Comments Add Comment

मिस नेपालका निजी कुराः पहिरनमा हुरुक्कै, खानपानमा ‘नो इन्ट्रेस्ट’

स्वास्थ्य, सौन्दर्य र तन्दुरुस्तीका के गर्छिन्, कस्तो खान्छिन् ? कति खान्छिन् ? यसको रेडिमेड जवाफ थिएन, निकिता चन्दकसँग । उनी केही क्षण घोत्लिइन् । ‘अँ, यसबारे त सोचेकै थिइनँ’ ब्राउन कलरको वान पिसमा ठाँटिएकी निकिताले भनिन्, ‘नर्मल नै हो । खास त्यस्तो छैन ।’

अर्थात्, उनले सुडौल शरीरका निम्ति डाइटिङ गरेकी छैनन्, जिम धाएकी पनि छैनन् । न उनलाई मेकअपमा लगाव छ, न त गरगहनामा नै । स्पा जाने, पार्लर धाउने, मर्निङ वाक गर्ने, खानपानमा कटौती गर्ने केही पनि छैन, उनको दैनिक मेनुमा ।

सुत्ने र उठ्ने तालिका नियमित छैन । यद्यपि ६ वा ७ घण्टा भने मस्त निदाउँछिन् । ओछ्यानमा पल्टिएपछि संगीत सुन्छिन् । र, निदाइहाल्छिन् । बिहान ६ बजेतिर उनको निन्द्रा खुल्छ ।

‘मेरो टाइम मिलेको छैन’ निकिता भन्छिन्, ‘उठ्नमा अलि ढीला भइरहेको छ ।’

भेजिटेरियन खान्कीमा स्वाद

उनको जिब्रो ‘हेल्दी डाइट’ मा अभ्यस्त छ । उनी भेजिटेरियन हुन् । सागपात खान्छिन् ।

फलफूल औधी रुचाउँछिन् । जुस देख्नासाथ मुख रसाउँछ । चिप्लो, मसलेदार, घरबाहिरको खान्कीमा स्वाद भिजेको छैन । घरमा जे पाक्छ, त्यसमै सन्तोष मान्छिन् ।

अक्सर उनको भान्सामा रोटी, दाल र सब्जी पाक्छ । बस्, यतिले उनको मन अघाउँछ । भोक लागेको बेला निकिताको दिमागमा कस्तो खानेकुरा आउँदो हो ? कुन खाने कुरा सम्झँदा मुखमा पानी आउँछ ?

निकिताले थोरै नाक खुम्च्याएर यस्तो जवाफ दिइन्, ‘पर्टिकुलर यही भन्ने छैन । नर्मल्ली भेजिटेरियन भनेपछि पनिर, टोफु यस्तै–यस्तै भन्ने गरिन्छ । तर, मलाई डेरी आइटम पनि मन पर्दैन ।’

उनी दिनमा चार पटक खान्छिन् । बिहान ९ बजेतिर ब्रेकफास्ट । ब्रेकफास्टमा कहिले ओट मिल र केरा हुन्छ । कहिले चिउराको पोआ । यससँगै उनी पर्याप्त पानी पिउँछिन्, दिनभरमा करिब चार लिटर । मध्यन्ह १ बजेतिर खाना खान्छिन् ।

खानामा रोटी, दाल र सब्जी भए पुग्छ । साँझमा थोरै स्न्याक्स लिने गरेकी छिन् । घडीको सुईले आठ बजेको संकेत गरेपछि रातको खाना खाने समय हुन्छ । त्यसबेला पनि उनको टेबुलमा दाल, रोटी हुन्छ ।

‘जंकफूड रुच्दैन’ निकिता भन्छिन्, ‘आफ्नै भान्सामा पाकेको खानेकुरा मनपर्छ ।’

पाककला आउँदैन

खानपानमा उस्तो आशक्ति छैन, निकितालाई । र, भान्साको काममा पनि । उनलाई कुनै खानेकुरा बनाउन जाँगर चल्दैन । ‘मेरो दिदीलाई भने खानेकुरा बनाउन खुब मनपर्छ’ निकिता भन्छिन्, ‘हामी राजस्थानमा छँदा दिदीले खानेकुरा पकाउने, म चाहि सरसफाई र अरु काम गर्ने ।’

मर्निङवाक छुट्यो

पहिला उनी जिम गर्थिन् । मर्निङवाकमा पनि निस्किने बानी थियो ।

तर, अहिले मर्निङवाक छुटेको छ । बिहान उठेपछि व्यायाम गर्थिन् । त्यो पनि छुटेको छ । योग गरेकी छैनन् । तर, ‘योग गर्नैपर्छ’ भन्ने लाग्छ । ध्यानको अभ्यास पनि गरेकी छैनन्, जो गर्नैपर्छ भन्ने लाग्छ ।

‘मिस नेपालका केहि सहभागी साथीहरु ध्यान बस्ने गरेका रहेछन्’ निकिताले भनिन्, ‘तर, यो निकै जटिल कुरा हो ।’ ध्यान बस्नका लागि मनलाई एकाग्र हुनुपर्छ । उनलाई यस्तो अभ्यास अलि गाह्रो लाग्ने रहेछ ।

जब एक्लै नाँच्न थालिन्

निकिताले एउटा रमाइलो प्रसंग सम्झिइन्, ‘मर्निङवाकले मलाई धेरै राम्रो गर्‍यो । तर, त्यसलाई रेगुलर गर्न सकिनँ ।’

त्यसबेला निकितालाई ‘फ्रस्टेशन’ भएको रहेछ । ‘म फस्ट्रेशनको फेजमा थिएँ र त्यसबाट कसरी उम्कने भनेर सोचिरहेकी थिएँ ।’ मर्निङवाक एउटा वाहाना भयो । उनी मर्निङवाक गर्दै उनी खुला स्थानमा पुगिन् । कानमा इयरफोन घुसारेकी थिइन्, मोवाइलमा गीत बजिरहेको थियो । त्यसैको तालमा उन्मुक्त नाच्न थालिन् । अरुले के ठाने ? न गीत बजेको छ, न नाच्ने माहौल नै छ । बिहानै मस्त युवती अन्धाधुन्ध नाचेको देखेर सबै छक्क परे ।

तर, निकितालाई वाल मतलब । मनको उदासिनता जो भगाउनु थियो ।

‘यसले मलाई साँच्चै राम्रो ट्रिटमेन्ट ग¥यो’ निकिता भन्छिन्, ‘मैले पोजेटिभ कुरा मात्र सम्झन थालें । मनमा बेग्लै उत्साह भरिएर आयो ।’ उदासिनता हरायो ।

मेकअपमा अरुची

निकिता ‘व्युटी कन्सस’ छिन्, तर अनुहारमा लिपपोत गर्ने कुरामा उस्तो रुची राख्दिनन् । उनलाई मेकअप गर्न जाँगर चल्दैन । बाहिर हिँडडुल गर्नुअघि सामान्य आइब्रो मिलाउने, लिपस्टिक लगाउने गर्छिन् । यति भएपछि पुग्छ । गर–गहनामा पनि खास आशक्ति छैन । उनले औंलामा लगाएको सानो औंठी देखाउँदै भनिन्, ‘यत्ति हो । अरु केही लगाउने गरेकी छैन ।’

सपिङ र पहिरनमा हुरुक्कै

पहिरनको प्रसंगमा निकिता निकै चुजी रहिछन् । ड्रेसअप गर्न, सपिङ जान पाउँदा मन औधी रमाउँछ । उनी दिदीसँगै सपिङ जान्छिन्, पहिरन छनौट गर्छिन् । आफुलाई सुहाउँदो पहिरन खरिद गर्छिन् । ‘लुगा महंगो हुनुपर्छ भन्ने छैन, आफुलाई जुन सुहाउँछ जस्तो लाग्छ त्यही किन्ने हो’ निकिता भन्छिन्, ‘लुगा किन्नुअघि ट्राई गरेर दिदीलाई देखाउँछु, किनभने आफुलाई कस्तो देखिएको छ भन्ने कुरा अरुले थाहा पाउने हो ।’

कुनै पहिरन किनेपछि त्यसलाई कस्तो एक्सेसरिजसँग कम्बिनेसन मिलाउने हो भन्ने कुरा ‘इम्याजिङ’ गर्छिन् । अक्सर उनलाई कालो एवं डार्क कलर मन पर्छ । जुत्ता, चप्पल कालो रंगको हुनुपर्छ । ‘कालो रंग जस्तोपनि लुगासँग फिट हुन्छ’ निकितालाई यस्तै लाग्छ ।

उनी घरबाट बाहिर निस्कनुअघि पहिरनको खास ख्याल गर्छिन् । ‘किनभने तपाई राम्रो देखिनुभएको छ भने तपाईको कन्फिडेन्स पनि बढ्छ’ निकिता भन्छिन् ।

उनी ब्रान्ड कन्सस छिन्, तर ब्रान्डको पछि लाग्दैनन् । आफुलाई जे सुहाउँछ, त्यही लगाउँछिन् । ‘मंहगो हुँदैमा सबैकुरा राम्रो देखिन्छ भन्ने छैन’ निकिता भन्छिन्, ‘सामन्य ड्रेसअप गर्नुहोस्, तर त्यो आफुलाई सुहाउने हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment