Comments Add Comment

अनमोलको ‘कृ’को क्लाइमेक्सका लागि २० लाख खर्च, यस्तो छ लोकेशन

नायक अनमोल केसी यतिबेला गोप्य लोकेशनमा चलचित्र ‘कृ’को क्लाइमेक्सको छायांकनमा व्यस्त छन् । यो चलचित्रको कुनै पनि दृश्य यसको निर्माणपक्षले बाहिर ल्याएको छैन । अनमोलको लुक लुकाउनका लागि हरदम प्रयास गरिएको छ ।

तर, अनलाइनखबरलाई चलचित्रको क्लाइमेक्स छायांकनको लोकेशनका केही तस्बिर प्राप्त भएको छ । श्रोतका अनुसार १० दिनदेखि चलचित्रको क्लाइमेक्स खिचिएको छ । अझै ५ दिन क्लाइमेक्स खिच्न लाग्ने वुझिएको छ । काठमाण्डौ बाहिरको एक गोप्य लोकेशनमा चलचित्रको छायांकन भैरहेको वुझिएको छ ।

चलचित्रको क्लाइमेक्सका लागि मात्र २० लाख बढी रकम लागेको श्रोतले बताउँछ । चलचित्रको बिषयमा वुझ्न खोज्दा निर्माता सुवास गिरीले भने-‘अहिले नै हामी चलचित्रको बारेमा धेरै कुरा बताउन सक्दैनौ । तर, चलचित्रको रिलिजसम्म करिब साढे २ करोड बजेट लाग्ने पक्का छ ।’
सुवास गिरी, भूवन केसीको निर्माणमा तयार भैरहेको यो चलचित्रका सह-निर्माता श्री पराजुली हुन् । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरिरहेका छन् ।

चलचित्रको क्लाइमेक्सका लागि २५० केभी लाइट, ३ वटा क्यामेरा प्रयोग गरिएको वुझिएको छ । नेपालमा पहिलो पटक रेड ड्रागन, रेड इपिक र रेड म्याक्सले एकसाथ यो चलचित्र खिचिएको छ ।

यस्तै, चलचित्रको क्लाइमेक्स खिच्नका लागि १०० जनाको टिम १० दिनदेखि व्यस्त छन् । चलचित्रको मुख्य कलाकारमा अनमोल केसी र नव-नायिका अदिती वुढाथोकीको नाममात्र सार्वजनिक भैरहेको थियो । तर, अनलाइनखबरलाई प्राप्त खबर अनुसार, यो चलचित्रमा अनमोल र अदितीको साथमा अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा रानाको पनि मुख्य भूमिका छ । चलचित्रको करिब ४० प्रतिशत छायांकन सकिएको छ । चन्द्र पन्तको एक्सन रहेको चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गरिरहेका छन् ।

नायक अनमोल केसी यही चलचित्रका लागि विगत ६ महिनादेखि गोप्य रुपमा होमवर्कमा थिए । चलचित्रको ‘टिजर’ चाडै नै सार्वजनिक गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment