Comments Add Comment

ललितपुरलाई सुन्दर महानगर बनाउने माओवादी केन्द्रको प्रतिबद्धता

माअाेवादी केन्द्रका मेयरका उम्मेदवार दिनेश महर्जन र उपमेयर हसिना शाक्य

२५ वैशाख, काठमाडौँ । ललितपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रका तर्फबाट नगरप्रमुख र उपप्रमुखका उम्मेदवारले प्रचारप्रसारको क्रमलाई तीव्र पारेसँगै आफ्नो प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेका छन् ।

माओवादीका तर्फबाट महानगरपालिकाका मेयरका उम्मेदवार दिनेश महर्जनले स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा प्रमुख जोड दिने बताए ।

उनले ललितपुरका विभिन्न स्थानमा १५ शैयाको अस्पताल बनाउने र निःशुल्क उपचारको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गरे । विपन्न परिवारका बालबालिकालाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने, खानेपानीको समस्या समाधान गर्ने, व्यवस्थित सहरीकरण, सफा र सुन्दर शहर बनाउनेलगायत आफनो योजना रहेको बताए ।

‘ललितपुर महानगरलाई पाँच वर्षभित्रमा ठूलो परिवर्तन गर्छौं’, उनले भने, ‘जसको नीति उसकै नेतृत्व भन्ने एजेन्डाका साथ जनतामाझ गएका छौँ,’ महर्जनले भने ।

ललितपुर महानगरभित्र जातीय छुवाछूत, सामाजिक विभेदको अन्त्य गर्ने योजना रहेको भन्दै उनले ऐतिहासिक ललितपुर, पाटन तथा अन्य क्षेत्रको एकीकृत विकास गर्ने योजना रहेको बताए ।

भौतिक पूर्वाधार निर्माणमा जोड दिएको माओवादी केन्द्रले पहिलो पटक उपमहानगरबाट महानगरमा प्रवेश गरेको ललितपुरलाई व्यवस्थित बनाउनु नै पहिलो सर्त रहेको महर्जनको भनाइ छ ।

महानगरभित्र उचित ढल निकासको प्रबन्ध गर्ने, जमिनमुनिको पानीको उचित प्रयोग गर्दै रिचार्ज गर्ने प्रणालीको विकास गर्ने, फोहोरबाट बिजुली ग्याँस निकाल्ने र कम्पोस्ट मल कारखाना स्थापना गरी कृषि क्षेत्रको विकासमा जोड दिने महर्जनका योजना छन् ।

यस्तै ढलको पानी प्रशोधन गरेर मात्रै नदीमा खसाल्ने प्रणालीको विकास गरिने प्रतिबद्धतामा उल्लेख गरिएको छ । ललितपुर महानगरपालिकालाई पूर्णरुपमा स्मार्ट सिटी बनाउने आफ्नो पार्टीको योजना रहेको महर्जनले बताए ।

ललितपुर धुलोमैलोमुक्त, फोहोरमैलामुक्त बनाउने योजना अगाडि सारिएको छ । महानगरमा निःशुल्क वाइफाईको व्यवस्था तथा ज्येष्ठ र गरिबीको रेखामुनि रहेका नागरिकलाई जीविकोपार्जन गर्नसक्ने गरी आजीवन भत्ताको व्यवस्था गरिने महर्जनले जानकारी दिए ।

स्वास्थ्य सेवा आम नागरिकलाई सहज एवम् सर्वसुलभ बनाउने, महिला तथा युवालाई स्वरोजगारका लागि अभिप्रेरित गर्ने, निःशुल्क तालिम तथा अन्य सीपमूलक प्रविधि हस्तान्तरण गर्ने योजना रहेको उनले बताए ।

यस्तै उपमेयरका उम्मेदवार हसिना शाक्यले अन्य राजनीतिक दलको भन्दा आफ्नो पार्टीको व्यावहारिक र वस्तुनिष्ठ योजना अगाडि सारिएको बताए ।

‘हामीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना अगाडि सारेका छौँ । सरकारले अगाडि सारेको उज्यालो नेपालको अभियानलाई थप व्यावहारिक रुपमा अगाडि बढाउनेतर्फ नै हामी केन्द्रित छौँ,’ उनले भने ।

अत्यधुनिक सिटी हल निर्माण गर्ने, सबै वडाका मुख्य स्थानलाई वाइफाई जोन बनाउने, युवाका लागि स्वरोजगार कार्यक्रम ल्याउने, सुरक्षाका लागि चोकचोकमा सिसी क्यामरा जडान गर्ने, खोलानाला सफाइ तथा पार्क निर्माण गर्ने, बालबालिका र वृद्धवृद्धाका लागि मनोरञ्जनस्थल निर्माण गर्नेजस्ता योजना माओवादी केन्द्रका उम्मेदवारले अगाडि सारेका छन् ।

ललितपुर महानगरका लागि कुल १६७ जनप्रतिनिधि चयन हुनेछन् । त्यसका लागि २६० मतदान केन्द्र तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment