ताको क्षेत्रमा काम गरेको हुनाले उहाँसँग भेट भइराख्थ्यो । उहाँले मलाई माया पनि गर्नुहुन्थ्यो ।

एकपटक अन्नपूर्ण होटलमा एउटा कार्यक्रममा पूर्वसचिव ओझाले पेपर प्रस्तुत गर्नुभयो । सबैले उहाँको तारिफ गरे । मलाईचाहिँ हाँस उठ्यो ।
सो कार्यक्रममा मैले भनें- ओझाज्यू, तपाईलाई त यति धेरै कुराहरु थाहा रहेछ, आफैं सचिव हुँदाखेरि किन नगरेको त यो काम ? बाहिरबाट काठमाडौंमा अत्यावश्यक वस्तु आउँदा भन्सारमा भएका झण्झटबारे तपाईलाई यति धेरै थाहा रहेछ, आफैं, सचिव हुँदा किन कार्यान्वयन नगरेको ?

यसपछि बज्राचार्यले नेपाल सरकारका सचिवको आलोचना गर्न थाले-

पदमा हुँदाखेरि केही नगर्ने । सचिव हुँदाखेरि यति धेरै इन्फरमेशनहरु हुन्छन्, ती सूचना उनीहरु विदेशीलाई बेच्छन् । आइएनजीओहरुले त्यस्ता सूचना प्रयोग गरिराखेका हुन्छन् । आफ्नो देशलाई चाहियो भने एउटा फाइल पनि भेटिँदैन । आइएनजीओ/एनजीओले पनि यस्ता सचिव भइसकेका व्यक्तिहरुलाई हायर गरेर राखेको हुन्छ । सचिव हुँदा भन्दा पनि धेरै तलब दिएर काम गराएको हुन्छ । यसो गर्दा उनीहरुले १० वर्ष मेहनत गर्दा नपाउने सूचना क्षणभरमै पाउँछन् । यसरी विदेशीहरुले प्रयोग गरिरहेका छन् । जम्मै यस्तै हो क्या सबै ।

‘वचन फेर्नु र बाबु फेर्नु उस्तै हो’

तपाईले महानगरपालिकामा जित्नुभयो भने गर्नुहुन्छ चाहिँ के ? यो प्रश्नको जवाफ बज्राचार्यले यसरी फर्काएः

अहिले जुन अधिकारहरु महानगरपालिकाकालाई थप दिइएको छ, यो पाँच वर्षमा मोनो रेल, माथिको रेल, चलाउने त के यो नयाँ अधिकारहरुको अभ्यास गर्नलाई नै केही वर्ष लाग्छ । कहाँ कर उठाउने, के गर्ने भन्ने अध्ययन गर्नलाई नै केही वर्ष लाग्न सक्छ ।

कतिपयले स्मार्ट सीटी भनेका छन् । तर, यो काठमाडौं हेरिटेज सीटी हो । यसलाई पनि बचाउनुपर्छ । नयाँ एरियामा स्मार्ट सीटी बनाउनुपर्छ, परम्परागत ठाउँहरुलाई बचाउनुपर्छ ।

अहिले मल्टी स्टोरिङ पार्किङहरु बनाउन सकिन्छ । त्यसपछि फ्लाइओभरहरु बनाउँदा हुन्छ । जुनबेला सञ्चयकोषको बिल्डिङ बन्यो, सञ्चयकोषको काम बिजनेस गर्ने होइन, अन्यत्र जग्गा खरीद गर्न सक्थ्यो । मैले त्यहाँ मल्टी स्टोरेज पार्किङ बनाऔं भनेको थिएँ । त्यो गर्न सकेको भए फुटपाथमा जाम हुँदैनथ्यो । तर, मैले त्यसो भन्दा केशव स्थापित भाडामा दिएर आफू पैसा उठाउने योजनामा रहेछन् ।

सानो बच्चामा हामीलाई संस्कृत पढाउने बाजे हुनहुन्थ्यो, उहाँले हामीलाई वचन फेर्नु र बाबु फेर्नु एउटै कुरा हो भन्नुहुन्थ्यो । त्यसैले म फेर्नेखालको वचन गर्दिनँ ।

जनतालाई कोरा सपना देखाउने हैन, जनतासँगै बसेर हामीले काम गर्नुपर्छ । मैले वडामा काम गर्दा मैले त्यसैगरी समुदायलाई राखेर काम गरें । इञ्जिनियरलाई बोलाउँदा पनि कम्युनिटीलाई राखेर बाम गरें । ठेक्कामा लगाउँदा ५ लाख लाग्ने काम एक ३ लाखमै बन्छ । र, क्वालीटी पनि कमजोर हुँदैन । त्यसैले जनतासँग सँगै बसेर जानुपर्छ ।

साथैमा थिइन् उपमेयरकी दाबेदार सबिना अर्याल

हामीले मेयरका उम्मेदवार पवित्र बज्राचार्यसँग काठमाडौं महानगरका विषयमा कुरा गरिरहँदा उपमेयरकी उमेद्वार सबिना अर्याल पनि साथैमा थिइन् । नयाँशक्ति पार्टीबाट महानगरपालिकाको उपमेयरमा उठेकी अर्यालले आफ्नो संक्षिप्त भनाइ यसरी राखिन्ः

मेयरका उम्मेदवार पवित्र दाइले भनेकै कुराहरु मेरा पनि साझा हुन् । किनभने हामी दुबै मसाल चिन्हमा चुनाव लडिरहेका साझा उम्मेदवार हुन् ।

म न्यरोडको टेबाहलमा जन्मेकी हुँ । उषा मेसिन भएको घर, मेरो माइती नै त्यहीँ हो । गुदपाक पसल छेउमा लहरै अर्यालहरुको घर छन् । विवाह भएपछि हालको घर कोटेश्वरमा छ ।

मैले १२ कक्षासम्म सेन्ट मेरिजमा पढें । युकेमा होटल म्यानेजमेन्ट पढें । युरोपमा बस्दा बेल्जियममा एनआएनमा निर्वाचित संस्थापक महिला सदस्य भएर काम गरें ।

बेलायतमा होटल म्यानेजमेन्ट पढ्दै गर्दा पार्टीको विदेश विभाग सचिव थिएँ । नवराज सुवेदीजीहरुसँग नेकपा एकीकृतमा काम गरें । माओवादीसँग एकता भएपछि पनि केन्द्रीय सदस्य थिएँ । तर, प्रचण्डले केही गरेनन् । हामी उत्पीडनमा पर्‍यौं । पार्टीमा तेस्रो दर्जाको नागरिकजस्तै भइयो । हामीलाई बैठकमै बोलाइएन ।

मेरा श्रीमान् बसन्त दवाडीको संगतले पञ्चायतकालबाट वाम राजनीतिमा लागें । शशी श्रेष्ठ दिदीसँग संगत भयो । लीलामणि पोखरेलले त्यसबेला भाषण गर्न सिकाउनुहुन्थ्यो ।

अहिले उपमेयरको उम्मेदवार बनेपछि पवित्र बज्राचार्य दाइसँग भर्खरै सहकार्य सुरु भएको छ । हाम्रो नेचरको बण्डिङ मिलेको छ । एकदमै राम्रो सहकार्य भइरहेको छ ।

मैले राज्यको कुनै संरचनामा जोडिएर काम नगरे पनि राजनीतिक र सामाजिकरुपमा काम गरेकी छु । रिसर्चका कामहरु गर्दा समुदायलाई तलसम्म गएर मैले बुझेकी छु ।

संरचनागत हिसाबले स्थानीय निकायमा सही सरकारको अभ्यास अब प्रारम्भ भयो । यो स्थानीय तहलाई जुन पावर दिइएको छ, जनतामा त्यसको सेवा प्रवाह मुख्य कुरो हो, त्यो अब निर्विघ्न हुन्छ भन्ने लाग्छ । तर, यसलाई व्यवस्थापन कसरी गर्ने ? थाहा नभएको वा हिजो थाहा भएर पनि बुझ पचाएकाहरुलाई जिताएर यो काम हुन सक्दैन ।

पहिलो कुरा आधारभूत आवश्यकता नै हो । २ लाख ८४ हजार मतदाताहरुले मास्क लगाएर हिँड्ने वातावरण नहोस् । यसको व्यवस्थापनको भिजन हुनुपर्‍यो ।

मेरो एजेण्डामा पर्यावरण पहिलो हो । दोस्रो फोहोरमैला व्यवस्थापन हो । डा. भट्टराईले फोहोर व्यवस्थापन गर्न खोज्दा नदिएर राजनीतिक इस्यु बनाइयो । अब स्थानीय सरकारले यसलाई व्यस्थापन गर्न सक्छ ।

हामी राजधानीको फोहोरबाट वायो ग्यास बनाएर उर्जा धान्न सक्छौं । साना-साना पानीका स्रोतहरुलाई परिचालन गर्न सक्छौं ।

काठमाडौंको अर्को समस्या भनेको हामीले हेरिटेजलाई कसरी बचाउने भन्ने हो । प्रविधिको विकाससँगै परम्परालाई कसरी बचाउने ? यसलाई पनि बचाउँदै स्मार्ट सीटी बनाउनेतिर जानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment