Comments Add Comment

रन्जु दर्शनाको ‘दमदार’ भाषणः म मैदानमा आउँदा किन यत्रो कोलाहल हजुर ?

आजका बालबालिकालाई लुकामारी खेल्न सिकाउनुछ

२७ बैशाख, काठमाडौं ।

तिम्रो घर चाँचरी त्यैं पर होइन र
तिमीलाई हाम्ले चाँचरी चिनेको छैन र
बाबरी फुलको बोट
रन्जु आइन् है ढल्काउँदै स्टकोट

विवेकशील नेपालीको चुनावी सभालाई उद्घोषकले यस्तो गीतबाट सुरु गरे । नभन्दै रन्जु स्टकोट ढल्काउँदै स्टेजमा उक्लिइन् ।

सानोगौचरणको फुटबल मैदानमा बुधबार अपरान्ह आयोजित सभामा करिब एक हजार मानिस उपस्थित थिए । सुरुमा केही वक्ताहरुले बोलेपछि रन्जुलाई स्टेजमा बोलाइएको थियो । आफ्नो परिचित मुस्कानका साथ रन्जुुले दर्शकलाई अभिवादन गरिन् र हात हल्लाइन् ।

रन्जुले माइक समातेपछि हुटिङ शुरु भयो । होहल्लाकै बीचमा उनले करिब १५ मिनेट जमेर भाषण गरिन् । प्राय अन्तरवार्ताहरुमा एउटै कुरा दोहोर्‍याइरहने रन्जुको भाषणमा आज नयाँपन र एक हदसम्म निखार थियो ।

रन्जुले भाषण यसरी थालिन्, ‘मेरो एकजना साथीले भन्दै हुनुहुन्थ्यो, यो ग्राउन्डमा कहिले पनि सय-दुई सय जनाभन्दा बढि मानिस जम्मा भएका छैनन् । तर, आज यति ठूलो उपस्थितिले म भित्रैदेखि तरंगित बनेकी छु ।’

त्यसपछि उनी भावुकतामा प्रवेश गरिन् ।

‘वैशाख ५ गते उम्मेदवारी घोषणा गरेयता आजका दिनसम्म मैले अपार माया, सद्भाव र समर्थन पाएकी छु । म ढुक्कका साथ भन्नसक्छु, मैले काठमाडौंमा हजार जना आमा पाएँ । हजार जना बुवा पाएँ । हजार जना दाजुभाइ र दिदीबहिनी पाएँ । म उहाँहरु सबैलाई भन्न चाहन्छु, अब तपाईंकी बहिनी, छोरी, नातिनी आइसकी, हामी सबैको लागि बस्नयोग्य काठमाडौं बनाउनका लागि ।’

‘जुन एजेन्डा बोकेर म आएँ, जसरी हामीले आँट गर्‍यौं हामी सक्छौं भनेर, त्यो चाह यहाँहरुको मनको कुनै कुनामा दविएको थियो र जब हामी यसरी उर्लियौं, यहाँहरुको मनमा लुकेको भाव पनि उर्लियो ।’

त्यसपछि रन्जुले काठमाडौंको बाटोको कुरा उप्काइन्, जसरी हरेक उम्मेदवारले उप्काउँछन् ।

उनले भनिन्, ‘काठमाडौंमा चार सय किलोमिटर पिच बाटो छ, आहा ! तर त्यो बाटोमा लाखौं खाल्डाखुल्डी छन् । खाल्डाखुृल्डी पुर्नेबारे कोही सोच्नुहुन्न । कोही बोल्नुहुन्न । बरु अझ खाल्डो बनाएर भुईंबाट रेल कुदाउने कुरा गर्नुहुन्छ । महोदय ! त्यो बाटोमा त एउटा सफा टेम्पो कुदाउन पनि मुस्किल छ । हामी त्यही खाल्डो पुर्ने सामान्य लक्ष्य लिएर आएका छौं ।’

त्यसपछि थपिन्, ‘खाल्डो सडकमा मात्रै छैन । सरकार र नागरिकबीचको सम्वन्धमा पनि खाल्डो छ । म त्यो खाल्डो पनि पुर्न आएकी हुँ ।’

‘मलाई धेरैले सोध्नु हुन्छ तिम्रो सपना के हो ? म भन्न चाहन्छु, मेरो सपना तपाईंहरुको भन्दा भिन्न छैन । मलाई पनि तपाईंहरुलाई जस्तै बाटोमा, सडकमा निर्धक्क हिँड्न सकौंं भन्ने लाग्छ । राति ढुक्कसाथ निदाउन सकौं भन्ने लाग्छ । बन्द हड्तालले आफ्नो काममा व्यवधान नआओस भन्ने लाग्छ । राजनीतिक दलको जुलुसका कारण सडकमा घन्टौं जाममा पर्नु नपरोस भन्ने लाग्छ । मलाई लाग्छ, यी ठूला सपना होइनन् ।’

त्यसपछि उनले गम्भीर कुरा निकालिन् ।

‘यी जो साना भाइबहिनीहरु यहाँ कुदिरहेका छन्, यहाँ त खुल्ला ठाउँ छ र कुद्छन् । नत्र उनीहरु आइप्याडभित्र कुद्न विवश छन्, मोबाइलभित्र कुद्न विवश छन् । कुनै ठाउँ छैन उनीहरुलाई कुद्नका लागि । उनीहरुलाई लुकामारी थाहा छैन । चोर-पुलिस खेल्न जान्दैनन् । ढुंगा ढलाई सिकेका छैनन् । म चाहन्छु, उनीहरुले ती खेलहरु थाहा पाउन् । त्यसका लागि काठमाडौंमा खुल्ला स्थान चाहिन्छ । हामी काठमाडौंमा ठूला ठूला भवन होइन, खुल्ला ठाउँ बनाउन आएका हौं । अहिलेको समयमा काठमाडौंमा मेट्रो रेल, मोनोरेल होइन, साइकल कुदाउने सय किलोमिटर ट्र्याक चाहिएको छ । हामी त्यसका लागि आएका र्हाैं ।’

रन्जुले बृद्धबृद्धाको कुरा पनि गरिन् । बृद्ध भत्ता लिनका लागि बृद्ध-वृद्धाहरुलाई सहज व्यवस्था हुनुपर्ने माग गरिन् ।

आफ्नी ८६ वर्षीया हजुरआमाको उदाहरण दिएर भनिन्, ‘वृद्धभत्ता लिन बैंकमा जाँदा उहाँले तीन तल्लामाथि उक्लिनु पर्छ । त्यो उमेरको मान्छेलाई तीन तल्ला उक्लिन कति कठिन हुँदो हो ? अनुभवी र विज्ञहरुले वृद्धभत्ता त बढाउनुभयो, वृद्धहरुका लागि भूईंतल्लामा बैंक खोल्नुपर्छ भन्ने सोच उहाँहरुमा पैदा भएन । हामी त्यो सोच लिएर आएका छौं ।’

त्यसपछि भ्रष्टाचार र भ्रष्टाचारीको कुरा कोट्याइन् ।

‘भ्रष्टाचार रोकौं, एक-दुई-तीन-चार बन्द गरौं भ्रष्टाचार, भनेर कयौंपटक सडकमा भद्र आन्दोलनमा उत्रियौं । आन्दोलन मात्रै गरेनौं, संविधानले सुनिश्चित गरिदिएको सूचनाको हक प्रयोग गर्न सरकारी निकायमा गयौं । हामीले सूचना माग्दा उहाँहरु हच्किनुभयो, डराउनुभयो । सूचना दिँदा त हामीले भ्रष्टाचार गरेका कुराहरु बाहिर आउने भए भनेर त्रशित बन्नुभयो । त्यतिबेला सूचना माग्दा त यति डराउनु भयो, अहिले हामी यसरी उर्लिएको देख्दा कति आत्तिनुभएको होला ।’

त्यसपछि विकास निर्माणका कुरा झिकिन् ।

‘अघिल्लो वर्ष ३ अर्ब ५० करोड बजेट आएको रहेछ । यति पैसाले धेरै काम गर्न सकिन्छ, धेरै । तर, त्यसमध्ये एक अर्ब ८० करोड मात्रै खर्च भएछ,’ उनले आफ्ना प्रतिस्पर्धीलाई छेड हान्दै भनिन्, ‘अनुभवी र विज्ञहरुले त्यहाँ विवेक पुर्‍याउन कमी गर्नुभयो कि खल्तीमा कम हाल्नु भयो, पुरै पैसा त खर्च भएनछ नि त हजुर !’
हुटिङ हुन्छ ।

‘खर्च भएको पैसा पनि कसरी, कहिले खर्च हुन्छ थाहा छ हजुरहरुलाई ?’ उनले अगाडि थपिन् ‘झरी परिरहँदा मज्जाले खर्च हुन्छ । एकचोटि झरी पर्दा पिच लगायो, चार-पाँच दिनमा उप्किन्छ, फेरि लगायो फेरि उप्किन्छ । खर्च भएन त ? त्यसलाई रोक्नका लागि अनुगमन चाहिएको हो । कडाई चाहिएको हो । माफिया बिचौलियालाई संरक्षण दिएर राखिरहेका नेताहरुलाई उनीहरुको कुर्सीबाट निकाल्ने बेला आएको छ । (हुटिङ)

त्यसपछि उनले युवालाई नेतृत्व दिन ठूला पार्टीहरुलाई घच्घच्याइन् ।

‘तपाईंहरु जुन दलमा आवद्ध हुनुहुन्छ, उहाँहरुलाई सोध्नुस्, युवालाई परिचालन गर्नुभयो, ढुंगा हान्न र टायर बाल्न सिकायौं, युवालाई नेतृत्वमा जाउ भनेर चाहिँ कहिले धकेल्छौं ? कहिले सिकाउँछौं ?’ (रन्जु… रन्जु… भन्दै नारा लाग्छ ।)

‘विवेकशील नेपालीबाट मैले त्यो साथ पाएकी छु । यहाँ कसैसित अहम् छैन । कपाल फुलिससकेका दाइहरु हुनुहुन्छ । उज्जल दाइको दाह्री नै फुलिसक्यो । उहाँलाई अहम् थिएन होला ? मैले त जापान, अमेरिका, जर्मनी, न्यूजिल्याण्डबाट पढेर आएको, म आफैं अगाडि बढ्नुपर्छ भन्ने भावना थिएन होला ? तर, उहाँहरु त्यो अहमभन्दा माथि उठ्नुभयो । यो बेला भनेको युवाहरुले नेतृत्व गर्ने हो भन्ने महसुस गर्नुभयो । पछाडि बसेर सघाउन तयार हुनुभयो । उहाँहरुले यति गर्न सक्नुभएको छ भने तपाईंहरु किन सक्नुहुन्न ? युवालाई अघि बढाउन किन सक्नुहुन्न ?’

त्यसपछि रन्जुले भूईंमा राखिएको पत्रिका टिपिन् ।

‘आज यो पत्रिकाको पहिलो पानामै पहिलो मेयरका ती दिन भन्ने समाचार आएको छ । काठमाडौं नगरपालिकामा २०१० सालमा भएको पहिलो निर्वाचनमा विजयी मेयर जनकमान श्रेष्ठ त्यतिबेला २५ वर्षको हुनुहुन्थ्यो । आज ६३ वर्षपछि यो आधुनिकताको युगमा २१ वषर्ीया युवतीले केही गर्न सक्छु भनेर अठोट बोकेर आउँदा यो किन यत्रो कोलाहल हो हजुर ? मलाई यो बुझाइदिनुस् ।

फेरि रन्जु… रन्जु… भन्दै नारा लाग्छ ।

‘अन्त्यमा’ उनले भनिन्, ‘तपाईंहरुको अगाडि यही अनुहार पटक-पटक आउनुछ । मसँग धेरै पैसा छैन, प्लास्टिक सर्जरी गरेर अर्को अनुहार बनाउन । धेरै पैसा छैन अर्को ठाउँमा जग्गा लिएर सर्ने । यही अनुहार पटक-पटक यहाँहरुलाई देखाउनै पर्छ । यदि मैले काम गरेर देखाइनँ भने हजुरहरुले मलाई निकाल्नुस् । यो हो मेरो ग्यारेन्टी ।’

आफ्नो भाषण टुंंग्याउने क्रममा उनले भनिन्, ‘म स्टेजमा आउनुअघि धेरै जनाले भन्नुभयो, बहिनी आज दमदार भाषण गर्नुपर्छ । म दमदार भाषण गर्न जान्दिनँ । तर मनको कुरा खुलस्त राख्न सक्छु । यति भन्दै म तपाईंहरुबाट विदा हुन्छु ।’

तर ,२१ वर्षकी केटीको यत्तिको भाषण दमदार थिएन भन्न मिल्दैन ।

भाषण सकिएपछि निकै बेरसम्म रन्जु… रन्जु भन्दै हुटिङ भइरह्यो । कसैकसैले वान्स मोर भन्दै कराए पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment