Comments Add Comment

चुनावी परिणामले कांग्रेस खुसी कि दुःखी ?

कांग्रेसले 'शहर' गुमायो, ग्रामीण भेगमा पकड कायमै


५ जेठ, काठमाडौं । तीनवटा प्रदेशका झण्डै अढाइ सय स्थानको चुनावी परिणाम सार्वजनिक भइरहँदा एमाले र कांग्रेसको दुरीले ‘डबल डिजट’ छुन सकेको छैन । यो परिणामले कांग्रेस खुसी होला कि दुःखी ?

यो प्रश्नमा एकजना कांग्रेस नेता भन्छन्, ‘एक समय देशभर एमालेले स्वीप नै गर्छ कि भन्ने थियो । त्यसको तुलना गर्दैैगर्दा एमालेको यति मात्रै भयो भनेर खुसी नै हुनुपर्ला ।’

उनले अघि भने, ‘तर, अर्कोतिर जति मत हामीले पायौं । अलिकति सम्हाल्न सकेको भए पहिलो स्थान त सहजै, त्यो पनि महानगरहरु जितेरै हुने रहेछ भन्ने लागेको छ ।’

अहिलेसम्मको चुनावी परिणामको विश्लेषण गर्दै कांग्रेसका ती नेता भन्छन्, ‘कसरी चित्त बुझाउने ? बर्बाद भएन भनेर चित्त बुझलाउँदा खुसी हुने अवस्था छ । असाध्यै राम्रो गर्न सकिने रहेछ, अहिले खुम्चिनुपर्‍यो भन्दा एक प्रकारको दुःखमा छ कांग्रेस ।’

हो, निर्वाचनको परिणामबारे कांग्रेसको अहिलेको अवस्था यस्तै विरोधाभाषमा रुमलिएको छ ।

शुक्रबार साँझ ७ बजेसम्म २४८ स्थानीय तहको मत परिणाम सार्वजनिक हुँदा कांग्रेसले ९५ स्थानीय तह जितेको छ । एमाले १०२ स्थानीय तह जित्दै पहिलो स्थानमा छ भने माओवादी ४५ स्थानीय तह जितेर तेस्रो स्थानमा छ ।

डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीले यो चुनावमा निराशाजनक परिणाम हात पारेर १ सीटमा खुम्चिएको छ । राप्रपा र जनमोर्चा पनि एक सीटमा सीमित छन् ।

कांग्रेसले ‘शहर’ गुमायो

नेपाली कांग्रेसले दक्षिणकाली नगरपालिकाबाट काठमाडौं जिल्लामा खाता खोल्दा बूढानीलकण्ठ नगरपालिकामा हार व्यहोर्दैछ । झट्ट हेर्दा दुबै नगरपालिका हुन् । एउटा हार्दा अर्को जितेकै छ, हिसाव बराबर । तर, यो हारजित अर्थपूर्ण छ ।

बूढानीलकण्ठ नगरपालिका त्यही क्षेत्र हो, जहाँ गगन थापा र नरहरि अचार्यको निर्वाचन क्षेत्र पर्छ र दुबै क्षेत्रमा संविधानसभा चुनावमा दुबैले राम्रो मतका साथ जितेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा स्वयंम त्यही बूढानीलकण्ठमै बस्छन् । र, यहाँ ६० प्रतिशत मतदाता बाहिरी जिल्लाबाट बसाइँ सरेर आएका छन् ।

साथै बूढानीलकण्ठ नगरपालिका, काठमाडौं महानगरपछि धेरै मतदाता भएको नगर पनि हो ।

ठीक विपरीत दक्षिणकाली पहिलोपटक नगरपालिका बनेको छ । अर्थात काठमाडौंको ग्रामीण क्षेत्र हो । ‘बूढानीलकण्ठ र दक्षिणकालीको तुलना हुन सक्दैन’ एक नेता भन्छन्, ‘दक्षिणकाली नामको नगरपालिका हो । गोकर्णेश्वर पनि एक हदसम्म नामकै हो । तर, बूढानीलकण्ठ वास्तविक नगर हो ।’

यो त एउटा उदाहरण मात्र हो । पहिलो चरणमा चुनाव भएका २८३ स्थानीय तह मध्ये कांग्रेसले जितेको इकाईको विश्लेषण गर्ने हो भने धेरै ग्रामीण क्षेत्रमा पर्छन् । उसले शहरी क्षेत्रहरु आफ्नो पकड गुमाएको छ र एमालेले जितेको छ ।

कांग्रेसका एक नेता भन्छन्, ‘धेरै शहरी क्षेत्रमा हाम्रा मतदातामा प्रभाव देखिएको छ ।’

शहरको यो मत काठमाडौं महानगरमा विवेकशीलकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापातिर गएको छ । एमालेका विद्या सुन्दर शाक्यले पनि यो मत पाएका छन् ।

काठमाडौं बाहिरका शहरी क्षेत्रहरुमा कांग्रेसमा आएको प्रतिक्रियाको फाइदा एमालेलाई पुगेको देखिन्छ । यसको उदाहरण हो, काभ्रेको बनेपा नगरपालिका । कांग्रेसको गढ मानिएको त्यहाँ एमालेले बाजी मारेको छ । र, विजय उत्सवमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंम बनेपा पुगेका छन् ।

किन रिसाए कांग्रेसका भोटर ?

कांग्रेस नेताहरुका अनुसार विगतका चुनावहरुमा कांग्रेसका मतदाताहरु एकछापे भोट हाल्थे । अन्तरघात जति भए पनि मतदाताले एक छापे हुन्थे ।

तर, यो पटकको ‘भोटिङ प्याट्रन’ले कांग्रेस नेताहरु नै आश्चर्यमा परेका छन् । ‘यस्तो क्रस भोटिङ मैले कहिल्यै देखेको थिइनँ’ कांग्रेसका एक नेताले अनलाइनखबरसँग भने ।

अहिले कांग्रेस नेताहरु किन रिसाए भोटर ? भन्ने प्रश्न सोच्न थालेका छन् । उनीहरुका अनुसार केन्द्रीय राजनीतिको प्रभाव शहरका मतदाताहरुमा निकै परेको छ ।

अर्को शब्दमा भन्दा नेकपा एमालेको ‘राष्ट्रवाद कार्ड’ शहरहरुमा निकै प्रभावकारी देखिएको छ । तराई मधेसको आन्दोलन, संविधान संशोधन लगायतका विषयमा एमालेले लिएको अडान, आईजीपी प्रकरणले शहरका मतदातालाई छोएको छ ।

अर्को भनेको माओवादी केन्द्रसँगको तालमेल पनि हो । किनकी कांग्रेसले अहिलेसम्म यस्ता तालमेल गरेको थिएन । यो पटक चितवनको भरतपुर र कास्कीको पोखरा महानगरका साथै विभिन्न जिल्लाहरुमा भयो । तर, असर शहरी भोटरमा पर्‍यो ।

एक नेता भन्छन्, ‘पहिलो पटक कांग्रेसले अर्को चिन्हमा मतदाता गर्न मतदातालाई अपील गर्‍यो । यो पार्टीको चुनाव चिन्हसँगको लोयालिटीको विषय हो, चितवनमा हँसिया हथौडामा भोट हाल्ने कुरा मात्र होइन । जब हामीले अर्का चुनाव चिन्हमा भोट हाल्न अपील गर्‍यो, उनीहरुलाई अर्को निर्णय लिन सहज भयो ।’

पछिल्लो मत परिणामहरुले पनि त्यही देखाउँछ । कांग्रेसका कार्यकर्ताले त आफ्नो पार्टीलाई भोट हालेका छन् तर, उसका समर्थकहरुले भोट क्रस गरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment