Comments Add Comment

लोकलयका गीतसहित विधानले ‘पलेँटी’ तताउने

८ जेठ, काठमाडौं । लामो अन्तरालपछि ब्युँतिएको पलेँटी शृंखलाको मे महिनाको प्रस्तुतिमा युवा पुस्तामा फरक पहिचान बनाएका गायक विधान श्रेष्ठ प्रस्तुत हुने भएका छन् ।

अंग्रेजी महिनाको अन्तिम शुक्रबार हुने कार्यक्रममा विधानले आउँदो शुक्रबार आफ्ना नयाँ–पुराना गीत सुनाउनेछन् । गीत छनोटमा निकै ध्यान दिने उनले बेग्लै किसिमको स्वरका कारण श्रोतामाझ विशेष परिचय बनाएका छन् ।

विधानले खासगरी ग्रामीण परिवेशमा आधारित लोकलयका गीत गाएका छन् । यस्तै, विभिन्न राष्ट्रिय गीत गाएर उनले युवा पुस्ताका गायकहरु माया-प्रेमका विषयवस्तुमा मात्र सीमित छैनन् भन्ने सन्देश पनि दिएका छन् ।

०३१ सालमा सुनसरीमा जन्मिएका विधानलाई पारिवारिक पृष्ठभूमिले पनि सांगीतिक यात्रामा अघि बढाएको पाइन्छ । पिता गीतकार तथा संगीतकार विजय श्रेष्ठको प्रेम र सान्निध्यबाट संगीतमा खारिँदै गएका उनी नेपाली संगीतका मूर्धन्य संगीतकार अम्बर गुरुङका शिष्य पनि हुन् ।

अहिले कार्यक्रमका लागि वाद्यवादकरुसँग अभ्यास गरिरहेका विधानले अग्रजहरुले गाइसकेको पलेँटी जस्तो मञ्चमा गाउन पाउनुलाई निकै खुशीको कुरा भनेका छन् । ‘अर्को संजोगको कुरा चाहिँ यो पलेँटी नै मेरो जीवनको पहिलो एकल गायनको कार्यक्रम हुने भएकाले झन् उत्साही छु’, उनले भने ।

देशभक्तिका भावलाई लोक स्वादमा सुनाउने विधानले गाएका अधिकांश गीत चर्चित छन् । ‘माछी मार्न जाऔं न दाजै कालापानीमा’, ‘ज्ञानबहादुर छोरो’, ‘बुहारी झार झैं’, ‘आज नाच्छे मेरी गौरी’, ‘कान्छीको अल्लारे जोवन’ जस्ता उनका दर्जनभन्दा बढी गीत चर्चित छन् । यसपालि पलेँटीमा उनका यिनै गीतहरु श्रोताले प्रत्यक्ष सुन्न पाउनेछन् ।

‘विधानमार्फत हामीले पलेँटीलाई नयाँ पुस्तातर्फ पनि उन्मुख गराउन खोजेका छौं’, पलेँटी शृंखलाको संयोजन गर्दै आएका गायक तथा संगीतकार आभास भन्छन्, ‘उनको गायन र गीतका विषयवस्तु आम चलनचल्तीभन्दा भिन्दै भएकाले मलाई मन पर्छ ।’

आफ्ना चर्चित गीतहरु, ती गीतसँग जोडिएका प्रसंग र आफ्नो सांगीतिक अनुभवसहित विधान यही जेठ १२ गते शुक्रबार नेपालयको ‘आर’ शालामा प्रस्तुत हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment