Comments Add Comment

चार महानगरमा कसले मार्ला बाजी ?

तीन प्रदेशका २८१ स्थानीय तहको नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । अब सबैको ध्यान मत परिणामतिर केन्द्रित भएको छ ।

धेरै मानिसहरुको चासो भने चार महानगरपालिका काठमाडौं, ललितपुर, भरतपुर र पोखरामा कसले बाजी मार्ला भन्ने छ । २० वर्षपछि स्थानीय चुनाव भएको छ र, नयाँ भोटरहरुको संख्या उल्लेख्य भएकाले मत परिणाम आंकलन गर्न सजिलो छैन ।

काठमाडौंको मेयर को बन्ला ?

देशकै राजधानी समेत रहेको काठमाडौं महानगरको मेयरको दौडमा योपटक पुराना पार्टीहरु मात्र छैनन् । खासगरी साझा पार्टी समर्थित किशोर थापा र विवेकशीलकी रञ्जु दर्शना मतदाताको ध्यान तान्न सफल देखिएका छन् ।

कांग्रेसका राजुराज जोशी र एमालेका विद्यासुन्दर शाक्य चुनावी मैदानमा छन् । यसबाहेक माओवादी केन्द्रका सर्वोत्तम डंगोल र नयाँ शक्ति-संघीय समाजवादी फोरम गठवन्धनका पवित्र बज्राचार्य पनि मतदाता माझ पुगेका छन् ।

मतदान सुरु हुनुअघिसम्म भएका बहसहरुमा पूर्वसचिव समेत रहेका किशोर थापा अगाडि रहे भने २१ वर्षीया रञ्जु दर्शनाले उनलाई पछ्याइन् । तर, मुख्य प्रतिपर्धी कांग्रेसका राजुराज र एमालेका विद्यासुन्दर नै रहे ।

मतदानमा पनि त्यस्तै देखियो । पार्टी होइन, व्यक्ति होइन, पार्टी हेरियो भन्ने मतदाताहरु प्रशस्त भेटिए । पार्टी नै स्थापना नभएको अवस्थामा मेयरको चुनाव लडेका किशोर थापा कुनै पनि पार्टीमा आवद्ध नभएका भोटर माझ प्रभाव छाड्न सफल देखिए भने नयाँ पुस्ता किशोरसँगै रञ्जुतिर आकर्षित भएको देखियो ।

उसो भए किशोर थापा वा रञ्जु दर्शना मध्ये कुनै एकले काठमाडौंको मेयरमा बाजी मार्छन् त काठमाडौंको मेयरमा ? यो सम्भावना कम नै देखिन्छ । यद्यपि अनपेक्षित पिरिणाम नआउँदैन भनेर ठोकुवा गर्ने अवस्था भने छैन ।

कांग्रेस, एमाले र एक संस्थाले गरेको अध्ययनले काठमाडौंमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखाउँछ ।

महानगरको सबै मतदान स्थलमा पुगेका काठमाडौं कांग्रेस नेताले अनलाइनखबरसँग भने, ‘काठमाडौंमा हामीले अपेक्षा गरेको भन्दा राम्रो अवस्था पायौं ।’

चुनावी अभियान प्रभावकारी हुन नसकेको हो कि भन्ने आशंका गर्दै कांग्रेस नेताहरुले काठमाडौंमा एमाले अगाडि हुने त होइन भन्ने आशंका गरेका थिए । र, त्यसको कारण थियो, किशोर थापा । थापाले कांग्रेसको धेरै भोट काटेको अवस्थामा एमाले अगाडि जाने उनीहरुको डर थियो ।

तर, मतदान हुने दिनसम्म आइपुग्दा धेरै मातदाता पार्टीहरुतर्फ फर्किएको पाइएको कांग्रेस नेताले सुनाए ।

एमालेसम्वद्ध रिपोर्टले पनि काठमाडौं महानगरमा कांग्रेस र एमालेबीच मै त्रीव्र प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि काठमाडौंका कोर एरिया (नेवार बाहुल्य क्षेत्र)को मत पाएर आफ्ना उम्मेदवार केही अगाडि आउने एमालेको विश्लेषण छ । किशोरसँगै रञ्जुले आफ्नो भन्दा बढी कांग्रेसको भोट काट्ने एमालेको विश्लेषण छ ।

तर, किशोर थापाले आफ्नो भोट काटेजस्तै एमालेको भोट नयाँशक्ति -फोरमका पवित्र बज्राचार्यले काट्ने भएकाले ब्यालेन्समा आउने कांग्रेसको विश्लेषण छ ।

मतदान स्थलहरुमा पुगेर एक संस्थाले गरेको नमूना सर्वेक्षणले पनि काठमाडौंमा कांग्रेसलाई अगाडि देखाएको छ ।

भरतपुरमा रेणुले साख जोगाउलिन् ?

काठमाडौंपछि धेरैको चासो भएको महानगर हो चितवनको भरतपुर । खासगरी प्रधानमन्त्री प्रचण्ड पुत्री रेणु दाहालको मेयरमा उम्मेदवारी र कांग्रेस र माओवादीको चुनावी तालमेलका कारण भरतपुरले धेरैको ध्यान तानेको छ ।

तर, रेणु नै मेयर बन्छिन् कि एमालेका देवी ज्ञवालीले जित्छन् भनेर अनुमान लगाउन निकै गाह्रो छ ।

मेयरमा रेणुलाई समर्थन गर्दा कांग्रेसका स्थानीय नेता कार्यकर्तामा तीव्र असन्तुष्टि देखिएपछि एमाले हौसिएको छ । उनीहरुको अपेक्षा थियो, धेरै कांग्रेस कार्यकर्ता र समर्थनले रेणुको सट्टा आफ्ना उम्मेदवारलाई भोट दिन्छन् । मतदान सुरु हुनुअघिसम्म पनि कांग्रेसकै नेताहरु पनि रेणुलाई गाह्रो छ भन्थे ।

तर, मतदानसम्म आइपुग्दा सबै कुरा आफूहरुले सोचे जस्तो नभएको एमालेका एक नेताले बताए । उनले भने, ‘आधा कांग्रेसले भोट नै हालेनन्, जसले हाले उनीहरुले तालेमल इमान्दारितापूर्वक कार्यान्वयन गरेको रिपोर्ट छ ।’

झिनो मतले आफ्ना उम्मेदवार भन्दा रेणु अगाडि देखिएको एमालेको विश्लेषण छ ।

मतदान स्थलहरुमा पुगेर एक संस्थाले गरेको नमूना सर्वेक्षणले पनि रेणुको सम्भावना बलियो देखाएको छ । तर, दलका कार्यकर्ता भन्दा कुनै पार्टीमा आवद्ध नभएका मतदाताको संख्या बढी हुनाले यसै भन्न सकिन्न ।

पोखरा र ललितपुर के होला ?

स्थानीय चुनावमा होमिँदै गर्दा एमालेले पोखरामा आफ्नो जित सुनिश्चित भएको दाबी गरेको थियो ।

तर, सत्ता साझेदार कांग्रेस र माओवादीले पोखरा महानगरमा पनि चुनावी तालमेल गरेका छन् र माओवादीले मेयरमा कांग्रेसका रामजी कुँवरलाई समर्थन गरेको छ ।

धेरै जसो चुनावमा हुने तालमेलमा अरु दलको तुलनामा माओवादी बढी इमान्दार हुने गरेको छ । र, कांग्रेसले मेयरमा आफ्नो जित हुने विश्लेषण गरेको छ ।

तर, एमालेले भने माओवादीका असन्तुष्ट ३० प्रतिशत मत आफूले पाएको दाबी गरेको छ ।

यसका बाबजुद कांग्रेस र एमाले दुबैले पोखराको मेयरमा दुई दलको त्रीव्र प्रतिस्पर्धा हुने विश्लेषण गरेका छन् ।

राजधानी नजिकै भए पनि महानगरमध्ये कम चर्चा भएको महानगरको ललितपुर । यहाँ राप्रपाले मेयरमा एमालेलाई समर्थन गरेको छ । तर, उसको ठूलो प्रभाव नभएकाले कांग्रेस, एमाले र माओवादीबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ ।

एक नमूना सर्वेक्षणले पनि ललितपुरमा त्रिपक्षीय भिडन्त रहेको भन्दै परिणाम अनुमान गर्न नसकिने देखाएको छ ।

ललितपुर वामपन्थीहरुको गढ मानिन्छ । तर, ०७० को दोस्रो संविधानसभामा कांग्रेसले बाजी मार्‍यो र तीनै निर्वाचन क्षेत्रमा वामपन्थी दलहरु हारे । अहिले आफ्नो अवस्था थप सुधार भएको भन्दै कांग्रेसले वामपन्थी भोट एमाले र माओवादीमा बाँडिदा महानगरमा आफूले बाजी मार्ने विश्लेषण छ ।

एमाले र माओवादीले पनि तीन दलबीच नै तीव्र प्रतिस्पर्धा हुने स्वीकार गरेका छन् । तर, झिनो अन्तरले आफूले जित्ने एमालेको रिपोर्ट छ ।

यी पनि पढ्नुस्

स्थानीय चुनावको भवितव्यः क्रस भोटिङ, तालमेल र बदर मत

पहिलो चरणको चुनावः ६ सन्देश, केही प्रश्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment