Comments Add Comment

दोलखाका ४ मतदान केन्द्रमा तनाव, एमाले उम्मेदार मैदान छाडेर हिँडे

३१ वैशाख, दोलखा । तीनवटै प्रदेश अन्तर्गत अधिकांश जिल्लाका स्थानीय चुनावमा मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ । तर, दोलखामा भने तनाव देखिएको छ ।

दोलखाको आलम्पु बुथमा मतदान रोकिएको छ भने तामाकोशी गाउँपालिकाका प्रमुखका एमाले उम्मेदवार ईश्वरचन्द्र पोखरेल प्रहरीकै संलग्नतामा बुथ कब्जा भएको भन्दै चुनावी मैदान छाडेर हिँडेका छन् ।

पोखरेल एमाले दोलखाका जिल्ला अध्यक्ष समेत हुन् । उनले मतदान गर्ने जामुने बुथमा कांग्रेस र माओवादीले आक्रमण गरेको भन्दै आफ्नो पक्षका मतदाताको सुरक्षा गर्न मतदान केन्द्र छाडेर हिँडेको पोखरेलले बताए ।

सो वडाका एमाले उम्मेदवार परशुराम कार्की र एमालेका गाउँपालिका संयोजक जिवस खड्का गम्भीर घाइते भएका छन् । कालपानी बुथमा उनीहरुमाथि कांग्रेस र माओवादी कार्यकर्ताले आक्रमण गरेको एमाले नेताले बताए । घाइतेलाई प्रहरीले उपचारका लागि भनेर जामुने बुथमा ल्याएर छाडेको छ ।

एमाले उम्मेदवार इश्वरचन्द्र पाेख्रेल

जिल्ला प्रहरी कार्यालयले भने सो स्थलमा स्थिति सामान्य बनाएर पुनः मतदान थालिएको जनाएको छ । तर, एमाले नेताले दिएको जानकारी अनुसार जफेका दुवै बुथबाट एमालेका उम्मेदवार र मतदाता भागिसकेका छन् ।

दोलखाको तामाकोशी गाउँपालिकाको शहरेमा पनि हवाई फायर भएको छ ।

उता वैत्यश्वर गाउँपालिकाको गैरीमुदीका दुवै बुथमा विहानैदेखि तनाव सिर्जना भएको छ । कांग्रेस र एमालेबीच झडप भएपछि प्रहरीले हवाई फायर गरेको थियो ।

दुवै बुथ कांग्रेस र माओवादीले कब्जा गरेको भन्दै एमालेले निर्वाचन बदर गर्न जिल्ला निर्वाचन कार्यालयमा उजुरी दिएको छ ।

आलम्पुमा एमालेले अरु पार्टीका कार्यकर्तामाथि आक्रमण गरेको भन्दै उजुरी परेपछि त्यहाँ भने मतदान रोकिएको छ । गौरीशंकर गाउँपालिकाका ठाउँ-ठाउँमा एमालेले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको कांग्रेस र माओवादीले आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment