Comments Add Comment

धादिङमा यसरी असफल भयो, माओवादी-कांग्रेस तालेमल

७ जेठ, काठमाडौं । पहिलो चरणको निर्वाचन परिणामले करिब-करिब दुई पार्टीवीचको चुनावी तालमेलको अभ्यासलाई असफल सिद्ध गरिदिएको छ । एमाले-राप्रपा वीचको तालमेल होस् या कांग्रेस माओवादी तालमेल नै किन नहोस्, दुबै गठबन्धन प्रश्नको घेरामा तानिएका छन् ।

अहिलेसम्म यस्तो तालमेलको अभ्यास नगरेका दलहरुले यसपटक फरक विचार र सिद्धान्त बोकेका पार्टीसँग समेत तालमेलको अभ्यास गरे । यसले दलहरुवीचको राजनीतिक सम्वन्धबारे नयाँ बहस सिर्जना गरेको छ ।

यहाँ हामीले धादिङ जिल्लाको कांग्रेस-माओवादी चुनावी तालमेललाई लिएर संक्षिप्त विश्लेषण गर्ने कोसिष गरेका छौँ :

धादिङको नीलकण्ठ नगरपालिका बाहेक अन्य ४ गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रवीच भएको चुनावी तालमेलले करिब असफल परिणाम दिएको छ । बेनिघाट रोराङ बाहेक अन्य तीन गाउँपालिकामा तालमेलको गठबन्धन असफल भयो ।

धादिङको दक्षिण क्षेत्र एमालेको बलियो प्रभाव क्षेत्र हो भन्नेकुरा कांग्रेस र माओवादी केन्द्र दुवैले राम्रोसँग बुझेका थिए । त्यही आधारमा सुरुदेखि नै दुई दलले चुनावी तालमेलको रणनीति बनाए पनि अन्तिममा असफल भयो । र, प्रमुख तीनदल एक्लाएक्लै चुनावमा होमिने तयारीमा थिए ।

तर, उम्मेदवारी दर्ता गरेर फिर्ता लिने समय सकिने अवस्थामा कांग्रेस र माओवादीवीच नीलकण्ठ नगरपालिकामा तालमेलको घोषणा भयो । त्यसको प्रभाव धादिङको दक्षिण भागमा पनि पर्यो । दुई दलले दुवैले हार्ने दक्षिण भेगका गाउँपालिकामा एमालेलाई असहज बनाउन तालमेलको घोषणा गरे । तर, दुवै दलको प्रमुख र उपप्रमुखमा उम्मेदवारी भने कायमै थियो ।

दक्षिण भेगमा ४ गाउँपालिकामा भागबण्डा गरेका कांग्रेस र माओवादीले प्रमुख र उपप्रमुख पनि भाग लगाए । सबै उम्मेदवारहरु आफ्नो भागमा नपरेको पद छाड्न राजी भए । तर, तालमेलको निर्णय केटाकेटीखेल जस्तै भयो ।

किनकि, कांग्रेसको उपाध्यक्षको भाग परेको थाक्रे गाउँपालिकामा कांग्रेसका प्रमुखका उम्मेदवारले म उम्मेदवार होइन भने । तर भित्रभित्रै भोट माग्न छोडेनन् ।

उक्त गाउँपालिकाको प्रमुख माओवादी केन्द्रको भागमा परेको थियो, तर माओवादी केन्द्रका तर्फबाट त्यसअघि उपप्रमुखको उम्मेदवारले पनि भित्रभित्रै भोग मागे । परिणाम आउँदा प्रमुखमा कांग्रेस र माओवादी केन्द्रलाई झण्डै बराबरी भोट आयो भने उपप्रमुखमा पनि त्यस्तै समस्या देखियो । त्यस कारण माओवादी केन्द्रले कांग्रेससँग तालमेल गरेर पनि एमालेलाई पराजित गर्न सकेन ।

गल्छीमा ठ्याक्कै त्यही भयो । भागबण्डामा गल्छीको प्रमुखमा कांग्रेस र उपप्रमुख माओवादी केन्द्रको भागमा परेको थियो । तर त्यतिबेला माओवादीको तर्फबाट प्रमुख र कांग्रेसको तर्फबाट उपप्रमुखको उम्मेदवार पनि चुनावी मैदानमै थिए ।

मतदाता शिक्षाले पारेको समस्या

यस्तै दलहरुले चुनावी प्रचारमा समेत मतदाता शिक्षामा ध्यान दिएनन् । छोटो समयमा न मतदातालाई दुई दलवीच क्रम भोटिङ गर्न सिकाइयो न न छोडेका उम्मेदवारले आफुले उम्मेदवार नभएको कुरा घोषणा गर्दै प्रचार प्रसारमा सहयोग गरे । मौखिक सहमतिमा चुनावी मैदानबाट बाहिरिएका उम्मेदवारहरु समेत भित्र/भित्र जिति हालिन्छ कि भन्ने सुक्ष्म आशाका पछाडि भोट माग्न दौडिए । त्यसैको फाइदा एमालेले पायो ।

जस्तै गल्छीको उदाहरण दिँदै माओवादी केन्द्रका स्थानीय नेता कृष्णप्रसाद खतिवडाले भने, ‘भागबण्डामा गल्छीको उपप्रमुख माओवादी केन्द्रलाई दिएर कांग्रेसले प्रमुख लिएको थियो । तर, मतगणना हुँदा कांग्रेसले फिर्ता गराएको उपप्रमुखको उम्मेदवारले २१ सय मत ल्याइन भने माओवादीले उपप्रमुखमा ३१ सय मत ल्याएकी थिइन् । यदि दुवै दलको इमान्दार तालमेल हुँदा गठबन्धनको जित निश्चित थियो ।

यस्तै कांग्रेसको प्रमुखको उम्मेदवारलाई समर्थन गर्ने भनेपनि माओवादीको प्रमुखको उम्मेदवारले ३५ सयमत ल्याए । त्यही मत कांग्रेस प्रमुख हराउन भूमिका खेल्यो । अन्त्यमा दुवै पदमा एमालेको उम्मेदवारले जिते र माओवादी-कांग्रेस गठबन्धन असफल बनेको हो ।

यस्तो अपरिपक्क गठबन्धनले थाक्रे र गजुरीमा माओवादी केन्द्र पराजित भयो भने गल्छीमा कांग्रेस पराजित भयो ।

नीलकण्ठ र बेनीघाट रोराङमा भने सफल

धादिङकै दुई स्थानीय तहमा भने दुई पार्टीको तालमेलले सफल परिणाम दिएको छ । एमालेको निकै बलियो उपस्थिति रहेको बेनीघाट रोराङमा भने माओवादी र कांग्रेस मिलेर दुवै पदमा सफलता हात पारेका छन् । उक्त गाउँपालिकामा प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेसको उम्मेदवार विजयी भएका हुन् ।

यस्तै नीलकण्ठ नगरपालिकामा पनि माओवादी र कांग्रेस गठबन्धन विजयी भएको हो । उक्त नगरपालिकामा मेयरमा कांग्रेसको भीम ढुंगाना र उपप्रमुखमा माओवादी केन्द्रका मनराज भण्डारी विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment