Comments Add Comment

कविताः महानायक

हिजो
विचारका कुरा उठायौ
वर्गका कुरा उठायौ
मुक्तिका कुरा उठायौ
लड्न सिकायौ
भिड्न सिकायौ
गोली र बारुदसँग
लुकामारी खेल्न सिकायौ ।

गुमाउँदाको पीडाभित्र
भोलिको उज्यालो देख्न सिकायौ
शोकलाई शक्तिमा बदल्न सिकायौ
काख गुमाउने आमाहरु
अभिभावक गुमाउने बच्चाहरु
विश्वासको उज्यालोलाई
काखमा खेलाउँदै
विचारको सतिसाललाई
अभिभावक मान्दै
बलिदानीप्रति गर्व गर्थे
र पंक्तिबद्ध हुन्थे अर्कोे नयाँ बलिदानीका लागि ।

गर्व थियो तिमीप्रति
श्रद्धा थियो तिमीप्रति
घमण्ड गर्थ्यौं तिमीप्रति
अटल विचार
अटल विश्वास
आस्थाका केन्द्र थियौ ।

त्यसैले
तिमी नायक थिएनौ
‘महानायक’ थियौ
हुँदा खाने वर्गको ।

तर आज
आस्थाको धरोहर,
महाभूकम्पलाई थेग्न नसकेको
धरहरा जस्तै गर्ल्याम्म ढल्यो
हुलिया बाहेक बदलिए सबै

विचारमा परिवर्तन
आस्थामा परिवर्तन
वर्गमा परिवर्तन
संस्कारमा परिवर्तन
जीवनशैलीमा परिवर्तन,
श्रृङ्खलाबद्ध परिवर्तन नै परिवर्तन

शहर पसेपछि
कित्ताकाँट गर्न लगायौ र
आलिशान महलहरु बनायौ
तर विचारको घर भत्कायौ
लाल पुँजीपतिहरु जन्मायौ
पिछडिएकाहरु बिर्सियौ
अनि बेस्सरी रमायौ
कुचोले बढार्ने कसिंगर बतासले बढार्‍यो भन्दै ।

गाउँ दुख्दा तिम्रो शहर कहिल्यै दुखेन
विचार दुख्दा तिमी कहिल्यै दुखेनौ
तिमी साँच्चिकै परिवर्तन भएछौ त कमरेड !
जनयुद्धको जगमा बसेर
हिजोको समीक्षा गर्दै
२१औं शताब्दीको माग भन्दै
विचारको हाइब्रिड निकाल्दै छौ रे
त्यसैले हो कि
हिजो तिम्रो सुरक्षामा खटिएकाहरुलाई
आज दुश्मन देख्दै छौ रे
बदलामा जेल कोच्दै छौ रे ।
त्यसैले आज
तिमी नायक मात्र होइनौ
‘महानायक‘ होऊ
तर, हुने खाने वर्गको ।

तिमीले जनयुद्धको उपहास गर्‍यौ
मैले उपहासलाई लेख्ने साहस गर्दै छु
तिमी संश्लेषण गर्ने हतारोमा छौ
म विश्लेषण गर्ने तयारीमा छु
तिमी प्राप्तिको कथित भ्रम छर्दै छौ
म त्यसलाई नजिकबाट चिर्दै छु

हिजो समयले कृष्ण सेन जन्मायो
आज पनि बाँचिरहेछन् ।
म उनकै पदचाप पछ्याउँदै छु
र लेख्दै छु
म लेख्छु- लेखिरहनेछु ।
म घोच्छु- घोचिरहनेछु ।
ब्यक्तिगत रुपमा
तिम्रो विरोध
कहिल्यै गरिनँ र गर्दिनँ पनि
तर पनि
विषयवस्तु
तिम्रै वरिपरि घुम्छ
किनकि
तिमीले विचार बोकेका थियौ
विचारले निर्देशित
सपना देखाएका थियौ
त्यसैले बहसको केन्द्रमा छौ तिमी ।

हिजोआज
मेरो कलममाथि, मेरा शब्दमाथि
तिम्रो जयजयकार गाउनेहरु
खेद प्रकट गर्दै छन्
अतिवादको ट्याग लगाउँदै छन्
अराजकताको बिल्ला भिराउँदै छन्
बेफिक्री हाँसिरहेछु म
खित्का छाडेर ।

सुरक्षाको घेराभित्र पनि
असुरक्षाको महसुस गर्दै छौ तिमी
तिम्रा जिजीविषाहरु
एकाएक लाचार बन्दै छन्
त्यसैले
आजभोलि सौदा गरिरहेछौ
कहिले विचारसँँग त कहिले भावनासँग
कहिले आस्थासँग त कहिले मानवतासँग ।

आजकल तिमी बर्बराउँदै छौ
र भन्दै छौ-
मलाई जे ठीक लाग्छ
म त्यही गर्छु ।
हो तिमी त्यही गर्नेछौ
जुन तिमीलाई ठीक लाग्छ ।
किनकि
फसिसकेका छौ तिमी दलदलमा
उम्कन नसक्ने गरी ।

म एकतमासले
हेर्दै छु तिमीलाई
तिम्रो छटपटाहटलाई
नियाल्दै छु तिमीलाई
तिम्रो हडबडाहटलाई
चारैतिरबाट घेरिएका छौ
मनमा थोरै दया जागेर आउँछ
मनमा थोरै माया एकाएक पलाउँछ
अनि देख्न पुग्छु
सन्नाटाभित्र पनि
आशाका किरणहरु,
अनि भन्न बाध्य हुन्छु-
सोच फेरि पनि सोच
यात्रा अझै सकिएको छैन
बेला अझै घर्किएको छैन ।

त्यसैले म भन्छु-
तिमी ‘महानायक’ नै हौ,
तर कित्ता तिमीले रोज्नुपर्छ
हुँदा खाने वर्गको ‘महानायक’ कि
हुनेखाने वर्गकोे ‘महानायक’ ?

– काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment