Comments Add Comment

संसदमा ओलीको प्रश्नः को-को उम्मेदवार हुँदा हराउन नपाइने हो ?

भारत-श्रीलंकाको क्रिकेट खेल सुनाउँदै भने- देवीलाई विजेता घोषणा गर्नुपर्ने हो


२३ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्ष चुनाव हार्न तयार नभएको आरोप लगाएका छन् । भरतपुर महानगरको वडा नम्बर १९ को केही मतपत्र च्यातिएको भरमा प्रयोजित रुपमा पुनः मतदानमा जाने निर्णय भएको भन्दै उनले यो डरलाग्दो र दुःखद भएको बताए ।

उनले भने, ‘चुनावमा हारजित हुन्छ । तर, सत्तापक्ष केहीकेही ठाउँमा हार्न तयार भएको छैन ।’

ओलीले अघि भने, ‘को-को हुँदा हराउन नपाइने हो कमसेकम प्रतिपक्षलाई थाहा पाए माइन्ड मेकअप गर्न पाइन्थ्यो । नत्र परीणाम स्वीकार गर्नुपर्छ ।’

भरतपुरमा मतपत्र च्यात्नेलाई तत्काल प्रहरीले नियन्त्रणमा लिँदा पनि ‘कब्जा’ भन्नु अनौठो भएको उनले बताए । ओलीले संसदमा प्रश्न गरे, ‘निर्वाचन अधिकृत कब्जामा थियो ? प्रहरी प्रमुख कब्जामा थियो ? उम्मेदवार कब्जामा थियो ?’

निर्वाचन अधिकृतले मतगणनास्थल रणभूमितुल्य भएको र मतगणना सहज रुपमा गर्न नसक्ने अवस्था भएको रिपोर्ट पठाएको भन्दै उनले भने, ‘निर्वाचन आयोगले त्यस गोलमटोल रिपोर्टलाई विश्वास गरेन र अनुगमन टोली पठायो ।’

सम्बोधनका क्रममा ओलीले १९९६ को विश्वकपको सिमिफाइनलमा भारत र श्रीलंकाबीच भएको क्रिकेट खेलको लफडा संसदमा सुनाए । भारतको घरेलु मैदानमा भएको खेलमा उसले १५२ रनको लक्ष्य दिएको र श्रीलंकाले ५२ रन बनाएपछि घरेलु दर्शकले खेल रोकेको भन्दै ओलीले त्यस्तो अवस्थामा श्रीलंकालाई विजेता घोषणा गरिएको बताए ।

उनले भने, ‘त्यस्तै गर्नुपर्ने हो । मतपत्र च्यात्नु भनेको हार स्वीकार गर्नु हो ।’

तर, सन् १९९६ मा कलकत्तामा भएको विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतले होइन, श्रीलंकाले २ सय ५२ रनको लक्ष्य दिएको थियो । भारतले हार्ने स्थिति भएपछि दर्शकदीर्घाबाट लफडा भयो र श्रीलंकालाई विजयी घोषित गरिएको थियो ।

भरतपुरमा मतपत्र च्यातिएको सम्वन्धमा तपाई के भन्नुहुन्छ भनेर आफूले सोध्दा कांग्रेस सभापति शेरबहादुर देउवाले मलाई थाहा छैन भनेको उनले सुनाए । कांग्रेस आजकल धेरै विषयमा बोल्न छाडेको उनले बताए ।

यसबारे प्रचण्डलाई सोध्दा कानुन बमोजिम गर्नु भनेको छु भन्ने जवाफ दिएको ओलीले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment