Comments Add Comment

पवित्र बज्राचार्यको गुनासोः काठमाडौंवासीले पहिचान बुझेनन्

विद्यासुन्दरलाई शुभकामनाः काठमाडौंबासीलाई न्याय गर्नुहोला

मतदातासँग पवित्र बज्राचार्य

८ जेठ, काठमाडौं । पवित्र बज्राचार्यलाई काठमाडौं महानगरको मेयर पदका लागि बलियै उम्मेदवार मानिएको थियो । तर, हालसम्मको चुनावी परिणाममा यो प्रतिविम्वित भएको छैन ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीका साझा उम्मेदवार बनेका बज्राचार्य चुनावी दौडमा निकै पछि परेका छन् । यहाँबाट उनलाई जमानत जोगाउनै महाभारत पर्ने देखिएको छ । यतिबेला के सोच्दैछन् त बज्राचार्य ?

आइतबार दिउँसो अनलाइनखबरले फोन गर्दा सुरुमै उनले दिक्दारी व्यक्त गरे । उनी भन्दै थिए, ‘सोचेजस्तो भएन हउ ।’

त्यसो त बज्राचार्यले धेरै ठूलो सोचेका पनि थिएनन् । १० देखि १५ हजार भोट ल्याउने उनको भित्री लक्ष्य थियो । तर, त्यति पुर्‍याउन पनि अब निकै कठिन छ । आइतबार बिहानसम्मको मतगणनामा उनी दुई हजार मतको आसपासमा छन् । त्यसो त मतगणना अझै ७० प्रतिशत बाँकी छ ।

बज्राचार्य घरमै बसेर मतगणनाको अपडेट लिइरहेका छन् । अहिले उनलाई ६-७ हजार भोट कटाउन सक्छु कि भन्ने छ ।

उनले भने, ‘मतगणनास्थलमा रहेका साथीहरुले बेला-बेला फोन गरेर अपडेट गर्छन्, आफू त जान छोडिसकेँ ।’

समय थोरै भयो

आफूले सोचेजस्तो नतिजा ल्याउन नसक्नुमा बज्राचार्यले मुख्य दोष देखाएका छन्, समयाभावलाई ।
उनले भने, ‘जनतामा जाने समय असाध्यै थोरै भयो । मैले विगतमा गरेका काम र भावी एजेन्डाहरु जनतालाई सुनाउनै भ्याइनँ ।’

बज्राचार्यको पार्टी संघीय समाजवादी फोरमले चुनावमा भाग लिने-नलिनेबारे पछिसम्म अनिश्चितता थियो । चुनावको मुखैमा आएर नयाँ शक्तिसितको गठवन्धनमा उनी मेयरको उम्मेदवार बने ।

‘बैशाख १९ गते उम्मेदवारी दर्ता गर्नका लागि राति अबेरसम्म सभागृहमा नै थिएँ । २० गते बल्ल घोषणापत्र बनाउने सुरसार गरियो । २३ गते घोषणापत्र हातमा पर्‍यो । त्यसपछि घोषणापत्र बोकेर जनतामा जानलाई जम्मा हामीसँग ६ दिन मात्रै थियो ।’

‘६ दिनभित्र काठमाडौं महानगरभरका २ लाख मतदातासम्म पुग्नु असम्भव थियो ।

हामीले १-२ दिन घरदैलो गरेर पनि हेर्‍यौं । तर, दिनभर डुल्दा पनि एउटा वडाको एउटा कुना मात्रै भ्याइने । त्यसैले अब यसरी पार लाग्दैन भनेर हामी सञ्चारमाध्यममा बढी फोकस भयौं । सामाजिक सञ्जालमा सक्रिय भयौं । अनलाइन, पत्रपत्रिका र टीभीहरुमा इन्टरभ्यू दिएँ । अरु उम्मेदवारहरुको लहरमा बसेर टीभीमा इन्टरभ्यू दिँदा मेरो प्रस्तुति सबैभन्दा राम्रो भयो भनेर साथीहरुले भन्थे । तर, मतदाताहरु यसबाट सन्तुष्ट नहुँदा रहेछन् । उम्मेदवार बनेर एकपटक मुख देखाउन आएको छैन’ भनेर गुनासो गर्ने मतदाताहरु धेरै भए ।’

‘ठूला पार्टीहरु एक डेढ महिना अगाडिदेखि नै तयारी गरिरहेका थिए । उनीहरुसँग पहिल्यै स्थापित भइसकेका चुनाव चिन्ह थिए । आ-आफ्नो पार्टीमा आस्था राख्ने मतदाताहरुको समूह थिए । तर, मैले प्रतिनिधित्व गर्ने पार्टी र संघीय समाजवादी दुवै काठमाडौंमा धेरै लोकप्रिय थिएनन् । मुख्य कुरा हाम्रो चुनाव चिन्ह नै धेरै मानिसहरुलाई थाहा थिएन ।

कतिपयले हामीलाई भोट दिने इच्छा राखेर पनि चुनाव चिन्ह नहुँदा दिन पाएनन् । पछि धेरैले मलाई लेट डिसिजन गरेको भनेर गुनासो गरेका छन् ।’

पहिचानको कुरा बुझेनन्

बज्राचार्य र उनले प्रतिनिधित्व गर्ने पार्टीहरुले जातीय पहिचानको वकालत गर्दै आएका छन् । तर, पहिचानविरोधि पार्टी भनेर चिनिने नेकपा एमालेका उम्मेदवारहरुले काठमाडौं अग्रता लिइरहेका छन् । के काठमाडौंवासीले पहिचानको राजनीतिलाई तिरस्कार गरेका हुन् ?

बज्राचार्यलाई त्यस्तो लाग्दैन । उनको भनाइमा काठमडौंका जनताले पहिचानको कुरा मन नपराएका होइनन्, नबुझेका हुन् ।

‘उहाँहरुलाई बुझाउन नसक्नु हाम्रो कमजोरी हो,’ उनले भने, ‘हामी कुनै रेस्टुरेन्टमा गयौं भने पहिले नचाखेको खाना अर्डर गर्न हिच्किचाउछौं, त्यसैले पहिले खाँदै आएको खानेकुरा अर्डर गर्छौं । त्यस्तै किसिमले स्थानीय चुनावमा मतदाताले नयाँ शक्तिहरुमा भरोसा गर्न सकेनन् ।’

उनले अर्को उदाहरण दिएः

‘कुनै कारखानामा पुरानो हाते मेसिनलाई विस्थापित गरेर नयाँ अटोमेटिक मेसिन ल्याइयो भने सुरुमा कामदारहरुले मन पराउँदैनन् । किनकि उनीहरु पुरानै मेसिनमा अभ्यस्त भएका हुन्छन् । नयाँ मेसिनलाई बुझ्न र अभ्यस्त हुन समय लाग्छ । तर जब बुझ्छन् उनीहरुका लागि नयाँ मेसिन नै प्यारो हुन्छ ।’

दुईपटक वडाध्यक्ष भएर काम गरेको र विकास निर्माणमा योगदान पुर्‍याएको व्यक्तिलाई भोट नदिएर काठमाडौंवासीले अन्याय गरेका हुन् त ?

उनलाई त्यस्तो पनि लाग्दैन ।

बज्राचार्यको तर्क यस्तो छ- ‘परिवर्तन उनीहरुलाई चाहिन्छ, जो कमजोर छन् । पहिल्यै सुविधासम्पन्न मान्छेहरु परिवर्तनमा जान कहिल्यै चाहँदैनन् । उनीहरु बलियोकै छत्रछायाँमा बसिरहन चाहन्छन् । काठमाडौंको भोटिङ ट्रेन्डले सायद यही देखाइरहेको छ । यसलाई म आफूमाथि भएको अन्यायका रुपमा बुझ्दिनँ ।’

काठमाडौंको भोट ६० प्रतिशतभन्दा बढीगणना हुन बाँकी छ । तर, एमालेका उम्मेदवार

‘विद्यासुन्दरलाई शुभकामनाः काठमाडौंबासीलाई न्याय गर्नुहोला’

विद्यासुन्दर शाक्य

विद्यासुन्दर शाक्यले जित्ने लगभग निश्चित देखिएको बज्राचार्यले बताए ।

शाक्यको विषयमा उनले भने- ‘हामी दुबैले नेकपा एमाले पार्टीबाट वडाध्यक्ष भएर सँगै काम गरेका छौं । उहाँसँग अनुभव छ, काठमाडौंलाई राम्ररी बुझ्नुभएको छ । मेयर हुनुभयो भने काठमाडौंवासीको अपेक्षामा न्याय गर्नुहोला भन्ने आशा गर्छु ।’

जो जितेर आए पनि आफूले व्यक्तिगत रुपमा आवश्यक सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

‘राम्रो काम गर्नेलाई मेरो तर्फबाट सँधै साथ र सहयोग रहन्छ । उहाँहरुलाई भोट दिने मतदाताले पनि जनप्रतिनिधिहरुलाई निरन्तर खबरदारी गरिरहनु पर्छ,’ बज्राचार्यले भने ।

यो पनि पढ्नुहोस् 

पवित्र बज्राचार्यको अनुभवः काठमाडौं बिगार्ने कांग्रेस, एमाले र माओवादी हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment