Comments Add Comment

संसद अवरोधको ‘नाटक’ सकियो, भोलि प्रधानमन्त्री चयन हुने

संसद बैठकलाई देउवा, ओली र प्रचण्डले सम्वोधन गर्ने

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री छनोट प्रक्रिया त्रुटीपूर्ण भएको भन्दै व्यवस्थापिका संसद अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निःशर्त संसदको अवरोध फिर्ता लिएको छ । साथै एमाले प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सहभागी हुन सहमत भएको छ ।

एमाले आफ्नो अडानबाट पछि हटेपछि मंगलबार (भोलि) संसदले नयाँ प्रधानमन्त्री चयन गर्ने बाटो खुलेको छ । भोलिको बैठकमा एमाले पनि प्रधानमन्त्री निर्वाचनको प्रक्रियामा सहभागी हुने तर देउवाको विपक्षमा मतदान गर्ने एमाले नेता भीम रावलले बताएका छन् ।

एमालेले प्रधानमन्त्रीलाई लागि वामदेव गौतमको उम्मेदवारी दिने चर्चा गरे पनि पछिल्लो समयमा उसले उम्मेदवारी दिएको छैन ।

एमालेले भरतपुरमा मतगणना सुचारू गर्न माग गर्दै संसदमा अवरोध सुरू गरेको थियो । एमालेको अवरोधका कारण बहुमतीय सरकार गठनका लागि आहृवान गरिएको राष्ट्रपतिको पत्र समेत सदनमा पेश हुन सकेन र सूचनामार्फत प्रधानमन्त्री चयनको प्रकिया सुरू भयो ।

एमालेले भने प्रधानमन्त्री छनोट प्रक्रिया त्रुटीपूर्ण भएको तर्क गर्दै सदनको अवरोध कायमै राख्ने अडान दियो र प्रधानमन्त्रीमा उम्मेदवारी समेत दिएन । यतिसम्मकी एमाले अध्यक्ष केपी शर्मा

ओली स्वयंमले प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु भएको थाहै नभएको बताए । उसले भरतपुरमा पुनःमतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा जाने र त्यहाँबाट फैसला आउने समय खोजेको थियो ।

सोमबार सर्वोच्चले तत्काल मतदानको प्रक्रिया अघि नबढाउन भनेपछि एमाले सदन खोज्न तयार भयो ।

लगतै सभामुखको पहलमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा  संसद सुचारु गर्न एमालेले सहमति जनायो । त्यहाँ उसले २१ गतेको चुनाव रोक्ने क्रममा भनेको जस्ताे प्रधानमन्त्री निर्वाचन प्रक्रिया त्रुटिपूर्ण छ भनेन ।

बैठकमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन सरकारले तोकेकै असार १४ गते निष्पक्ष, स्वतन्त्र, भयरहित वातावरणमा शान्तिपूर्ण रुपले सम्पन्न गर्ने, आगामी माघ ७ गतेभन्दा अगाडि नै प्रदेश सभा र संघीय संसदको निर्वाचन सम्पन्न गर्ने, निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न दलहरुले सबैमा अपील गर्ने, पहिलो चरणको स्थानीय तह निर्वाचनबारे छानविन गर्न गठित संसदीय छानविन समितिको प्रतिवेदनका आधारमा निर्वाचनलाई थप मर्यादित बनाउने र संसदमा जारी गतिरोध अन्त्य गर्ने सहमति भएको हो ।

सभामुखको रोहबरमा बसेको सोमबारको बैठकमा कांग्रेस नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, एमाले नेता केपी ओली, सुवास नेम्वाङ, माओवादी नेता प्रचण्ड, नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिति थियो ।

प्रधानमन्त्रीको निर्वाचन भोलि

तीन दलवीच भएको सहमति अनुसार मंगलबार संसद बैठक सुचारु हुनेछ । बैठक प्रारम्भ भएपछि तीन दलका शीर्ष नेताहरुले सम्वोधन गर्नेछन् ।

लगतै सभामुख ओनसरी घर्तीले पहिलो चरणको बैठकमा राष्ट्रपति कार्यालयको पत्र लगायतका विषयहरुबारे सदनलाई जानकारी गराउने छिन् र पहिलो बैठक अन्त्य हुनेछ ।

भोलि नै बस्ने संसदको दोस्रो बैठकमा प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु हुनेछ । प्रधानमन्त्रीका लागि संसद सचिवालयमा शेरबहादुर देउवाको मात्रै उम्मेदवारी परेका कारण एक जनाका लागिमात्रै भोटिङ हुनेछ ।

एकजनाको मात्रै उम्मेदवारी परे पनि भोटिङमा जानैपर्ने संवैधानिक एवं कानूनी प्रावधान छ । र, देउवाको पक्षमा प्रष्ट बहुमत पुगिसकेको छ ।

राप्रपाले शेरबहादुर देउवालाई भोट हाल्ने

यसैवीच राप्रपाले मंगलबार हुने प्रधानमन्त्रीको निर्वाचनमा शेरबहादुर देउवाको पक्षमा मतदान गर्नेभएको छ ।

सोमबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको तीन दलका नेताहरुको बैठकपछि राप्रपा देउवालाई मतदान गर्न  र सरकारमा सहभागी हुन सहमत भएको हो ।

तीन दलका नेताहरुको छलफलमा कांग्रेसबाट विमलेन्द्र निधी र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए भने राप्रपाबाट दिलनाथ गिरी, कुन्ती शाही र जयन्त चन्द सहभागी थिए ।

तीन दलवीच भएको सो छलफलमा माओवादीबाट कृष्णबहादुर महरा र वर्षमान पुन सहभागी थिए ।

छलफलमा राप्रपालाई ४ वटा मन्त्रालय दिइने निधीले प्रस्ताव राखेका थिए । पहिले राप्रपाले लिएका स्थानीय विकास, पर्यटन, भूमिसुधार र आपूर्ति मन्त्रालय नै दिइने कांग्रेस र माओवादीका नेताले प्रस्ताव गरेका थिए ।

राप्रपा नेताहरुले पनि सम्मानजनक रुपमा सरकारमा सहभागी हुने वातावरण बनेको भन्दै प्रधानमन्त्रीमा देउवालाई मतदान गर्ने सहमति जनाएको छलफलमा सहभागी एक नेताले अनलाइनखबरलाई बताए ।

राप्रपाले यसअघि नै संसदीय दलको बैठकमार्फत् देउवा सरकारलाई समर्थन जनाउने औपचारिक निर्णय गरिसकेको छ ।

तर, उपप्रधानमन्त्री नपाउने अवस्थामा कमल थापा बाहेक अन्य नेताहरु सरकारमा सहभागी हुने राप्रपा स्रोतले बताएको छ ।

स्रोतका अनुसार राप्रपा नेताहरुले संविधान संशोधन लयागतका विषयमा पनि आफूलाई नरमरुपमा प्रस्तुत गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment