Comments Add Comment

काठमाडौंका मतदाताले कसलाई रोजे ? महानगरबासी भन्छन्- पार्टी होइन, व्यक्ति हेरियो

३१ बैशाख, काठमाडौं । पहिलो चरणको स्थानीय चुनावमा भोट हाल्ने दिन आइतबार बिहान १० बजे बबरमहलको नेपाल टेलिकमस्थित मतदान केन्द्रमा पुग्दा चुनावी रौनक थियो । विभिन्न उमेर समुहका मतदाताहरु उत्साहित मुद्रामा भोट हाल्न आइरहेका थिए । र, उत्तिकै उत्साहित मुद्रामा र्फकँदै थिए ।

यो चुनावमा विशेष गरी युवापुस्तामा बढी उत्साह देखियो । पहिलोपटक स्थानीय चुनावमा भोट हालिरहेको यो पुस्ता अब केही हुन्छ भन्ने मुद्रामा थियो । अलि उमेर खाएकाहरु चाहिँ आशा र निराशाको दोहोरो मनस्थितिमा पाइए ।

काठमाडौंका करिब अढाइ लाख मतदाताहरुले कसलाई रोजे भन्ने प्रश्न अहिले मतिपेटिकाभित्र कैद बनेको छ । सम्भवतः सोमबारदेखि मतपत्रका पोकाहरु खुल्दै जाँदा यसको रहस्य बाहिर आउने नै छ ।

अनलाइनखबरले काठमाडौं महानगरका लाखौं मतदाता मध्ये ९ जनालाई प्रतिनिधि पात्र मानेर प्रश्न गर्‍यो- तपाईहरुले यो चुनावमा कस्तो उम्मेदवारलाई रोज्नुभयो ? पार्टी हेरेर भोट हाल्नुभयो कि व्यक्ति ?

अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै उनीहरुले यस्तो जवाफ दिएः

पार्टीभन्दा माथि उठेँ
हरिकृष्ण सैँजु, बबरमहल (६५ वर्ष)

स्थानीय चुनावमा भोट हाल्न पाउँदा रमाइलो लागिरहेको छ । यो एउटा ठूलो अवसर हो जस्तो लाग्छ । यसले देशको भविश्य निर्धारण गर्न मद्दत पुग्नेछ ।

स्थानीय चुनाव नहुँदा देश अन्योलमा थियो । कर्मचारीले मात्रै स्थानीय निकाय हाँक्न गाह्रो भइरहेको थियो ।

कर्मचारीको आफ्नै अनुशासन हुन्छ, स्थानीय परिवेश अर्कै हुन्छ । अब जनप्रतिनिधि छानिएपछि निजामति कर्मचारी र स्थानीय कर्मचारीलाई पनि काम राम्ररी अघि बढाउन मद्दत पुग्छ ।

मैले योग्य व्यक्ति को हो भन्ने मूल्यांकन गरेर भोट हालेको छु । पार्टीभन्दा माथि उठेर व्यक्तिको अनुभव र इमेज हेरेँ ।

अरु मतदाताले पनि यसै गर्नुभयो होला । एउटा भोट चाहिँ आफ्नै छिमेकीलाई दिएको छु ।

 

कार्यक्षमता र अनुभव हेरेँ
प्रतिभा तुलाधर (३२ वर्ष)

योभन्दा पहिले मैले संविधानसभा चुनावमा भोट हालेकी थिएँ । स्थानीय चुनावमा चाहिँ भोट हालेको यो पहिलोपटक हो ।

यो चुनाव पहिले नै हुनुपर्थ्यो । लामो समय चुनाव नहुँदा विकास-निर्माणका कुराहरु अडि्किइरहेका छन् ।

काठमाडौं राम्रो होस, देश राम्रो होस भन्ने सोचले भोट हाल्न आएकी हुँ । मैले उम्मेदवारहरुको कार्यक्षमता र अनुभव हेरेर भोट हालेकी छु ।

मिडियामा आएका उनीहरुका अन्तरवार्तालाई मतदानको छनोटको आधार बनाएँ ।

पार्टी हेरेर भोट हाल्ने जमाना होइन हो । पार्टी हेरेको कारणले नै हामी कहाँबाट कहाँ पुग्यौं ?

अब नेपाली जनताले आँखा खोल्नुपर्छ

 

आँट र अनुभवलाई महत्व दिएँ
अशोककृष्ण सैंजू (३२ वर्ष)

म व्यवसायी हुँ । योभन्दा अगाडि संविधानसभा चुनावमा भोट हालेको थिएँ । स्थानीय चुनावमा भने यो पहिलो भोट हो । यो चुनावले देशलाई राम्रो दिशातिर लैजान्छ कि भन्ने आशा छ ।

अहिले काठमाडौं शहर धुवाँधुलोले अस्तव्यस्त बनिरहेको छ । यहाँ जीवन बिताउनै कठिन छ । यो समस्यालाई समाधान गर्ने खालको नेतृत्व आओस भन्ने चाहन्छु ।

चुनावमा अघि मैले पाएसम्म उम्मेदवारहरुको अन्तरवार्ता हेरेँ । त्यसैका आधारमा उनीहरुलाई मूल्यांकन गरेँ ।

पहिलेको चुनावमा पार्टीगत आधारमा भोट हालेको थिएँ । तर, त्यसले केही उपलब्धि भएन । यसपालि आँट र अनुभव भएको मान्छे छानेर भोट हालेको छु ।

फरक-फरक चिन्हमा मेरो भोट गएको छ । यसरी भोट हाल्नुको अर्थ सबै मिलेर देश बनाउनुपर्छ भन्ने सन्देश दिनलाई पनि हो ।

सबै पार्टी नमिलेसम्म देशको विकास सम्भव छैन ।

महिला वा पुरुष हेरिनँ
नेहा गौतम (२२ वर्ष)

म विद्यार्थी हुँ । स्थानीय चुनावमा भोट हाल्न पाएकोमा खुशी नै लागेको छ । अघिल्लोपटक संविधानसभामा हालेकी थिएँ ।

मेरो सोच के हो भने काठमाडौं छिटोभन्दा छिटो पहिलेजस्तै स्वच्छ होस, धुवाँ-धुलो कम होस् । आजकाल धुवाँ-धुलोले धेरै रोग लागेको छ । त्यो निर्मूल होस् ।

चुनावअघि मैले विभिन्न पार्टीका उम्मेदवारहरुको इन्टरभ्यू हेरेकी थिएँ । उहाँहरुको काम गर्ने तरिका र आफ्नो नगरलाई विकसित गर्ने भिजनको मूल्यांकन गरेँ । मेरो परिवारमा अहिले कोही हुनुहुन्न, त्यसैले एक्लो निर्णय गरेर भोट हालेकी हुँ ।

मैले भोट हाल्दा महिला वा पुरुष भन्ने हेरिनँ । आफू महिला हुनेबित्तिकै महिलालाई नै भोट हाल्नुपर्छ भन्ने छैन । जसले देशको विकास गर्छ, जोसँग राम्रो भिजन छ, उसैलाई हाल्ने हो ।

अहिले काठमाडौंको हालत कस्तो छ, सबैलाई थाहा नै छ । यही अगाडिको पुल ३-४ महिना भयो भत्किएको, अहिलेसम्म बनेको छैन । यस्तै पाराले देश चल्दैन । काठमाडौं विश्वकै एक नम्बर प्रदुषित देश बनेको छ । मान्छेको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ । अब आउने जनप्रतिनिधिले यसलाई हटाउनुपर्छ ।

मैले इन्टरनेटमा हेरेर पहिल्यै कसलाई भोट हाल्छु भनेर निर्णय लिइसकेकी थिएँ । त्यसैले भोट हाल्ने बेलामा ‘कन्फ्यूजन’ भएन ।

पार्टी होइन, व्यक्ति हेरेँ
टीका गौतम (४९ वर्ष)

म व्यवसायी हुँ । अघिल्लो स्थानीय चुनावमा मोरङबाट भोट हालेको थिए । अहिले काठमाडौंबाट हालें । यसअघि संविधानसभाको दुईवटै चुनावमा भोट हालेको थिएँ ।

अहिलेको चुनाव लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनको महत्वपूर्ण पाइला हो । संविधान कार्यान्वयनको प्रारम्भिक विन्दू हो ।

लामो समयदेखि जनप्रतिनिधिविहीन हुँदा विकास-निर्माणका कामहरु अवरुद्ध हुँदै आएका थिए ।

स्वाभाविकरुपले हरेक व्यक्तिको कुनै न कुनै पार्टीसँग सहानुभूति त भई नै हाल्छ । मेरो पनि छ ।

तर, एउटा सचेत मतदाताको हिसाबले म कुनै पनि पार्टीको अन्धभक्त होइन । त्यसमाथि स्थानीय तहमा व्यक्तिको नेतृत्व र क्षमताको प्रमुख भूमिका हुन्छ । त्यसैले मैले भोट हाल्दा पार्टी होइन, व्यक्ति नै हेरेँ ।

धेरै पार्टीमा भोट बाँडियो
जानुका तिवारी (५१ वर्ष)

म गृहिणी हुँ । स्थानीय चुनावमा भोट हाल्न पाउँदा अति खुशी छु । यो हाम्रो सबैभन्दा ठूलो अधिकार र कर्तव्य पनि हो । अधिकार यस मानेमा कि हामीले एउटा सक्षम व्यक्ति, जसले हाम्रो समाजको विकास गर्छ, लाई भोट दिन पाएका छौं । मनले खाएको व्यक्ति रोज्न पाएका छौ ।

अहिलेको चुनावमा महिलाहरु पनि अगाडि बढेको अवस्था छ । भोलि गएर उनीहरुले स्वेच्छाले काम गर्न पाउँछन् कि पाउँदैनन् भन्न सकिन्न ।

तर, कम्तिमा घरभित्र गफ गरेर, कुरा काटेर बसेका समेत परिवर्तनका लागि बाहिर निस्केका छन् ।

मैले अघिल्लो स्थानीय चुनावमा भोट हालेकी हुँ । त्यसको सदुपयोग भएको छैन भनौं भने यति विकास भएको छ । छ भनौं भने हुनुपर्ने जति भएको छैन ।

नेताहरु खाली झगडा गरेर बसे । विकासका कामबाट भोट तान्नुपर्नेमा एउटाले अर्कोलाई होच्याउने काम गरे ।

अहिले भोट हाल्दा अलिकति राजनीतिक विचारधारा पनि हेरियो । धेरै चाहिँ क्षमता हेरियो । अर्को कुरा, म महिला भएको हिसाबले महिला उम्मेदवारलाई प्राथमिकता दिएँ । मेरोजस्तै अरुको भोट पनि बाँडिएर आएको हुनुपर्छ । मैले त आफ्नो भोटको सदुपयोग गरेँ । अब निर्वाचित जनप्रतिनिधिले यसको कति सदुपयोग गर्छन् हेर्न बाँकी छ ।

नचिनेको हकमा मात्र पार्टी हेरेँ
राजन बुर्लाकोटी (३१ वर्ष)

म कानून व्यवसायी हुँ । २० वर्षअघि स्थानीय चुनाव हुँदा म सानै थिएँ । अहिले आएर बल्ल भोट हाल्न पाएको छु । यसमा खुशी छु ।

पहिलोचोटि जनताले घर नजिकै सरकार पाउने बुझाइ बनेको छ । हेरौं न त घर नजिकै सरकार कस्तो हुँदोरहेछ भनेर भोट हाल्न आएको हुँ ।

मुख्य रुपमा कसलाई भोट हाल्ने भन्ने सन्दर्भमा कसले आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दा स्थानीय समस्यालाई समाधान गर्न सहयोग पुग्छ भनेर हेर्ने हो ।

त्यसो त कुनै न कुनै पार्टीसँग नजिक भइहालिन्छ । तर, भोट हाल्दा मैले सामान्यतया पार्टी हेरिनँ । चिनेको हकमा व्यक्ति हेरियो । नचिनेको हकमा मात्रै पार्टी हेरियो । पार्टी अमूर्त कुरा हो । मूर्त भनेको व्यक्तिको विचार हो ।

अहिले संविधानलाई कार्यान्वनयन गर्ने सवालमा विभिन्न शक्तिले विरोध गरिरहेको अवस्थामा अब देश ‘ब्याक’ हुँदैन भन्ने स्पष्ट सन्देश गएको छ ।

मैले आफ्नो भोटको सदुपयोग हुन्छ भन्ने आशाले नै चुनावमा भाग लिएको हुँ । निराशावादी भएर हुँदैन ।

जो चिनेको छ, उसैलाई भोट
नरबहादुर शाक्य (६७ वर्ष)

म पेशाले मजदुर हुँ । योभन्दा अगाडि पटक-पटक चुनावमा भोट हालेको छु । २० वर्ष पहिलेको स्थानीय चुनावमा पनि हालेको थिएँ । तर, कसैले केही लछारपाटो लाएनन् ।

अहिले त भोट हाल्न पनि साह्रै गाह्रो रहेछ । चुनाव चिन्ह धेरै रहेछन्, छुट्याउनै गाह्रो पर्‍यो । अड्कलको भरमा भोट हालेको छु ।

कांग्रेस सांग्रेस, माले साले केही मन पर्दैन । जो चिनेको छ, उसैलाई भोट दिएँ । नचिनेकोलाई भोटै हालिनँ । मेरो घरमा छोराबुहारी छन् ।

उनीहरुले फलानो र ढिस्कानो पार्टीमा हाल्नुस् भनेका थिए । तर, मैले आफ्नै सुरले हालेँ ।

घरमा भोट माग्न धेरै उम्मेदवार आएका थिए । उनीहरुमध्ये मन परेकोलाई दिएको छु ।

तर, आफूले चाहेको ठाउँमा छाप लाग्यो कि लागेन भन्ने शंका नै छ ।

महिलालाई प्राथमिकता दिएँ
अनु श्रेष्ठ (३० वर्ष)

म सरकारी जागिरे हुँ । २० वर्षपछि स्थानीय चुनाव हुन गइरहेको छ । पहिलोचोटि आफ्नो अधिकार प्रयोग गर्न पाएकाले उत्साहित छु ।

अब हाम्रो देश र आफू बसेको क्षेत्र विकास हुन्छ भन्ने आशा पलाएको छ ।

सबैले मलाई यसमा देउ, उसमा देउ भनिरहनुभएको थियो । तर, मैले आफ्नै मनलाई सुनेर निर्णय लिएँ । भोट हाल्दा युवालाई प्राथमिकता दिएकी छु । उहाँहरुले केही गर्न सक्नुहुन्छ कि भन्ने आशा छ ।

आफू महिला भएको हिसाबले महिलालाई भोट जाने नै भयो । किनकि हामीले जसरी सोच्छौं, उनले पनि त्यसरी नै सोच्छिन् भन्ने लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment