Comments Add Comment

पानीसँग बाख्रा सट्टापट्टा, यसरी बदलियो गाउँको अनुहार

पाकिस्तानको सिन्ध प्रान्तस्थित मरुभूमि क्षेत्रका गाउँहरुमा पानीको जति कमी छ, धनपैसाको पनि कमी छ । तर त्यहाँका गाउँलेहरु बाख्राहरुमा भने निकै धनी छन् ।

एक महिलाले उक्त इलाकामा पानीको अभावसँग जुधिरहेका गाउँलेहरुको राहतका लागि जुन बाटो निकालिन् त्यसमा ती ठूलो संख्याका बाख्राहरु खुब कामलाग्ने सावित भैरहेका छन् ।

फेरियल सलाहुद्दिनले सिन्धको सुख्खाग्रस्त क्षेत्रका गाउँहरुको तस्वीर बदलिदिएकी छिन् । उनले त्यहाँ बाख्राको बदलामा पानी ल्याइरहेकी छिन् ।

इनर्जी कन्सल्टेन्ट फेरियल सलाहुद्दिन भन्छिन्ः म लामो समयपछि कराँची गएकी थिएँ र मेरा काका त्यहाँ अष्ट्रेलियाबाट आएका थिए । उनी आफ्ना साथीसँग सिन्ध जाने क्रममा थिए । त्यसपछि म काका र उनका साथीलाई लिएर सिन्धका गाउँमा गएँ । त्यसपछि मलाई महसुस भयो की यहाँ पानीको अभाव छ ।
पानीको बदलामा बाख्रा किन ?

पाकिस्तानमा १ करोड ६० लाख भन्दा धेरै मानिस स्वच्छ खानेपानीको अभावसँग जुधिरहेका छन् । फेरियल यो तस्वीरलाई बदल्न चाहन्छिन् ।

सिन्धका गाउँहरुमा विद्युतको पनि समस्या छ सोही कारण गाउँलेहरुले डिजेलबाट चल्ने पम्प मेसिनको प्रयोग गर्नुपर्दछ, जुन निकै महंगो पर्दछ ।

फेरियल ती डिजेल पम्पको साटो सौर्य उर्जा प्रयोग गर्न चाहन्थिन् । तर पानीका सौर्य उर्जाबाट चल्ने पम्प किन्ने पैसा गाउँलेहरुसँग थिएन । त्यसैले उनी पैसाको साटो गरीब गाउँलेहरुसँग प्रसस्त भएका बाख्रा लिने निधो गरिन् ।

यहाँका मानिसहरुले प्रसस्त बाख्रा पालेका छन् र आफ्ना बाख्राको भाउ बढाइ चढाइ गर्दछन् । उनले एउटा सोलार पम्पको बदलामा गाउँलेहरुबाट ८० वटा बाख्रा लिन चाहेकी थिइन् । तर गाउँलेहरुले चाहीँ २०।२५ वटाभन्दा धेरै बाख्रा नदिने अड्डी कँसे ।

एक गाउँलेका अनुसार दुबै गाउँमा गरी १८० वटासम्म घरधुरी छन् । यी सबै घरमा खोज्दा समेत १० हजार रुपैयाँ पाउन समेत गाह्रो हुन्छ । त्यसैले पैसाको साटो बाख्रा दिन गाउँलेहरु तयार भए ।

हरेक घरमा दुई चार बाख्रा छन् गाउँमा । गाउँमा बाख्राकै दुध खाने गरिन्छ भने गाउँलेहरुले पैसाको गाह्रो साह्रो पर्दा बाख्रा बेच्ने गर्दछन् ।

फेरियलले गाउँलेबाट पम्पको साटो बाख्रा लिएर इदको अवसरमा ती बाख्रा बेच्ने गर्दछिन्, जतिबेला बाख्राको राम्रो भाउ पर्दछ ।

गाउँकी एक ५० वर्षीया महिला भन्छिन्ः गाउँका महिलाहरुलाई हरेक दिन पानी लिनका लागि ४ घण्टा हिड्नु पथ्र्यो । पाइताला खुइलिन्थ्यो । बच्चालाई घरमै छाडेर जानुपथ्र्यो । मैले आफ्नो एउटा बाख्रो दिएँ र अहिले पश्चाताप छैन । पिउन, पकाउन, नुहाउनका लागि सजिलैसँग पानी पाइरहेकी छु ।

अब सिन्धको उक्त गाउँमा गाउँलेले पालेका बाख्रालाई खुवाउन समेत प्रसस्त पानी छ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment