Comments Add Comment

सर्जिकल सामाग्रीको पनि खुद्रा मूल्य तोकिने, सरकारले बनायो निर्देशिका


२६ बैशाख, काठमाडौं । सरकारले अब प्रविधिजन्य स्वास्थ्य सामग्री वा उपकरणको पनि खुद्रा मूल्य तोक्ने भएको छ । यसका लागि स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धी निर्देशिका २०७४ मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।

प्रविधिजन्य स्वास्थ्य सामाग्री भन्नाले शल्यक्रिया गर्दा चाहिने सामग्रीका साथै मेडिकल उपकरण, प्रत्यारोपणयन्त्र, मापनयन्त्र, गर्भ निरोधक साधन वा बस्तु पनि पर्दछन् ।

निर्देशिका अनुसार औषधि परामर्श परिषद वा औषधि सल्लाहकार समितिको राय लिएर अधिकतम खुद्रा मूल्य तोकिनेछ । निर्देशिका लागू भएपछि गुणस्तरीय स्वास्थ्य सामग्री तथा उपकरणहरु मात्रै खरिद हुने र सस्तो समेत पर्ने स्वास्थ्यमन्त्री गगनकुमार थापाले बताए ।

‘स्वास्थ्य सामग्री तथा उपकरण किन्दा कुनलाई कति पर्ने हो ? त्यसको गुणस्तर के हुने ? जस्ता व्यवस्था नहुँदा गुणस्तर र रकममा सन्तुलन थिएन,’ स्वास्थ्यमन्त्री थापाले भने, ‘अबदेखि यसबाट करोडौं रुपैयाँको सदुपयोग हुनेछ भने गुणस्तरीय सामग्रीहरु मात्रै खरिद हुने छन् ।’

प्रविधिजन्य स्वास्थ्य सामग्री वा उपकरणको गुणस्तर रहे नरहेको सम्बन्धमा उद्योग मन्त्रालय अन्तर्गतको नाप तौल तथा गुणस्तर विभाग, राष्ट्रिय औषधि प्रयोगशाला, जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण गरिने छ जहाँ विश्व स्वास्थ्य संगठन -डब्लूएचओ)ले निर्धारण गरेको मापदण्डलाई आधार मानिनेछ ।

यस्ता उपकरणको खरिद, गुणस्तर, मूल्य लगायतको अनुगमन औषधि व्यवस्था विभागले गर्नेछ ।

डब्लूएचओको मापदण्ड नभएको अवस्थामा प्रचलित अन्तर्राष्ट्रिय मान्यता समेतका आधारमा प्रविधिजन्य स्वास्थ्य सामग्री वा उपकरणको राष्ट्रियस्तर निर्धारण गरिनेछ । राष्ट्रियस्तर निर्धारण गर्दा मानव तथा पशु स्वास्थ्यमा पर्ने असर तथा जोखिम समेतलाई ध्यानमा राख्नु पर्ने निर्देशिकामा उल्लेख छ ।

राष्ट्रियस्तर बमोजिम गुणस्तर कायम नभएको प्रविधिजन्य स्वास्थ्य सामग्री वा उपकरण नेपालभित्र उत्पादन वा पैठारी गर्न पाइने छैन । मन्त्रालयले कुनै पनि मुलुकमा एकपटक प्रयोग भइसकेका तथा पुराना प्रविधिजन्य स्वास्थ्य सामग्री नेपालभित्र बिक्री वितरण तथा प्रयोग गर्न पाइने छैन ।

निर्देशिका अनुसार उपकरण उत्पादन गर्ने उद्योग स्थापना गर्न वा त्यस्तो सामग्री तथा उपकरणको निकासी पैठारी गर्न औषधि व्यवस्था विभागबाट सिफारिसपत्र लिएर नेपालमै दर्ता भएको हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment