Comments Add Comment

जेठ १५ मा कामचलाउ बजेट ल्याउन तीन दल सकारात्मक

दोस्रो चरणको चुनाव जेठ ३१ मै !

फाइल तस्वीर

२५ बैशाख, काठमाडौं । नयाँ कार्यक्रम समावेश नगरी जेठ १५ मै कामचलाउ बजेट ल्याउन प्रमुख तीन दलबीच भएको सकारात्मक भएको नेताहरुले बताएका छन् । साथै दोस्रो चरणको चुनाव पूर्वघोषित मितिमै हुनेछ ।

प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार अबेर भएको छलफलमा महाअभियोगका साथै बजेट, मतगणना र दोस्रो चरणको चुनावबारे कुराकानी भएको थियो ।

नेताहरुका अनुसार जेठ १५ मै कामचलाउ बजेट ल्याउन तीन दल सहमति नजिक पुगेका छन् ।

यद्यपि विपक्षी दलका नेता ओलीले बजेट र दोस्रो चरणको चुनावबारे आफ्नो पूर्ववत् अडान राखेका छन् । एमालेले जेठ १५ मा बजेट ल्याउनु पर्ने र दोस्रो चरणको चुनाव बजेट अघि नै गर्नु पर्ने अडान राख्दै आएको छ ।

बैठकमा सहभागी एक नेताले भने, ‘बजेट कामचलाउ भएपछि अडान छाडेको जस्तो देखिन्छ ।’

दोस्रो चरणको चुनाव जेठ ३१ मै !

जेठ १५ मा बजेट ल्याउनुपर्ने र बजेट अघि नै चुनाव गर्नु पर्ने एमालेको अडानपछि दलहरुबीच दोस्रो चरणको चुनाव सार्नेबारे छलफल सुरु भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच केही दिनअघि सिंहदरबारमा भएको भेटमा पनि यसबारे कुराकानी भएको थियो । र, माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले अन्य दलसँग परामर्श गर्ने जवाफ दिएका थिए ।

तर, अब जेठ ३१ को चुनाव सार्ने सम्भावना टर्दै गएको छ । निर्वाचन आयोग स्वयंमले दोस्रो चरणको चुनाव बजेट अगाडि सार्न नसकिने बताएको छ ।

अब दोस्रो चरणको चुनाव पूर्व घोषित मिति जेठ ३१ मै हुने सम्भावना बढेको छ । यद्यपि यसबारे दलहरु छलफलमै रहेकाले अन्तिम निर्णय हुन बाँकी रहेको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment