Comments Add Comment

नइ पुरस्कार र कृति लोकार्पण

काठमाडौं । राजधानीमा २२ जना स्रष्टालाई नइ पुरस्कार अर्पण गरिएको छ । नइ प्रकाशनले शुक्रबार वरिष्ठ संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको जन्मोत्सवका अवसरमा वार्षिक कार्यक्रम गर्दै जोशीकै हातबाट पुरस्कार अर्पण गरेको हो ।

नेपाल सरकारबाट वाङ्मय शताब्दी पुरूषको उपाधिबाट विभूषित भएको अवसरमा जोशीलाई नइ प्रकाशनका तर्फबाट दुबोको माला लगाएर बधाई ज्ञापन गरियो । उनलाई प्राध्यापक शिवगोपाल रिसालले माला लगाएर जोशीको दीर्घ जीवनको कामना गर्दै ९८औं जन्मोत्सवका अवसरमा शुभकामना अर्पण गरियो ।

समारोहमा जोशीले दुई लाख रुपैयाँ राशि र ताम्रपत्रसहित नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार भारतीय नेपालीभाषी साहित्यकार विन्द्या सुब्बालाई समर्पण गरे । यो पुरस्कार नेपाली–गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र दिइन्छ ।

त्यस्तै, ६ दशकदेखि नेपाली भाषा–साहित्यमा क्रियाशील साहित्यकार तथा आयुर्वेदाचार्य डा.मोदनाथ प्रश्रितलाई ‘नइ खरा सुकीर्ति पुरस्कार’ समर्पण गरियो । सनातन हिन्दू धर्मसंस्कृतिको संवद्र्धन, संरक्षण र जागरणका लागि मन, वचन र कर्मबाट समर्पित प्राध्यापक शिवगोपाल रिसाललाई ‘नइ चन्द्रधन पुरस्कार’ दिइयो ।

त्यस्तै, राष्ट्रिय भौगोलिक सिमाना तथा अखण्डताको व्यवस्थापन र सुरक्षाबारे वैज्ञानिक अनुसन्धानद्वारा जनचेतनाको अभिवृद्धि गराउने बुद्धिनारायण श्रेष्ठलार्ई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गरिएको छ ।
यी तीन वटै पुरस्कार ताम्रपत्र सहित जनही एक लाख रूपैयाँ राशिका छन् ।

समारोहमा ताम्रपत्रसहित ७ जना व्यक्तिलाई जनही ५० हजार रूपैयाँ राशिका पुरस्कार समर्पण गरिएको थियो ।
संस्कृति, ज्योतिष र तन्त्रशास्त्रका लागि डा.जगमान गुरूङलाई नइ भूपालदुर्गा पुरस्कार, नारीजागरण तथा साहित्यका लागि शान्ता श्रेष्ठलाई नइ खरा प्रसिद्धि पुरस्कार, साहित्यका लागि कञ्चन पुडासैनीलाई नइ ईश्वरवल्लभ पुरस्कार र चित्रकलातर्फ विजय थापालाई नइ यउजा पुरस्कार समर्पण गरियो ।

त्यसैगरी देश बाहिर बसेर नेपाली भाषाको सेवा गर्ने सुरेशजंग शाहलाई नइ गणेशदुर्गा पुरस्कार, चितवनकी गायत्री श्रेष्ठ र सरस्वती रिजाललाई संयुक्त रुपमा नइ बुलु शर्मा पुरस्कार र रुपन्देहीका अजम्बरध्वज खातीलाई नइ धनरूप पुरस्कार समर्पण गरिएको छ । साथै साहित्य, चलचित्र तथा सङ्गीतका लागि धीरेन्द्र प्रेमर्षिलाई २५ हजार रूपैयाँ राशिको नइ खरा गौरव पुरस्कार र नाटक, समाजसेवा तथा मनोविज्ञानका लागि सुश्री नानी थापालाई १५ हजार रूपैयाँका साथ नइ खरा पौरख पुरस्कार समर्पण गरियो ।

नइ प्रकाशनले आ–आफ्नो अध्ययनमा समर्पित भई विविध वाङ्मयिक गतिविधिमा प्रतिष्ठा आर्जन गर्ने १५ वर्षसम्मका ६ जना बालबालिकालाई ताम्रपत्रका साथ जनही १० हजार रूपैयाँ राशिसहित ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गरेको छ ।

त्यस्तै, १० वर्ष उमेरसमूहका एञ्जेल राईलाई गायन तथा सम्राज्ञीश्री बस्नेतलाई नृत्यका लागि ताम्रपत्रका साथ ७ हजार रूपैयाँ राशि सहित नइ देरुनीखपु कोपिला पुरस्कार र ५ वर्षीय प्रिन्सा विश्वकर्मालाई ताम्रपत्रका साथ ५ हजार रूपैयाँ राशि सहित नइ देरुनीखपु चिचिला पुरस्कार समर्पण गरिएको छ ।

समारोहमा तीन वटा पुस्तकको लोकार्पण समेत गरियो । मोदनाथ प्रश्रितको चित्रात्मक कृति ‘मेरो चित्रकारिता’, नरेन्द्र्रराज प्रसाईद्वारा लिखित र नमीता सिंहद्वारा अनुदित Scaling Thange तथा नरेन्द्र्रराज प्रसाईद्वारा लिखित, अनुकृतिकाद्वारा अनुदित The Great Poet of Nepal को लोकार्पण भयो ।
समारोहमा इन्दिरा प्रसाईबाट कविता वाचन गरिनुका साथै पुरस्कृत बालबालिकाले समेत कविता वाचन, नृत्य र गायन प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment